काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवगठित कार्यदलले शनिबारदेखि नै आफ्नो काम सुरू गर्ने भएको छ।
'आज बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलपछि पार्टीको समस्या समाधान गर्न म सहित ६ जनाको कार्यदल बनेको छ। सम्भवतः भोलि (शनिबार)देखि नै सो कार्यदलको बैठक अघि बढ्नेछ,' कार्यदलका एक सदस्य सुरेन्द्र पाण्डेले ट्विटरमा लेखेका छन्।
कार्यदलको बैठक शनिबार १२ बजे बस्ने बताइएको छ। शुक्रबार बालुवाटारको छलफलबाट नेकपा महासचिव विष्णु पौडेलको नेतृत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल गठन गरिएको थियो।
महासचिव पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पार्टी विवाद समाधान खोज्ने जिम्मेवारी दिइएको छ। ‘कार्यदलले समस्या के हुन्, समाधान के हुन सक्छ भन्ने विषयमा विस्तारपूर्वक छलफल गरेर छिटो प्रतिवेदन पेश गर्ने छ। त्यो प्रतिवेदनलाई समेत आधार मानेर दुई अध्यक्षले औपचारिक रुपमा पार्टीका बैठकमा प्रस्तुत गर्नु हुने छ। पार्टीका आन्तरिक जीवनमा समस्या समाधान गर्नेगरी अगाडि बढ्ने छौं,' पौडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।