साहित्य सृजना कसैको करकाप, सल्लाह, सुझावबाट हुने होइन, यो त बुझाइ, भोगाइ र चिन्तनबाट स्वतः प्रस्फुटित हुने कार्य हो। हरेक व्यक्तिमा प्रतिभा हुन्छ, तर सबैमा सृजनशील क्षमता हुन सक्दैन। यसैगरी शिक्षा पनि यस्तै कार्य हो जुन पढेरमात्र प्राप्त हुँदैन। जीवनका अनुभव, अनुभूतिबाट मानिसले अनेकौं ज्ञान, सीप हासिल गर्न सक्छ। आफूले भोगेका र व्यतित गरेका अविस्मरणीय क्षणहरूसँगै, धर्म, संस्कृति, रहनसहन, रीतिरिवाज, राजनीतिजस्ता विविध पक्षलाई आफ्नो बुझाइ र भोगाइअनुसार अभिव्यक्त गर्नु नै साहित्य सृजना हो। यही क्षमता नै सृजनशीलता हो।
यसरी सृजनाको सागरमा डुबुल्की मार्न सफल एक उदयमान प्रतिभा, जसले देशको राजनीति, धर्म संस्कृति, परम्परा, रीतिरिवाज आदि क्षेत्रमा देखिएका विकृति, विसंगतिविद्ध चर्को व्यंग्यमात्र होइन, तिनलाई हटाउन यथेष्ट सुझाव पनि दिएकी छन्। यसरी नव सृजनाको मूल फुटाउने व्यक्ति साहित्य अनुरागी दुःखमा नआत्तिने र सुखमा नमात्तिने प्रतिभा बोकेकी नारी श्रष्टा हुन् चन्द्रकुमारी श्रेष्ठ।
बागलुङ सदरमुकाम बागलुङ बजारको देउराली चोकमा २००९ सालमा जन्मिएकी श्रेष्ठलाई सृजनाको प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव प्राज्ञ प्रेम छोटाबाट परेको देखिन्छ।
चन्द्रकुमारी श्रेष्ठको ‘अतृप्त रहरहरू’ कविता संग्रह २०७६ मा रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङबाट प्रकाशन भएको हो। कविता संग्रहमा ४६ वटा कविता र भजन समावेश छन्। कवितामा श्रेष्ठले सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक विषयका साथै जीवनका बुझाइ, भोगाइ र चिन्तनलाई वस्तुपरक रुपमा उल्लेख गरेकी छन्। यसका साथै धार्मिक, सांस्कृतिक ऐतिहासिक, पौराणिकसँगै मठमन्दिर, देवालयहरू, मेलापर्वमा महिलाको अवस्था, उनीहरूले भोग्नु परेका पीडा दुःखलाई सरल सहज भाषाशैलीमा प्रस्तुत गरेकी छन्।
लामो समयसम्म आफूले सृजना गरेका कविता, गीत र भजनलाई एकीकृत गरी तयार पारेको यो संग्रह उनको पहिलो कृति हो। यद्यपि यसमा संग्रहित कविता, गीत र भजनहरूको अध्ययनबाट उहाँ नव–उदयमान व्यक्तिमात्र नभई एक परिपक्व नारी स्रष्टाभन्दा अत्युक्ति नहोला। उनको कविता, भजन, गीतबाट समयको वर्णनमात्र होइन जीवनको बुझाइ स्पष्ट हुन्छ।
‘पानी झैं बगिरहन मन लाग्छ बग्नै नहुने,’
यस्तै छ यहाँको रितीथिति, उमेर, समय, अवस्थाभित्र जेलिएका व्यथाहरू यहाँ प्रस्तुत भएका छन्।
यस्तै,
‘मुटुभित्रको सच्चा प्रेमलाई पैसासँग दाँज्ने नगर’-कोसिस
सच्चा प्रेमलाई पैसासँग तुलनागरी धोका दिने, छलकपट गर्ने प्रवृत्तिप्रतिको उनको बुझाइ वर्तमान धनप्रति लोभ गर्ने व्यक्तिलाई सिकाइ बन्न पुगोस जसबाट उनको लेखनले सार्थकता पाउन सक्दछ।
उनका सृजनामा प्रेमभावसँगै जटिल जीवनका क्षणसमेत प्रस्तुत भएका छन् ।
‘पर्खेर त हेर यहाँ पर्खिन कति गाह्रो छ,
बाँचेर त हेर यहाँ बाँच्न झनै गाह्रो छ’-सार्ह्रो गाह्रो
दुई दिनको जीवनमा जिवन्त रुपमा एक अर्काप्रति समर्पित भएर लाग्नुपर्दछ भन्ने सन्देश पनि उनका कवितामा झल्किएका छन्।
‘ओत कहिल्यै लाग्ने छैन, श्रावणको झरिमा रुझे पनि,
शीतल कहिल्यै ताप्ने छैन, जेठको घामले पोले पनि,’-समर्पण
शोसक सामन्तवादका कारण भोग्नु परेका पीडालाई पनि उनले चित्रण गरेकी छन्। काममा तीव्र इच्छा भए पनि गरिब असहायप्रति विवेक, बुद्धि नआउनु धिकार छ भनी आलोचना गरेको पाइन्छ। यसबाट अहिले हामीले आत्ममूल्यांकन गर्न, सबै पेशा व्यवसाय धनि, गरिबलाई समान दृष्टिले हेर्न र सम्मान गर्न, विकासमा सहभागी हुनु पर्छ भन्ने लगायतका कुराहरू सिक्न जरुरी छ।
‘टाठो र बाठोको मात्रै राज छ जहाँ,
अनाथ र असहायको बस्ने ठाउँ नै कहाँ छ र यहाँ?’-शोषक
सहन सके कहन पाइन्छ भन्ने नेपाली उक्तिलाई आत्मसात गदैं उनले प्रोत्साहन कवितामा व्यक्त गरेकी छन्।
‘आकाशमा गर्जने कालो बादल भएर होइन
चुपचाप धर्तिले झैं सहनु पर्छ’,-प्रोत्साहन
यसैगरी उनका कविताले राजनीतिप्रति तिखो बाण पनि प्रहार गरेका छन्ः
‘ए देशभक्त नेताहरू हो !
देशलाई फर्केर त हेर देशको विकास छ कि छैन,’–प्रश्न
त्यसैगरी उनका कवितामा रोदन–व्यथा जति पोखे पनि कसैले नसुन्ने गरेको, अबुझ भएको अभिव्यक्ति पनि प्रशस्त झल्किएका छन्। यसैगरी दुःख, कष्ट दिने र पीडा बोध गराउने मानिसका प्रवृत्तिको विरोध गर्दै समयमै न्याय दिन साहित्यको माध्यमबाट दबाब दिने काम उनका कविताले गरेका छन जसमाः
‘घाउ किन देखाऊँ, आँखा नहुनेलाई,
दुःख किन सुनाऊँ कान नहुनेलाई’-अर्थ न व्यर्थ
उदीयमान नारी श्रष्टा चन्द्रकुमारी श्रेष्ठका कवितामा तत्कालीन सामाजिक, साँस्कृतिक, आर्थिक अवस्थासँगै उमेर अनुसार मानिसमा आउने उमेरका छटाहरू पोखिएका छन्। वैवाहिक जीवनमा बाँधिएपछिका दुःख पीडासँगै देशको राजनीतिक अवस्थाले पारेका प्रभाव गुञ्जिएका छन्। अर्थले जीवनलाई अनर्थ बनाउन सक्ने वर्तमान जीवनका तीता यथार्थता झल्किएका छन्। यसरी उनको यो सृजनाले जीवनका हरेक पलसँग मेल खाने जीवनका वास्तविकताहरूको चित्रण गरेका छन्। उनको ‘अतृप्त रहरहरू’ संग्रहमा कविता मात्र नभई गीत, भजनहरू संङ्कलित हुनुले उनको जीवनको समग्र बुझाइ, भोगाइलाई छर्लंग रुपमा प्रस्तुत गरेको छ।
उनका योगा गीतबाट स्वच्छ, स्वस्थ रहने प्रसस्त सन्देश दिएका छन्। जति व्यस्त भए पनि स्वास्थ्यका लागि ध्यान दिनु पर्ने र स्वस्थ रहन योगा गर्नै पर्ने प्रेरणा उनका गीतबाट पाउन सकिन्छ।
यसैगरी माया प्रेम, प्रकृति प्रेमसँग बेरिएका र माया प्रेममा जेलिएका गीत पनि नले रचना गरेको पाइन्छ। जन्म दिने आमाको मायाले सताएको, मायाले पिरोलिएको विषयलाई लिएर समेत उनले गीत सृजना गरेकाले मातृत्व प्रेमप्रति छोरीहरू बढी संवेदनशील रहने गरेको यथार्थता पनि यस सङ्ग्रहबाट स्पष्ट हुन्छ। उदीयमान नारी श्रष्टा चन्द्रकुमारी श्रेष्ठको यो संग्रहलाई जीवनको एक अनुभूति संग्रहको रुपमा लिन सकिन्छ। जीवनको प्रारम्भदेखि हालसम्म आपूmले अनुभूति गरेका विषयलाई कविता, गीत र भजनमार्फत् प्रस्तुत गर्नुले यसको स्पष्ट हुन्छ।
जीवनका ६ दशकभन्दा बढी समयमा आपूmले बुझेका, भोगेका, देखेका विषयलाई टपक्क टिपेर कविता, गीत, भजनको रुपमा प्रकाशन गर्ने जर्मको गर्नु एक उदाहरणीय काम हो उनीबाट नेपाली साहित्य, संगीत, सृजनामा कलम चलाउने सबैले धेरथोर अवश्य सन्देश पाउन सकिन्छ भन्ने मलाई लाग्दछ।
‘सृजनालाई उमेरले छेक्दैन’ भन्ने सन्देश दिन सफल नारी स्रष्टा चन्द्रकुमारी श्रेष्ठको यो संग्रह प्रकाशनबाट नेपाली साहित्य सृजनाको फाँटमा एउटा इँटा अवश्य पनि थपिएको छ। यद्यपि उनको यो संग्रहमा संकलित गीत, भजनहरूमा सबै आप्mनो मात्र सृजना र योगदान नभइ अन्य स्रष्टा, सर्जकहरूको पनि सहयोग भएको अनुभूति मैले गरेको छु। यसैले यसलाई संकलन भनेको भए उपयुक्त हुने मलाई लाग्छ। तथापि उनको कविता संग्रह एक प्रेरणादायी कदम भएकोले आगामी दिनमा समेत उनको सृजनाको बहार झनै प्रगाढ बन्दै जाओस् हार्दिक शुभकामना व्यक्त गर्दछु।
लेखक धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा अध्यापनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।