विवेक गुम्दै गएपछि कसको के लाग्छ र? आखिर नेपालको भविष्य अन्योल नै देखिन्छ। यही गतिमा देशको स्वास्थ क्षेत्र र विकास अगाडि बढ्ने हो भने हामी सबैभन्दा ठूलो जोखिममा हुने निश्चित छ। मनोबल उच्च पारेर के गर्नु, सरकारले भौतिक पूर्वाधारमा ध्यान नदिएपछि?
नेपालको अवस्था अहिले दयनीय छ। हेर्दा राम्रो सुन्दर नेपाल भए पनि यहाँको राजनीतिक अस्तव्यस्तताले यस्तो विषम परिस्थितिमा झन् अन्यौल सिर्जना गरेको छ। प्रधानमन्त्री ओलीको बेलाबेलाको टिप्पणीले झिनो आशा जिवित राखेको छ। कोरोनासँगको युद्धमा हामी हार्ने निश्चित देखिन्छ। भवितव्य भन्न सकिन्नँ तर हामी मानसिक रुपमा पूर्ण तयार भए पनि भौतिक स्वास्थ सामाग्रीमा धेरै पछि परेका छौं।
गत चैत्र ११ गतेबाट गरिएको लकडाउनपछि नेपालले ठूलो मात्रामा आर्थिक क्षति व्यहोर्नुपर्यो। औद्योगिक क्षेत्रमा ह्रास आयो, व्यापार व्यवसायमा घाटा भयो। धेरै बेरोजगार भए। गतिशील अर्थतन्त्रमा परेको असर देशले भोग्नुपर्यो। मूल्यवृद्धि आंशिक रुपमा बढे पनि कलकारखाना, होटल व्यवसाय, पर्यटन व्यवसाय, शैक्षिक संस्था आदि पूर्णरुपमा बन्द रह्यो। कृषि, खाद्यान्न, औषधि आदि सेवामुखी दैनिक उपभोग्य वस्तु भने निरन्तर सञ्चालन भइरह्यो।
देशका जनताले निरन्तर भोगेको त्यति ठूलो लकडाउनले भने स्वास्थ संयन्त्र अझ मजबुत हुने आशा गरिएको थियो। तर, कोभिडको दैनिक पिसिआर टेस्ट बाहेक अन्य केही उपलब्धि गर्न सकेन। भ्रष्टाचारले आक्रान्त पारेको कीट खरिद प्रकरणदेखि विभिन्न किसिमका सेटिङ देख्न पाइयो। स्वास्थ्य क्षेत्रमा ठूलो बजेट छुट्याएपछि अब स्वास्थ्य क्षेत्रमा पनि विकास होला कि भन्ने लागेको थियो। तर त्यस्ता विषय गौण बन्यो।
लकडाउन सुरु गरेको ५ महिनासम्म पनि अस्पतालमा आइसोलेसनका लागि आवश्यक बेड नबढाइनु, ल्याब टेस्ट आदिमा वृद्धि नगरिनु, भेन्टिलेटर कक्ष निर्माण नगरिनु वा नथपिनु आदिले गर्दा हाम्रो भविष्यमा थप जटिलता आउने देखिन्छ। तर सरकार भने जसरी मौन बसेको छ। व्यवस्थित क्वारेन्टाइन नभएको अवस्थामा विभिन्न गाउपालिकामा बजेट बिनियोजन गरी विभिन्न किसिमका शीर्षक निकाली फर्माइसी पूरा गर्ने मेलो भएको छ।
स्वास्थ जोखिम सबैभन्दा ठूलो चुनौती हो। यसलाई न्यूनीकरण गर्न अत्यन्त आवश्यक छ। पहुँचवालाका लागि मात्र स्वास्थ्य सुविधा देखिने हाम्रो देशमा गरिब एवं विपन्न वर्ग भने उच्च जोखिममा रहेको पाइन्छ। विपन्न समुदायबाट कोरोना माहामारी फैलिएमा सुकिलोमुकिलो मानिने माथिल्लो तहलाई छुँदैन भन्न सकिँदैन। अवहेलना र कमजोर सोच्ने परिपाटी हटाएर भोलिको दिनमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न अत्यावश्यक छ।
यस्तो बेलामा स्वास्थ क्षेत्र मजबुत बनाउनको साटो कमिशन खाने, कर उठाउने, गाडी किन्ने, भवन बनाउने, सुविधा एवं भत्ता छुट्याउने आदि कार्य गरेर सरकार आलोचित हुन पुगेको छ। अझ प्रधानमन्त्रीले माडीमा श्रीरामका प्रतिमा स्थापना गर्न बजेट दिने जस्तो हास्यास्पद कदमले जनमानसमा प्रधानमन्त्री वा सरोकार नेतृत्वप्रति आक्रोश उत्पन्न गरेको छ।
विकास, प्रभाव र निकास दिनुपर्ने अवस्थामा उच्च पदाधिकारी र विज्ञहरुको वर्तमान अवस्थाप्रति उत्तरदायित्व नदेखिनुले पनि हाम्रो संकट छर्लंग पार्छ। स्वास्थ क्षेत्रमा सुधार नगरी बस्दा सुनौलो भविष्यप्रति आशंका यथावत् छ। आखिरमा सरकार कहिले गम्भीर होला र भविष्यको संकटप्रति सजग रहला?
प्रधानमन्त्री अब त जाग र एउटा निडर, अडिग, प्रभावशाली करिस्मेटिक लिडर बनेर देखाऊ। कोरोनालाई परास्त गर्न सक्ने मापदण्ड तयार बनाऊ। पहिले जनताको स्वास्थ्यको चिन्ता लेऊ, रामको मन्दिर त पछि बनाए पनि हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।