काठमाडौं- शीवा शाहद्वारा लिखित अंग्रेजी उपन्यास 'द अदर क्विन' को नेपाली अनुवाद 'कान्छा महारानी' बजारमा आएको छ।
सन् २०१८ मा सांग्रीला बुक्सले प्रकाशन गरेको 'द अदर क्विन' उपन्यासलाई सगुना शाहले नेपालीमा अनुवाद गर्नुभएको हो। यो उपन्यास अनुवादको सन्दर्भमा सगुना शाह लेख्छिन्- 'कान्छा महारानी' आत्मवृतान्त शैलीमा इतिहासको आख्यानीकरण हो। आख्यानकार शीवा शाहले इतिहास र आख्यानको मोहक वर्णन बुन्ने क्रममा अतितको एउटा तिलस्मी कालखण्डमा जमेको समयको धुलो झारिदिएकी छिन्।
उपन्यास नेपालको इतिहासलाई आफ्नो रंगले पोतिदिएका दुई प्रभावशाली महारानीको कथा भएको शाहको भनाइ छ। 'सत्ता र त्यसका वरिपरि रहेकाहरुको व्यक्तिगत स्वार्थ र महत्त्वाकांक्षाले कसरी सम्पूर्ण राष्ट्रको इतिहास र भविष्य निर्देशित हुन पुग्छ भन्ने कुराको खुलासा मात्र नभई प्रेम र इर्ष्याको ज्वलन्त द्वन्द पनि हो यो आख्यान', उनको भनाइ छ।
यो उपन्यासले इतिहासको सबैभन्दा महत्त्वपूर्ण कालखण्डलाई आधार बनाएको छ, जसउपरान्त १०४ बर्षीय राणा शासनको सुरुवात हुन्छ। यो त्यो कालखण्डको कथा हो, जसबेला राजाको काँतर प्रवृत्तिका कारण राज्यको सार्वभौमसत्ता महारानीहरुको अधिनमा भएको थियो र त्यसको फाइदा भारदारहरुले उठाएका थिए र इतिहासमा जंगबहादुरको उदय भएको थियो।
'कान्छा महारानी' उपन्याप्रति लेखक विप्लव प्रतिकको प्रतिक्रिया छ- यो उपन्यास पढिसकेपछि पाठकलाई यो किताब कतै नेपालीमा नै लेखिएर अंग्रेजीमा अनुवाद भएको त होइन भन्ने लाग्न सक्छ। म यसलाई सगुना शाहको अनुवाद शिल्पको कमाल ठान्छु। 'कान्छा महारानी' मार्फत नेपाली साहित्यले एउटा उत्कृष्ट उपन्यास पाएको छ।
सांग्रीला बुक्सले प्रकाशन गरेको 'कान्छा महारानी' को मूल्य ४९५ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।