काठमाडौं–नेपाल राष्ट्र बैंककाे सुन-चाँदी भण्डारण स्थल जीर्ण हुँदा असुरक्षित हुँदै गएको छ। राज्यको मुल ढुकुटीका रुपमा रहेको गोदाम जीर्ण र अनुपयुक्त हुँदै गएपछि उचित व्यवस्थापन गर्न महालेखा परीक्षकको कार्यालयले सुझाएको छ।
जगेडा सुन र चाँदी मौज्दातको भौतिक परीक्षण २०७२ सालदेखि हुन सकेको छैन। गोदाम एकदमै अव्यवस्थित र भित्र पसेर काम गर्नै नसक्ने अवस्थामा छ। राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘अहिलेको अवस्थामा सुन राखिएको स्थानमा कुनै व्यवस्थापन छैन। गोदामभित्र पस्न नै उकुसमुकुस हुने अवस्था छ। यसले गर्दा मानिसलाई काम लगाउन नै गाह्रो पर्छ।’
भण्डारण व्यवस्थापनका लागि मानिसहरु खटाएर काम गर्नुपर्ने अवस्था छ। तर लकडाउनका कारण काम गर्न नसकिने भएकाले तत्काल यो काम हुन नसकेको ती अधिकारीले बताए। कोरोना नियन्त्रण भएर जनजीवन सामान्य हुँदै गएपछि काम गरिने उनले बताए।
अर्कोतर्फ सुन चाँदीको भौतिक परीक्षण गर्ने मेसिन नहुँदा समस्या हुँदै आएको छ। राष्ट्र बैंकले यसअघि लण्डनबाट ल्याएको चाँदीलाई टच नम्बरसहित भण्डारण गर्नु पर्नेमा मार्करले लेखेर भण्डारण गरिएको छ।
यसअघि राष्ट्र बैंकले भौतिक परीक्षण गर्दा सुनको मौज्दात २ हजार ६१५ किलो र चाँदी एक लाख २६ हजार १९० किलो थियो। तर त्यसयता अव्यवस्थित भण्डारणका कारण गणना गर्न सकिएको छैन।
तर राष्ट्र बैंकले प्रत्येक वर्ष सम्पत्तिको भौतिक परीक्षण गरि मौज्दातको अवस्था यकिन गर्नुपर्ने हुन्छ। राष्ट्र बैंकको टक्सार विभागले उपयुक्त मौज्दातको शुद्धताको मात्रा अनुसार टच नम्बरसहितको विवरण राख्नु पर्नेमा कुल मौज्दातको तौल परिमाण र रकममात्रको विवरण राखेको महालेखा परीक्षकले जनाएको छ।
मार्करले संकेत नम्बर लेखेर राख्दा असुरक्षित हुने भएकाले टच नम्बरसहित सिल गर्नु पर्ने हुन्छ। यसका लागि नेपाल सरकारका प्रतिनिधिसहित राष्ट्र बैंकका उच्च प्रदाधिकारीको रोहवरमा पुनः गणना गरेर सिल गर्नुपर्ने हुन्छ। तत्काल यो काम गर्न नसकिए पनि चाँडोभन्दा चाँडो व्यवस्थापन गरिने राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।