२०७५ कार्तिकमा राष्ट्रकवि माधवप्रसाद घिमिरे भर्खरै अस्पतालबाट आएका थिए। रगतमा इन्फेक्सन भएपछि घरमै आराम गरिरहेका थिए उनी। उनी अस्पतालबाट घर आएको केही दिनमा नै मैले उनको घरमा फोन गरेकी थिएँ।
डराइडराइ सोधेँ, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर हो?’
एक जना महिलाले फोन उठाउनु भयो। ‘हो’ उताबाट आवाज आयो।
मैले उहाँसँग अन्तर्वार्ता लिन चाहेकी थिएँ। हुन त बुढ्यौली उमेरका राष्ट्रकविलाई बिरामी भएर अस्पतालबाट आउने बितिकै बोल्न लगाउन मलाई पनि अलि असहज चाहिँ लागेको थियो। तर आम पाठकलाई पनि जिज्ञासा भएको र मेरो पेशागत धर्मले पनि उहाँसँग कुराकानी गर्न मलाई एक प्रकारले दबाब दिइरहेको थियो। म आफैंलाई उत्सुक बनाइरहेको पनि थियो।
'राष्ट्रकविसँग मैले काम गर्ने पत्रिकाका लागि अन्तर्वार्ता लिन खोजेको। कस्तो छ उहाँको अवस्था?,' अलि असहज लाग्दालाग्दै पनि मैले सोधेँ।
उताबाट आवाज आयो, ‘म उहाँलाई सोधेर भन्छु। आधा घण्टापछि कल गर्नु है।’
आधा घण्टासम्म मैले सोचेँ। संयोगले हामी दुवै जना एकै जिल्लामा जन्म लिन पुग्यौं। म काठमाडाैं अध्ययन गर्न आएको १० वर्ष पुगिसक्दा पनि उहाँलाई भेट्ने अवसर मिलेके थिएन। उहाँलाई भेट्ने तीव्र रहर हुँदाहुँदै पनि के मिल्दैनथ्यो के मिल्दैनथ्यो।
‘माधवप्रसाद घिमिरेको छोरीले पढाएको हो मलाई। सानो मान्छे ले हो र?,’ कहिलेकाहीँ मेरी आमाले भन्नुहुन्थ्यो। बडो गर्वका साथ। आमाले राष्ट्रकवि पुत्रीका धेरै कुराहरू सुनाइरहनुहुन्थ्यो। यी कुराहरू पनि मेरो दिमागमा गडिरहेका थिए।
आमाले राष्ट्रकविका पनि थुप्रै कुरा सुनाउनु हुन्थ्यो। घिमिरेलाई बिहान चिया दिन लाग्दा उहाँकी श्रीमतीले भन्नुभएछ, ‘आज राती त म आफैं मरेको सपना देखेँ नि।’ त्यसपछि घिमिरेलाई ‘आजै र राती के देखेँ सपनी मै मरी गएको' भन्न गित फुरेको रे।
राष्ट्रकवि घिमिरेको जन्मस्थल लमजुङ भएकाले पनि होला हामीलाई दसैँमा टीका लगाएपछि आशिर्वाद दिँदा अग्रजहरूले भन्ने गर्नुहुन्थ्यो, ‘माधव घिमिरे जस्तै विद्वान् हुनू।’
हामीलाई जो-जस्तो हुनु भनेर आशिर्वाद दिइएको थियो म उहाँकै घर जान खोज्दै थिएँ। एक मन फुरुङ्ग पनि थियो अर्काे मनमा डर पनि थियो। भर्खरै बिरामी भएर उठ्नुभएको घिमिरेसँग कुराकानी गर्न पो नपाइने हो कि!
000
आधा घण्टापछि फेरि फोन गरेँ। फेरि उही महिलाको आवाज आयो। ‘भोलि आउनुहोला। ठिक साढे ११ बजे।’
अघिसम्म कुराकानी गर्न नपाइने हो कि भनेर डराएको मेरो मन एकैछिनमै फेरि फुरुङ्ग भयो।
भोलिपल्ट तोकिएकै समयमा फोटो पत्रकार कृष्पा श्रेष्ठ र म उनको घर लैनचौरमा पुग्यौँ।
उनको निवास पुग्दा उनी ओशोको पुस्तक पढ्दै थिए। ओछ्यानमा नै बसेर पढिरहेका घिमिरेको छेउमा थिइन्, उनकी अर्धाङ्गिनी महाकाली। वरिपरि राष्ट्रियस्तरका पत्रपत्रिका छरिएका थिए। साथमा केही थान पुस्तक उनैलाई परिक्रमा गरेर थाकेजस्तै गरी बसेका थिए।
थर्थराउँदै काम्ने उनका हातले समाएका पुस्तक हेर्दा यस्तो अनुभूति हुन्थ्यो, मान्छे सिकेर कहिल्यै थाक्दैन। अनि सिक्ने अभिलाषा कहिल्यै रित्तिँदैन।
हामीसँग भेट भएपछि हातमा रहेको पुस्तक थन्काउँदै घिमिरेले हाम्रो परिचय मागे। पहिले मेरो परिचय दिएँ। मेरो घर लमजुङ भनेपछि घिमिरेले दोहोर्याएर 'लमजुङ?' भनेर प्रश्न गरे। मैले 'हजुर' भनेँ।
त्यसपछि घिमिरे लमजुङको सम्झनामा चुर्लुम्म डुबे। गाउँसहर दरबारको कुरा गरे। बेशीँसहरको कुरा गरे। उनको जन्मस्थान बाहुनडाँडाको कुरा नगर्ने त कुरै भएन। ‘यो साल लमजुङ जाने भनेको बिरामी भइयो। अब जान सक्दिनँ होला,’ थर्थराएको मसिनो आवाजमा घिमिरेले भने, ‘नानी तिमी त गइरहन्छौँ नि?
मन्त्रमुग्ध भएर उहाँको विगत सुन्दासुन्दै हराएकी मलाई प्रश्न आयो। म झसङ्गै भएछु।
'हजुर गइरहन्छु,' मैले हतारहतार जवाफ दिएँ।
‘म यहाँ बसेको थुप्रै भयो। लमजुङको खुब याद आउँछ। अनि त्यो ठाउँको माया पनि लाग्छ। अब त फेरि जान सक्दिनँ होला,’ आफू जान नसक्ने उनले फेरि दोहोर्याए।
'गौरी' दोहोर्याए पढ्न सक्दिनँ'
घिमिरे १५ वर्ष हुँदा उनले ९ वर्षीया गौरीसँग विवाह गरेका थिए। तर अफसोच २८ वर्षको उमेरमा गौरीले यो संसार त्यागेर गइन्। घिमिरे एक्ला भए। हुन त उनीहरूका दुई छोरी भइसकेका थिए। तर प्रियापीडा उनले भुल्न सकेनन्। अनि उनै गौरी सम्झनामा लेखे 'गौरी'। ‘गौरी’ खण्डकाव्य।
एक पुरुषले आफ्नी श्रीमती गुमाउँदाको पीडा गौरीमा पोखेका छन् घिमिरेले। श्रीमतीको सम्झनामा लेखिएका थोरै खण्डकाव्यमा यसले आफ्नो स्थान दर्ज गराएको छ। गौरी अझै पनि नेपाली पाठकहरूका लागि लोकप्रिय छ।
श्रीमतीलाई खासै मूल्य नदिने हाम्रो समाजमा श्रीमतीका नाममा भावविभोर भएर शब्दमा उतार्दा उनले केही आलोचना र केही प्रशंसा दुवै पाए। ‘गौरीले अकस्मात् एक्लो छोडेर गएपछि म भावविभोर भएँ। उनकै सम्झनामा गौरी लेखेँ। तर दोहोर्याएर पढ्न अहिले पनि सक्दिनँ,’ त्यतिबेला हामीसँगको कुराकानीमा पनि भावविभोर हुँदै उनले भनेका थिए।
000
गौरीले छाडेर गएपछि उनको एक्लो जीवनमा साथ दिन आइपुगिन्, महाकाली। लमजुङकै दुराडाडाँमा जन्मिएकी महाकाली अहिले ८४ वर्षकी भइन्। घिमिरेको अनवरत साथमा रहेकी महाकालीलाई राष्ट्रकविले नै पढ्न सिकाएका थिए।
हाम्रो पत्रिकाको उद्देश्यअनुसार विवाह विशेषांकका लागि कुरा गर्न गएका थियौँ। त्यतिबेला नै हामीले घिमिरे पत्नीलाई सोध्यौँ कवि घिमिरे आफैँले भनेका थिए, ‘घरको तालासाँचो उनैमा छ। मैले कहिले पनि उनीमाथि कहिल्यै कुनै कुरामा पनि अविश्वास गरिनँ। उनले पनि मलाई कहिल्यै शंका गरिनन्।’
महाकालीतर्फ हेर्दै घिमिरेले जिस्कँदै भनेका थिए, 'हेर्नु त, अहिले ८४ वर्षकी भइन्। तर पनि कति राम्री देखिएकी! कति दह्री छन्!’
महाकालीले मुस्कुराउँदै पति घिमिरेलाई साथ दिँदै भनिन्, ‘हामीबीच कहिल्यै पनि एकअर्काले गरेको काममा हस्तक्षेप भएन। काममा हस्तक्षेप होइन। सरसहयोग भयो भने सम्बन्ध यसै मजबुत हुने रहेछ।’
‘चखेवाको जोडीझैँ रहेको यो जोडी’सँगको सवांद ठ्याक्कै डेढ घण्टा कुरा गरेका थियाैँ।
000
घिमिरेलाई भेटेको आज झण्डै दुई वर्ष भएछ। घिमिरेको निधन भएको कुरा फैलिइसकेको थियो। फेरि पनि डराइडराइ घिमिरेको घरमा फोन गरेँ। उताबाट रुँदै गरेको आवाज आयो।
‘हेल्लो।’
‘माधवप्रसाद घिमिरेबारे केही अपुष्ट समाचार आयो,’ मेरो कुरा पूरा हुन नपाउँदै उताबाट आवाज आयो, 'हजुर। उहाँ स्वर्गेवास हुनुभयो।’ फोन ढ्याक्क राखियो।
घिमिरेले २०७७ भदौ २ गते सबैलाई छाडेर गएका छन्। १ सय २ वर्ष लामो जीवन संघर्ष गरेका राष्ट्रकवि घिमिरेले देहलीला बिसाएका छन्। राष्ट्रलाई सयाै गीत तथा कविता कृति दिए।
भौतिक रूपमा राष्ट्रकवि घिमिरे अब हामी माझ छैनन्। तर उनले छाडेर गएका बहुमूल्य कृति छन्। घिमिरे हाम्रो सम्झनामा रहिरहनेछन्। हार्दिक श्रद्धाञ्जली राष्ट्रकवि।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।