कोरोना संक्रमण अहिले घनाबस्ती भएको क्षेत्र अर्थात् सहरमा बढिरहेको छ। यसको प्रमुख कारण नियमित कार्यालय सञ्चालनमा रहनु हो। मैले चिनेकामध्ये धेरै जना कोरोना संक्रमितहरुलाई कहाँबाट सर्यो भन्ने पहिचान गर्ने प्रयास गरेको थिएँ। तीमध्ये धेरैचाहिँ आफ्नो कार्यालयका सहकर्मीबाट संक्रमित भएको पाइएको छ।
कार्यालयमा पनि उनीहरु सावधान भएरै बसेका जस्तो देखिन्छ। अन्य कर्मचारीको सम्पर्कमा त्यति रहन नखोजेको देखिन्छ। तर पनि उनीहरु संक्रमित भए। यसको अर्थ व्यक्तिगत सावधानी अपनाएर मात्रै पुग्दैन, कार्यालयले काम गर्ने स्थान, कर्मचारी र सेवाग्राहीको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ।
दुई हप्ता पहिले उच्च रक्तचाप भएर मकहाँ जँचाउन आउनुभएका एकजना व्यक्ति केही दिनअघि कोरोना संक्रमित हुनुभएछ। अन्य कामको सिलसिलामा उहाँसँग कुरा गर्दा आफूलाई कोरोना पोजिटिभ देखिएको बताउनुभयो। कसरी सरेछ भनेर मैले उहाँको ‘हिस्ट्री’ लिने प्रयास गरें। त्यस क्रममा थाहा पाइयो, उहाँको कार्यालयमा तर नजिक सम्पर्क समेत नभएको एकजनाबाट उहाँलाई सरेको रहेछ।
उहाँले आफूले सक्ने सावधानी अपनाउनु भएकै छ। बाइकमा कार्यालय जाने आउने गर्नुहुन्थ्यो। मास्क नियमित लगाउने र स्यानिटाइजर प्रयोग गर्ने कुरा बिर्सिनुहुन्थ्यो। ती व्यक्तिसँग भेट करिडोरमा र मिटिङमा मात्रै हुन्थ्यो, त्यसमा पनि दूरी कायम रहन्थ्यो। तर, कोरोना सर्यो उहाँलाई।
यो एउटा उदाहरण हो। यतिबेला सरकारी र गैरसकारी कार्यालयमा काम गर्नेहरुमा संक्रमण देखिन थालेको छ। सबै सावधानी अपनाउँदामा पनि संक्रमण हुन थालेको छ।
हावाबाट कोरोना सर्ने विषयमा धेरै अध्ययन भइनसकेको अवस्था हो। तर, हावाबाट सर्ने भएकाले नै कार्यालयमा काम गर्नेहरुमा सरिरहेको जस्तो देखिन थालेको छ। किनभने उनीहरु संक्रमितको धेरै निकट सम्पर्कमा आएका छैनन्।
त्यसैले अब आ–आफ्नो ठाउँमा बसेर काम गर्छन्। दूरीमा छन् भनेर मात्रै कार्यालयमा सुरक्षित हुन अवस्था रहेन। अर्को कोठामा वा अर्को टेबलमा भएका व्यक्तिबाट पनि हामी जोखिममा छौं। किनभने धेरै कार्यालयमा भेन्टिलेसनको कमी छ। भेन्टिलेसन नहुँदा एसी चलाउने गरिएको हुन्छ। एसी चलाउनुको अर्थ त्यो कोठामा कोही संक्रमित पनि छ भने सबैतिर भाइरस फैलिरहेको छ भन्ने हो। त्यसकारण सबै उत्तिकै जोखिममा छन्।
मास्क लगाएको भए पनि कोरोना सर्न सक्छ। मास्कले शतप्रतिशत सुरक्षा दिँदैन। केही अध्ययनअनुसार यसले ५० प्रतिशतभन्दा कम सुरक्षा दिन्छ। धेरैले त मास्क राम्रोसँग लगाउँदैनन्। कार्यालयमा कडाइ गर्ने मान्छे भएन भने मास्कबाट हावा लिक गर्ने गरेका हुन्छन्। खोक्दा हावा लिक हुने गर्छ।
हामी कार्यालयको बन्द कोठामा छौं, संक्रमित व्यक्ति पनि त्यहीँ हुन सक्छ भन्ने कुरा ध्यान राख्नुपर्छ। कार्यालयको एसी अन छ तर झ्यालढोका खोलिएको रहेनछ भने पनि बुझ्नुपर्यो हामी जोखिममा छौं।
काठमाडौं जस्ता सहरका ठूला र अत्याधुनिक भवनमा त भेन्टिलेसनको निकै कमी छ। त्यसको सट्टा एसी जडान गरिएका छन्। जुन कोरोना संक्रमण फैलाउने माध्यम बनिरहेका छन्।
कार्यालयमा डर छ तर घर बसेरै मात्रै पनि जिविका चल्दैन। जार्नैपर्ने अवस्था भएकाले पूर्वसतर्कता सहित कार्यालय जानुपर्छ। यसका लागि कर्मचारी आफैंले के गर्ने? कार्यालय सञ्चालकले के गर्ने र कार्यालयको मुख्य व्यक्तिले कस्तो भूमिका निर्वाह गर्ने भन्ने विषयलाई बुँदागत रुपमा प्रस्तुत गर्न खोज्दैछौं।
१. सबैभन्दा पहिले कार्यालय व्यवस्थापन गर्ने मान्छे अर्थात् सञ्चालकले कर्मचारीलाई काम गरे/नगरेको विषयमा मात्रै होइन, स्वास्थ्यका विषयमा सावधानीका विषयमा पनि सुपरभिजन गर्नुपर्छ। उनीहरुले सेनिटाइज गरे कि गरेनन्? मास्क लगाए कि लगाएनन्? हेर्नुपर्छ। यसको जिम्मा कार्यालयको सबैभन्दा वरिष्ठ (जसलाई सवैले आदर गर्छन्) व्यक्तिलाई दिनुपर्छ। मास्क नाकमुख छोप्नेगरी लगाउनुपर्छ र फिल्टरवाला मास्क छ भने हटाउनुपर्छ।
२. हामी जब कार्यालय जान्छौं। यो कर्मचारी वा सहकर्मीलाई छैन, त्यसैले मलाई सर्दैन भन्ने नठानौं। आफ्नो कर्मचारी वा सहकर्मीलाई पनि आगन्तुक जस्तै व्यवहार गरौं। हामी बिर्सिन्छौं तर हामीले सम्झेर दूरी कायम गरौं।
३. फोन, ह्वाट्सएप, भाइबर, स्काइपका माध्यमबाट हुन सक्ने कामकुराका लागि सेवाग्राही वा आगन्तुकलाई कार्यालयमा नबोलाऔं।
४ यो कोरोनाको संकटको समय भन्न नभुलौं। यस्तो अवस्थामा सामान्य समयको भन्दा २५ प्रतिशत जति मात्रै काम गरौं। अरुबेला सय जना ग्राहक आउँथे भने अहिले २५ जना मात्रै आउने खालको प्रणाली बनाउँ। आफ्ना सेवाग्राहीसँग ५ देखि १० मिनेटभन्दा बढीको वार्तालाप नगरौं।
५. कार्यालयबाहिरै फोन राख्न पनि सक्नुहुन्छ। उनीहरुको काम फोनबाटै हुन्छ भने त्यसैमा कुरा गरेर परामर्श दिएर पठाउन सकिन्छ।
६. कार्यालयमा बस्नेबेला झ्यालढोका खोलेर राखौं। डब्लुएचओको मापदण्डअनुसारको कार्यालय कोठा बनाउने प्रयास गरौं। जतातिर झ्याल छ, त्यसको विपरित फ्यान राख्ने गर्नुपर्छ। नयाँ हावा झ्यालबाट आउँछ। भाइरस भएको फ्यानले बाहिर फाल्छ। एसी अन गर्दा पनि झ्याल खोलेर गर्नुहोस्।
७. कार्यालयमा मास्क राख्ने गर्नुपर्छ। कोही मास्क नलगाई आएको छ भने उसलाई तुरुन्त मास्क दिऔं। भल्ववाला मास्क लगाउन निरुत्साहित गरौं। त्यस्तो लगाएर आउनेलाई मास्क दिऔं। त्यसमाथि अर्को मास्क लगाउन लगाऔं। सेवाग्राही वा आगन्तुकलाई कार्यालयमा धेरै समय नपर्खाऔं।
८. कार्यालयको गाडीमा कर्मचारी ओसार्नु जोखिमपूर्ण हो। त्यसैले लकडाउन भइहालेमा बाइकलाई अनुमति दिनुपर्छ। एउटै गाडीमा स्टाफ कोचेर ल्याउने काम जोखिमपूर्ण हुन्छ। कार्यालयका वरिष्ठ कर्मचारीहरु जसलाई कार्यालयले गाडी दिएको छ। उहाँलाई बोक्ने ड्राइभर उच्च जोखिममा हुन्छ। ड्राइभरको आफ्नै जीवनशैली हुन्छ। त्यसैले होसियार बनौं। कार्यालयको गाडी प्रयोग गरिरहनुभएको छ तर आफैं चलाउनुभएको छैन भने तपाईं जोखिममा हुनुहुन्छ।
९. एउटै कामका लागि दुई तीनजना आउने गरेका छन्। त्यसलाई हामीले नम्बर अफ भिजिट घटाउनुपर्छ। को–को कार्यालयमा आए भनेर नाम, ठेगाना र सम्पर्क नम्बर रेकर्डमा राख्नुपर्छ। यदि कसैलाई कोभिड भयो भने भोलि त्यो कर्मचारीसँग को–को सेवा लिन आए भन्ने थाहा हुन्छ र उनीहरुलाई सचेत गराउन सकिन्छ। फोन गरेर तपाईं त्यो दिन फलानोसँग सम्पर्कमा आउनुभएको थियो, उहाँलाई पोजिटिभ आयो सचेत हुनुहोस् भनेर खबर गर्न सकिन्छ।
१०. कार्यालयको व्यवस्थापन गर्दा एक सिफ्टमा काम गर्ने कर्मचारीको संख्या घटाऔं। अरु समय एक सिफ्टमा १०० जना थिए भने यतिबेला २५ जनाले काम चलाउँ। हप्ताको सिफ्ट बनाऔं।
११. कार्यालयमा एकजनाले काम गर्ने समय पनि घटाउनुपर्छ। एकै कर्मचारी ८ घन्टा बस्नेभन्दा कर्मचारी ४ घन्टामा परिवर्तन गरौं। यसै पनि सेवाग्राही कम छन्, कर्मचारी पनि कम संख्यामा भए पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।