काठमाडौं–सरकारले निजी अस्पतालले कोभिड-१९ का बिरामीका लागि २० प्रतिशत छुट्ट्याउनुपर्ने बताएसँगै देशैभरका निजी अस्पतालले त्यसको तयारी गरेका छन्। अधिकांशले कोरोना संक्रमित भएका र नभएकालाई अलग-अलग भवनमा राखेर उपचार गरेका छन्। तर बिरामीको संख्या बढ्दै गए स्वास्थ्य सामग्री अभाव हुने चिन्ता अधिकांशको छ।
चितवनको पुरानो मेडिकल कलेज, नेपालगञ्जको नेपालगञ्ज मेडिकल कलेज, काठमाडाैकाे केएमसी तथा ह्याम्स र ग्रान्डी अस्पतालको तयारीबारे नेपाललाइभले तयार पारेकाे सामग्री:
सुरक्षाका साथ काेराेना भएका र नभएका बिरामीकाे उपचार गरिरहेका छाैं : ज्योतेन्द्र शर्मा, ह्याम्स अस्पताल
कोभिड र ननकोभिड बिरामीका लागि छुट्टाछुट्टै आउजाउ गर्ने बाटोको व्यवस्था गरिएको छ। अस्पतालमा अहिले ४० जना जति कोभिडका बिरामी हुनुहुन्छ। सातौँ र आठाैं तलाको क्याबिनमा बिरामीहरु हुनुहुन्छ। हामीसँग भएको आइसीयु क्युबिकल हो। प्रत्येक आइसीयुमा फरक एयर कन्डीस्नर छ। एउटा बिरामीबाट अर्काेमा सर्ने सम्भावना हुँदैन। यति नै सिट भनेर छुट्ट्याएका छैनौँ। अहिले ११ वटा आइसीयुमा र ५ वटा भेन्टिलेटरमा बिरामी हुनुहुन्छ।
भएका स्रोत र साधनलाई अधिकतम प्रयोग गरेर सेवा दिने हो। अन्य रोगका बिरामीलाई पनि उपचार गरिरहेका छौं, तर पुरै सुरक्षाका साथ।
कोरोनाको उपचारका लागि सरकारले छुट्टै अस्पताल बनाएको भए राम्रो हुन्थ्यो। तर यो बीचमा सरकारले केही गरेन। आजको दिनमा ५ सय बेड भएका अस्पताल बनाउन सक्नुपर्यो। हामीकहाँ बिरामी आएको आयै छन्। सम्बन्धित निकायमा भन्यो भने म्यानेज गर्न भन्नुुहुन्छ। यसैले भयावह हुने अवस्था छ। आइसीयु, भेन्टिलेटर छैन। गुणाको दरमा बढ्दै जाने रोग हो। तर स्वास्थ्य सामग्री छैन । सरकारले कति आइसीयु थप्यो? कति भेन्टिलेटर थप्यो? भोलि पिक आवरमा पुगेको अवस्थामा के हुने? तयारी भइसक्नुपर्थ्याे। पूर्व तयारी भएन।
यो अस्पतालमा स्वास्थ्यकर्मी अहिलेसम्म कोही संक्रमित हुनुहुन्न। पहिला हुनुहुन्थ्यो।
निजी अस्पतालमा कोरोनाका बिरामीको उपचार भइरहेको छ भनेपछि अरु बिरामी आउँदैनन्। यही समस्या हो। हामीले मापदण्ड अनुसार नै काम गरेका छौँ । बिरामी नआएपछि आम्दानी हुन्न। तलब खुवाउन गाह्रो हुन्छ । धेरै निजी अस्पतालको समस्या हो यो ।
सरकार त अभिभावक हो नि। सबैको समस्या सुन्नुपर्यो । छलफल हुनुपर्यो। गर्ने भए गर, नभए कानुनी कारबाही गर्छु भनेर थर्काउन त पाइदैन नि।
स्वास्थ्य सामग्रीको समस्या छ : डा मनोहर प्रधान, निर्देशक, पुरानो नेपाल मेडिकल कलेज, चितवन
पहिले हाम्रो अस्पताल लेभल वानका बिरामी राख्नेमात्रै थियो। कोरोनाको पुष्टि भएका बिरामीलाई हामीले भरतपुर अस्पतालमा रिफर गर्थ्याैं। यसैलाई कोभिड विशेष अस्पताल बनाएसँगै हाम्रो जिम्मेवारी थपिएको छ। लेभल-३ का बिरामीलाई नै यही राख्ने भएपछि उपलब्ध स्रोत–साधन प्रयोग गरेर काम गरिरहेका छौँ। हामीसँग १६ वटा आइसीयु र केही भेन्टिलेटर छन्। लेभल ३ को अस्पताल भएको धेरै दिन नभएका कारण ४ जना बिरामी हुनुहुन्छ। भएका बिरामीलाई हामीले भरतपुर अस्पताल पुर्याएका थियौं। अब भने हामी आफै उपचार गर्छाैं। स्वास्थ्यकर्मी एकजनालाई संक्रमण भएको छ।
यहाँको समस्या भने स्वास्थ्य सामग्रीको हो। पिपिइ पर्याप्त छैन। सुरुमा हामीले पिपिइ ७ हजार हालेर किन्यौँ। अहिले त्यसैलाई ३२ सयमा पाइन्छ। एउटा ६/७ घण्टाभन्दा बढी लगाउन मिल्दैन। त्यो पनि बिरामीको लेभल हेरेर खर्च बढी हुन्छ।
मुख्य कुरा चितवनमा पिसीआर परीक्षण गर्ने एक स्थानमात्रै छ। त्यहाँका स्वास्थ्यकर्मी २० घण्टा खटेर काम गर्दा पनि भ्याउनुभएको छैन। सरकारले कि परीक्षण गर्ने व्यवस्था गरोस् कि निजीलाई दिए हुन्थ्यो।
स्वास्थ्यकर्मीलाई १० दिन काम १० दिन आरामकाे व्यवस्था मिलाएका छाैं : एस के कनोडिया, प्रबन्ध सञ्चालक, नेपालगञ्ज मेडिकल कलेज
यो अस्पताल लेभल-३ अस्पताल हो। कोभिडका ९० प्रतिशत बिरामीमा लक्षण देखिएको छैन। ५ प्रतिशतलाई सामान्य लक्षण, ५ प्रतिशतलाई लक्षण र अन्य रोगका बिरामी देखिएका छन्। यो अस्पताल ५ सय बेड क्षमता भएको हो। कोभिड र ननकोभिडका बिरामीलाई छुट्ट्याएर उपचार गरेका छौँ। प्रवेश गर्ने स्थान नै फरक–फरक हो। बुटवल र अछामतिरका न्युरोसर्जरी गर्नुपर्ने कोभिड–१९ का बिरामी आउनुभएको थियो। उहाँहरुलाई हामीले दोहोरो उपचार गरेका छौँ।
अस्पतालको भवन नै छुट्ट्याएर गरेको हुनाले कोभिड र ननकोभिडका बिरामीका कारण उस्तो अप्ठ्यारो त परेको छैन। स्वास्थ्यकर्मीलाई अहिलेसम्म देखिएको छैन। १० दिन काम गर्ने अनि १० दिन रेस्टमा जाने व्यवस्था मिलाएको छु। १० दिनपछि कोरोना नेगेटिभ देखियो भने पुनः उपचारमा खट्नुपरेको छ ।
बिरामीको चाप बढ्दै जाँदा भेन्टिलेटर र स्वास्थ्यकर्मीको अभाव हुन सक्छ। सबै प्रकारका बिरामीको उपचार गर्नुपर्ने हुँदा भोलि समस्या हुन सक्छ। स्वास्थ्य सामग्रीको अभाव पनि हुन सक्छ ।
संक्रमितलाई दुवाकोटमा राखेका छाैं : डा चन्दा कार्की, प्रिन्सीपल, काठमाडौ मेडिकल कलेज (केएमसी)
कोरोना संक्रमण फैलिएसँगै ४ महिनाअघिदेखि नै काठमाडौँ मेडिकल कलेजले संक्रमितलाई दुवाकोटमा राखेको छ। सिनामंगलमा रहेको भवनमा पनि शंकास्पद बिरामीका लागि स्थान छुट्याइएको छ। शंका लागेको खण्डमा बिरामीलाई पिसीआर परीक्षण गरेर दुवाकोट पठाउने गरेका छाैं। सुरुमा स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।
अहिलेसम्म १ सय ६० जना पोजेटिभलाईं राखेका थियाैं । अहिले घटेर ४० जना हुनुहुन्छ । यो लेभल वानको मात्रै अस्पताल हो। अहिलेसम्म सरकारका तर्फबाट २८ जना बिरामीको खर्च पाएका छौँ ।
कोभिडका बिरामीका लागि उपचार खर्च बढी देखिएकाे छ : डा चक्रराज पाण्डे, ग्रान्डी अस्पताल
हामीले दुईवटा तल्ला पहिलादेखि नै संक्रमणका लागि तयारी अवस्थामा राखेका थियौं। आइसीयुको १२ बेड छ। कोभिडका बिरामीलाई प्रमुख भवनबाट छुट्टै राखेका छौँ। सिगंल रुममा कोभिड भएका तर लक्षण नदेखिएकोलाई राखिएको छ। कोभिड परीक्षण नभएको तर शंका लागेका बिरामीलाई अलग्गै राखेका छौँ। अहिले कोभिड पोजेटीभ भएका लक्षण सहितका ५ जना छन् भने लक्षण नभएका ४ जना छन्। आइसीयुमा१०/११ जना छन् । यहाँ तीनै लेभलको उपचार हुने भयो ।
अहिलेसम्म कुनै कर्मचारी संक्रमित हुनुभएको छैन। प्रमुख भवनबाट छुट्टै राखेका छाैं। ४४ वटा बेड राखेका छौँ, तिनमा १८ वटा कमन छन्।
कोभिडका बिरामीका लागि उपचार खर्च नै बढी देखिन्छ। डाक्टर, कर्मचारीको व्यवस्थापनदेखि औषधि र स्वास्थ्य सामग्री जुटाउन सकिएको छैन। कोभिड भएका एक बिरामीलाई दुई नर्स चाहिने रहेछ। जबकि अन्य रोगका बिरामीलाई एक नर्सले ७ जना बिरामी हेर्न सकिन्थ्यो। यसको प्रमुख चुनौती भनेकै लागत बढी पर्ने र आवश्यक सामग्री नपाइने देखेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।