काठमाडौं– यस वर्षको विपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ। विपी कोइराला स्मृति ट्रष्टले प्रदान गर्दै आएको उक्त पुरस्कारको छनोटका लागि ट्रष्टले सिफारिस समिति गठन गरेको थियो।
सिफारिस समितिमा ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतसहित डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचन थिए। पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ।
सेनानी सम्मान पुरस्कार होमनाथ दाहाललाई प्रदान गर्ने ट्रष्टले जनाएको छ। सेनाी सम्मान पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ। बिपी जयन्तीको अवसर पारेर भदौ २४ मा पुरस्कार प्रदान गर्ने ट्रष्टले जनाएको छ।
यसअघि २०७१ सालमा विपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापाले प्राप्त गरेका थिए भने विपी सेनानी सम्मान नृतन थपलियाले पाएका थिए। २०७२ सालमा साहित्यकार विपी साहित्य सम्मान गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व. तारानाथ कोइरालालाई प्रदान गरिएकाे थियाे।
२०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई, २०७४ मा साहित्यतर्फ प्रा डा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थ राज चैतुलाई, २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्र प्रसाद बास्तोलालाई प्रदान गरिएको थियो।
गतवर्ष विपी साहित्य सम्मान तिल बिक्रम नेवाङ (बैरागी काइला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।