काठमाडौं– जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी गरेको निषेधाज्ञाको सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका युवाहरुले उल्लंघन गरेका छन्। वालिङ नगरपालिको डुम्रिकोटमा दुई दलबीच भएको कुटपिटको घटनाको विषयलाई लिएर प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरिएको छ। गृह मन्त्रालयको आदेशअनुसार प्रशासनले बिहीबारसम्मको लागि जिल्लाभर भेला, गोष्ठी, सभा, जुलुस प्रदर्शनमा रोक लगाएको थियो।
जिल्लामा बढिरहेको काेराेना संक्रमणलाई ध्यान दिई प्रशासनले लगाएको प्रतिबन्धलाई चुनौती दिँदै मुख्य दलका युवाहरुले वालिङमा शक्ति प्रदर्शन गरेका हुन्। वर्कशपमा दुई दलका कार्यकर्ताबीच भएको भनाभन र कुटपिटको घटनाको समाधान नभएपछि दुवै दलका युवाहरुले मोटरसाइकलसहित जुलस प्रदर्शन गर्दै प्रशासनको निर्देशनलाई उल्लंघन गरेका हुन्।
गत सोमबार डुम्रिकोटस्थित एक वर्कशपमा चापाकोट नगरपालिकाका मेयर शिव गिरीसहितको समूहसँग नेकपा समर्थित जितेन गुरुङको भनाभन बढ्दै जाँदा कुटपिटसमेत भएको थियो। कुटपिटमा घाइते भएका गुरुङको पोखरामा उपचार भइरहेको बताइएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले गएराति छोडिदिएको जानकारी गराइएको छ।
गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको विरोधमा तरुण दलले वालिङमा बुधबार प्रर्दशन गरेको थियो। तरुण दलको प्रदर्शनलाई काउन्टर दिन सत्तारुढ दलकै युवा पनि विरोधमा उत्रेका थिए। विरोध प्रदर्शनकाे स्थितिमा पुग्नुमा एकले अर्कोलाई दोष थोपरेका छन्।
वालिङ नगरपालिकाका मेयर दिलीप खाँणले विरोधमा उत्रेका युवाहरुलाई प्रदर्शन रोक्न आफूले भूमिका खेलेको बताउँछन्। वालिङ नगरपालिकाका नेकपा नगर अध्यक्ष राजेन्द्र डुम्रेले प्रशासनको सहयोगमै कांग्रेसले विभिन्न स्थानबाट युवाहरु उतारेको आरोप लगाउँछन्।
कांग्रेसका स्थानीय नेता विष्णु पौडेलले सत्तारुढ दलले घटनालाई अनावश्यक राजनीतिककरण गरेकाले युवाहरु सडकमा आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।