नेपाललगायत विश्वभरि नै कोरोनाको महामारी छ। हावाको माध्यमबाट एक अर्कामा सर्ने हुनाले यसबाट जोगिन हामी मास्क र पन्जा प्रयोग गरिरहेका छौं। के मास्क-पन्जा प्रयोग गर्दैमा कोरोनाको जोखिम शून्य हुन्छ त? ढुक्क भएर बस्न सकिन्छ त? उत्तर हुन्छ जोखिम शून्य हुँदैन र ढुक्क भएर बस्न सकिँदैन। विभिन्न देशको अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुले नै सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भएको तथ्यले यसलाई पुष्टि गरिसकेको छ।
मास्क र पन्जा, एप्रोनजस्ता सामग्री‚ जसले हामीलाई व्यक्तिगत रुपमा विभिन्न जोखिम न्यूनीकरण गर्न मद्दत गरिरहेका हुन्छन्। त्यस्ता वस्तुलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)भनिन्छ। व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गर्दैमा जोखिम शून्य हुन्छ भन्ने कुरामा पूर्ण रूपमा विश्वस्त हुन भने सकिँदैन।
पेशाजन्य स्वास्थ्य र सुरक्षा विज्ञानअनुसार व्यक्तिगत सुरक्षा उपकरण(पिपिई)को प्रयोग थुप्रै विकल्पपछि अन्तिम विकल्प रुपमा मात्र प्रयोग गरिन्छ। तसर्थ अन्य विकल्प साथ साथै यिनीहरुको गुणस्तर, प्रयोग विधि, उद्देश्य, आकार प्रकारले जोखिम न्यूनीकरण गर्ने/नगर्ने कुरामा ठुलो भूमिका खेल्दछ।
शरीरलाई चोट वा संक्रमणबाट बचाउनका लागि डिजाइन गरिएको सुरक्षात्मक कपडा, हेलमेट, गग्गल, पन्जा अन्य कपडा वा उपकरणलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) भनिन्छ। यसले भौतिक चोटपटक, विद्युतीय चोटपटक, तातो चिसो, जोखिमपूर्ण रसायन, जैविक जोखिम, र वायुजनित कणपदार्थबाट हुने खतरालाई न्यूनीकरण गर्दछ।
‘सुरक्षात्मक कपडा’ परम्परागत कपडाको कोट पर्दछ भने ‘सुरक्षात्मक गियर’मा प्याड, गार्ड, शिल्डवा मास्क र अन्य यस्तै वस्तुहरू पर्दछन्।
विभिन्न सफाइमा व्यक्तिगत सुरक्षाको लागि प्रयोग हुने सुट अथवा कोरोनाजस्तै महामारीमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुटलाई नै पिपिई सूट भनिन्छ।
फरक फरक उद्देश्य र कुन क्षेत्रमा के को सुरक्षाका लागि यसको प्रयोग भएको छ सोहीअनुसार पिपिई फरक-फरक प्रकारको हुन्छ।
यिनीहरुमा छालाको सुरक्षा गर्ने,आँखाको सुरक्षा गर्ने, ध्वनि प्रदुषणबाट कानको सुरक्षा गर्ने, स्वासप्रश्वासमा धुलोबाट बचाउने आदि हुन्। उद्देश्यअनुसार यसको प्रयोग गर्न सकिन्छ।
विभिन्न जोखिमबाट बँच्न यसको प्रयोग गरिन्छ। डाक्टर, नर्स, विभिन्न क्षेत्रका विद्यार्थी, विभिन्न प्रकारका प्रयोगशालामा काम गर्ने व्यक्ति, धातु र काठको काम गर्ने व्यक्ति र अन्तरीक्षयात्री आदिले समेत यसको प्रयोग गर्दछन्।
पेशाजन्य स्वास्थ्य र सुरक्षा विज्ञानअनुसार व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)को प्रयोग अन्तिम विकल्पका रुपमा प्रयोग गरिन्छ। यसभन्दा अगाडि पहिलो विकल्प जोखिमको उन्मुलन, दोश्रो विकल्प जोखिमलाई प्रतिस्थापन, तेस्रो विकल्प इञ्जिनियरिङ्ग विधिबाट जोखिमको रोकथाम, चौथो विकल्प प्रशासनिक विधि अपनाएर जोखिमको रोकथाम हो।
व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको उद्देश्य पहिरिनेहरुलाई हुने विभिन्न जोखिमलाई कम गर्नु हो। व्यक्तिगत सुरक्षा उपकरण (पिपिई)को प्रयोग अन्तिम विकल्प हो र जहाँ खतराहरू छन् र अन्य नियन्त्रण विधि छैनन् त्यहाँमात्र पिपिई प्रयोग गरिन्छ। पिपिईसँग गम्भीर सीमा छ कि यसले स्रोतमा खतरालाई घटाउँदैन र उपकरणहरू असफल भएमा पहिरिनेहरू जोखिममा पर्न सक्छन्।
राम्रो एर्गोनोमिक डिजाइनले पिपिईबाट उत्पन्न हुने बाधाहरूलाई न्यूनीकरण गर्न मद्दत गर्दछ र त्यसैले पिपिईको सही प्रयोगको माध्यमबाट सुरक्षित र स्वस्थ कार्य अवस्था सुनिश्चित गर्न मद्दत गर्न सक्छ।
व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) को प्रयोग गर्नुपरे सर्वप्रथम उद्देश्यअनुसार ठीक छन्/छैनन्, गुणस्तरीय छन्/छैनन् भनी प्रमाणित गर्नु पर्दछ। तत्पश्चात गुणस्तरीय कार्यविधिअनुसार पहिरनुपर्दछ। पहिरिसकेको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) ठीक छ भनी सुपरभिजन हुनुपर्दछ। त्यस्तै उतार्दा पनि कार्यविधिअनुसार उतार्ने र उक्त कार्य ठिकसँग गरेको प्रमाणित गर्नुपर्दछ।
उदारहणको रुपमा मास्कलाई नै लिँदा कतिपय अवस्थामा मास्क प्रयोग गरे पनि अन्यतिरबाट हावा लिक भएर हाम्रो श्वास प्रश्वास प्रणालीमा गइरहेको हुन्छ। जसले जोखिम बढाउन मद्दत गरिरहेको हुन्छ। मास्क प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा भनेको यसको प्रयोग पश्चात्को सुरक्षित विसर्जन हो। यदि मास्कलाई राम्रोसँग सुरक्षित रूपमा विसर्जन नगरेको खण्डमा यो नै जोखिमको स्रोत बन्दछ।
अर्को ध्यान दिनुपर्ने कुरा मास्क कति समय सम्म प्रयोग गर्ने अथवा मास्कले कति समयसम्म राम्रोसँग काम गर्दछ भन्ने हो। एउटै मास्क लामो समय लगाउँदा त्यही नै जोखिमको स्रोत बन्न पुग्छ।
कोरोनाको नै कुरा गर्दा पनि श्वासप्रश्वास प्रक्रियासँगै यो हावाको माध्यमबाट मानवदेखि मानवमा सर्ने भएकाले कोरोना महामारीबाट बँच्न मास्क भाइजर, पन्जा र पिपिई सुट आदि आममानिसलगायत कोरोना रोकथामका लागि र चेक जाँचको अग्र भागमा खटाएका स्वास्थ्यकर्मीले प्रयोग गर्दछन्। यसैगरी पिपिई प्रयोग गर्दागर्दै पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्यलाई संक्रमण भएको र संक्रमण अझै बढिरहेको समाचार आइरहेका छन्। जोखिम न्यूनीकरण अन्य विकल्पहरुसहित प्रयोग गरिएका व्यक्तिगत सुरक्षा उपकरणले मानिसलाई संक्रमण हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।
त्यसैले भीड नगरौं। सकेसम्म घरबाटै काम गरौं। अत्यावश्यक सामान खरिद र अन्य कार्यको लागि इन्टरनेटको प्रयोग गरौं। हात धुने बानी बसालौं। दैनिक जीवनशैली परिवर्तन गरौं। यिनै कोरोना नियन्त्रणका भरपर्दा तरिका हुन्।
(पौडेल खानी तथा भूगर्भ विभागमा सिनियर डिभिजनल केमिस्ट पदमा कार्यरत छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।