काठमाडौं- लिभरपुलले उत्साहको नयाँ रात गजवले बितायो। विश्वभरका समर्थकसँगै। ३० वर्षको पर्खाइले होला लिगको उपाधि गएका वर्षभन्दा भिन्न लाग्यो। आफ्नो मैदानमा दर्शकसँग हुन नपाएको खल्लोमा पनि खेलाडीहरु सबै भुलेर झुमे। अनौठा प्रकाश, संगीत र आतशबाजीसँगै।
त्यही उत्सवमा गुञ्जिरहेको थियो- ‘यु विल नेभर वाक एलोन।’
यदि अहिले कोरोना माहामारीले दर्शक नरोकिएका हुन्थे भने उनीहरु एन्फिल्डमा चर्को स्वरमा यही गीत गाइरहेका हुने थिए। त्यसैले खेलाडीहरु प्रशिक्षक र पदाधिकारी सबै मिलेर काँध जोडेर गाए- ‘यु विल नेभर वाक एलोन’
लिभरपुल मन पराउनेहरुले त्यतिबेला पक्कै आँसु थाम्न सकेनन्। गजवको गीतसँगै जोडिएको भावना छोपेर पनि कसरी छोपिनु। त्यसले लिभरपुलको ऐतिहासिक उपलब्धीलाई भावनात्मक रुपमा जोड्ने मात्र होइन क्लबको विरासत र संस्कृति पनि बुझाउँछ। त्यसैले योर्गेन क्लोप र उनको टिमले मात्र होइन हरेक समर्थकले शीर ठाडो बनाउन पाएका छन्।
‘यु विल नेभर वाक एलोन’को यी पाँच शब्दसँग लिभरपुलको जोडिएको सम्बन्ध आजको होइन। क्लोप र उनको टिमले अहिलेको पुस्तामा यसलाई उचाइ दिए पनि फर्केर हेर्दा बाटो निकै लामो छ।
सन् १९०० को दशकमा सुरुतिर हंगेरीको राजधानी बुडापेस्ट पुनर्जागरणको आनन्द लिइरहेको थियो। त्यतिबेला अस्ट्रो-हंगेरियन साम्राज्यको उचाइका साथै यूरोप नयाँ साँस्कृतिक आन्दोलनको शीर्षमा थियो। त्यहीँ बुडापेस्ट पूरा महिमामा चम्किएको थियो।
डानुब नदीले बुडापेस्टको दुई भाग बुडा र पेस्टलाई छुट्याएको थियो। त्यहीँ नयाँ बनेको पुल र मेट्रो लाइनले त्यो समयमा आधुनिक चित्र दिइरहेको थियो।
सहरमा त्यो साँस्कृतिक केन्द्र बनिरहेको थियो- न्यू योर्क क्याफे। बुडापेस्टको केन्द्रमा रहेकाले पनि त्यहाँ बाक्लो जमघट हुन्थ्यो। हेर्दा पनि सहरका अन्य कुराभन्दा भिन्न थियो। मूर्ति र आभुषणबाट सजाइएको अग्रभाग आकर्षक थियो। भित्रको दृश्य पनि सुन्दर थियो। छतको भागमा झुमरहरु राखिएका थिए। कमजोर बनिसकेका खम्बाहरुमा पनि नयाँ स्वरुप दिइएको थियो।
बुडापेस्टको केन्द्रमा रहेको क्याफेले सहरी विकासको नमूना प्रस्तुत गरिरहेको थियो। त्यसैले युरोपका कलाकारहरु आफ्ना उत्कृष्ट कृतिहरुलाई समेट्नका लागि त्यहाँ आइरहेका हुन्थे। पुरै हल भरिने गरी मानिसहरु जम्मा भएर ब्यान्डको गीत सुन्ने र शब्दलाई कलामा भर्ने काममा लाग्ने भइरहेकै हुन्थे।
त्यहीमध्ये एक थिए लेखक फेरेन्स मोलनर। क्याफेको एक कुनामा बस्थे। एक कचौरा माछाको सुप मगाउँथे। केही पकौडासँग सिगारको धुँवा उडाउँदै कसिलो गरी कलम समातेर केही लेखिरहेका हुन्थे। १९०९ मा उनले नाटक लिलियोम लेखिरहँदा कसरी सोचे होलान् र, त्यसैको प्रभाव विश्व फुटबलमा अहिले यसरी पर्नेछ।
त्यतिबेला लिभरपुल फुटबल क्लब भर्खरै अघि बढ्दै थियो। शंकै छ लेखक मोलनरलाई लिभरपुल भन्ने फुटबल क्लब छ भन्ने पनि सायद थाहा थियो थिएन। तर एक हंगेरियन चोर जो चोरीकै क्रममा मारिन्छन् उनको जीवनको उत्प्रेरणामा रहेको उनको नाटक लिलियोमले ‘यु विल नेभर वाक एलोन’मा भूमिका खेल्यो।
मोलनरको नाटक लिलियोम झण्डै झण्डै कहिल्यै नआउने गरी रोकिएको थियो। लिलियोमको सुरुवात निकै कठिन छ। १९०९ को बुडापेस्टले एउटा मजदूर वर्गको कठीन परिश्रमको कथालाई आत्मसाथगर्ने बेला भइसकेको थिएन। आफ्नो नवजात छोरी हुर्काउन चोरी गर्ने पात्रमा बुडापेस्टबासीले आफ्नो कोही पनि देखेनन्।
किनभने त्यो समय उनीहरुले त्यस्तो कडा परिश्रम भोगेकै थिएनन्। त्यसैले त्यो कथा उनीहरुको थिएन। जसले गर्दा त्यो समयका समालोचकको चर्को आलोचनामा मोलनरको लिलियोम पर्यो।
हुन त लिलियोमले अन्त्यमा संकेतहरु दिएको थियो नै तर त्यहाँसम्म प्राय पुग्दैन थिए। मोलनरलाई भने आफ्नो लेखाइमा पूरा विश्वास थियो। त्यसैले आफ्नो नाटक देखाउँदै युरोपभर दर्शकको खोजीमा जाने सोचमा उनी पुगे। त्यसरी उनले आफ्नो नाटकलाई बढाउने नसोचेको भए ‘यु विल नेभर वाक एलोन’ यहाँसम्म आइपुग्ने नै थिएन।
मोलनर आफ्नो नाटक देखाउँदै युरोप डुले। वार्सो, प्राग, भिएना बर्लिन हुँदै उनी सबैतिर पुगे। त्यसैले विस्तारै विस्तारै लिलियोम रुचाइएको कला भइरहेको थियो।
पहिले लिलियोममा आफ्नो समाज र समय नदेखेको बुडापेस्टले पनि पहिलो विश्वयुद्धपछि त्यसलाई आत्मसाथ गर्न थाल्यो। पाँच वर्षको युद्ध र ट्रेनन सन्धीपछि उनीहरुले त्यो कठिन समय देखिसकेका थिए। युद्धपछिको समय बुडापेस्टले पनि आफूहरुमा लिलियोमको कथा पाउन थाल्यो।
१९३९ मा त लिलियोम नाटक पहिलो पटक लन्डनमा नै भव्य प्रदर्शन भयो। दोस्रो विश्वयुद्धको अन्त्यपछि त कलाकारहरु बुडापेस्ट धाउन छाडिसकेका थिए। उनीहरु प्राय अधिक सुरक्षित मानेर समुद्र पार अमेरिका जान थालेका थिए। त्यसरी अमेरिका जाने मध्येमै थिए मोलनर पनि। हिटलरको आतंकको शासन र नाजी समयले मानिसहरु पलायनमा थिए।
मोलनर १९४० मा अमेरिका जाँदा उनी ६२ वर्षका भइसकेका थिए। उनी म्यानह्याटनको न्युयोर्क प्लाजा होटलमा बसे। बाँकी जीवनको १२ वर्ष उनी स्थायी रुपमा नै त्यही होटलमा बसेका थिए। कथा यो हो कि, मिलनरले एक मिथकका रुपमा आफ्नो बाँकी समय होटलको कोठामा नै बिताए। सायदै उनी होटल परिसरमा पनि देखिए।
आफ्नो एक जेविस साथीको दुःखद कथा सुनेपछि त मोलनर ठूलो चिन्तामा परिरहेका थिए। कठिन समयमा उनले आफ्नो नाटक लिलियोम अंग्रेजीमा अनुबाद गर्न दिएर केही रकम कमाए। त्यसपछि नै लिलियोमको सांगितिक प्रस्तुति आएको थियो।
रिचार्ड रोडजर्स र ओस्कार हामर्सटेन सांगितिक शैलीमा प्रस्तुति दिन एउटा नाटकको खोजीमा थिए। त्यति नै बेला उनीहरु लिलियोमसम्म पुगेका थिए। त्यसैले उनीहरुले लिलियोममाथिको अधिकार त्यसका लेखक मोलनरबाट लिए।
आफ्नो अधिकारमा आएपछि रोडजर्स र हामर्सटेनले लिलियोम नाटकको नाम फेरेर क्यारोसेल राखे। रोडजर्सले नाटकका लागि संगीत सिर्जना गरे। त्यसैमा मिल्दो गरी हामर्सटेनले गीतका शब्द लेखे। उनीहरुले त्यसरी बनाएको ‘यु विल नेभर वाक एलोन’ का रुपमा सांगितिक शैलीमा चिनियो।
‘यु विल नेभर वाक एलोन’ नाटकका नायकको भावनामा आधारित थियो। नाटकका मुख्य पात्र बिली बिग्लो चोरीका क्रममा मारिएपछि उनको छोरीमार्फत गीत प्रस्तुत गरिएको थियो। गीतको महत्व जसको लागि नायक चोरीमा संलग्न भएर मारिए उनै छोरीलाई तिमी अघि बढिरहनुपर्छ भन्ने भावनामा आधारित थियो। नाटकमा त्यही गीत अन्तिममा पनि प्रस्तुत गरिन्थ्यो। जसले दर्शकलाई त्यही भावनामा बाँधिरहन्थ्यो।
त्यसरी चर्चामा आएको ‘यु विल नेभर वाक एलोन’को विश्वव्यापी भावना कुनै कठिन समयबाट गुज्रँदा र बलियो आत्मविश्वास बनाउनसँग जोडियो। त्यसलाई समयक्रमसँगै धेरैले आफ्नो संगीतसँग पनि जोड्दै लगे। एक सयममा स्टार सगीतज्ञहरु एल्भिस प्रिस्ले, जोन्नी क्यास र फ्रान्क सिन्ताराले पनि त्यही गीत आफ्नो शैलीमा बढाए। तर त्यो गीत लिभरपुलमा सन् १९६० ताका मात्र पुगेको हो।
रक ब्यान्डसहित समर्थकहरुको एउटा गजवको समूह बिटलमेनिया र गायिका सिला ब्ल्याकको समय भर्खर चलिरहेको थियो। उनीहरु सुपरस्टारका रुपमा उदाइरहेका थिए। त्यो समय लिभरपुल पनि संगीतले छोपिएको थियो। जताततै संगीत गुञ्जिरहेका हुन्थे।
त्यसपछि नै बुटल सहरबाट एउटा ब्यान्ड ‘गेरी एण्ड पेसमेकर’ उदायो। गेरी एण्ड पेसमेकर त्यो समय उस्तो चर्चित त होइन तर उनीहरुको चर्चा पनि कम भने थिएन। उनीहरुले कभर गरेको ‘यु विल नेभर वाक एलोन’ बेलायतमा उत्कृष्टको शिखरमा पुगिरहेको थियो। त्यसले उनीहरुको चर्चा अमेरिकामा पनि हुन थाल्यो।
त्यसैले उनीहरुलाई अमेरिकामा सांगितिक प्रस्तुतिका लागि निम्ता आयो। त्यसपछि त सबैभन्दा लामो चलेको टिभी कार्यक्रम ‘एड सुलिभान शो’मा लिभरपुल फुटबल क्लबले ‘यु विल नेभर वाक एलोन’लाई आफ्नो क्लबको आधिकारिक गीत बनाउने घोषणा नै गर्यो।
त्यसैले लिभरपुलका दर्शकहरु खेल हेरिरहँदा ‘यु विल नेभर वाक एलोन’ गाउन थालिसकेका थिए। चर्चित गीतले रंगशालामा ठाउँ पाउन र गुञ्जिन लामो समय लाग्दै लागेन। त्यस समयका लिभरपुल प्रशिक्षक बिल शान्कली ब्यान्डसँगै ‘एड सुलिभान शो’मा नै सहभागीसमेत भएका थिए। त्यहीँ शान्कलीले ‘यु विल नेभर वाक एलोन’ गहिरिएर सुनेका थिए।
शान्कलीको लिभरपुल समयमा दर्शकदिर्घामा संगीतको गुञ्जन असाध्यै फैलिरहेको थियो। हजारौँ समर्थकहरु बढिरहेका पनि थिए। दर्शकहरु एकअर्कामा काँध जोडेर खेलाडीको हौसला बढाउन एकै स्वरमा गीत गाइरहेका हुन्थे। त्यो समयको लिभरपुल दर्शक तीब्रता र जोशको उदाहरण थिए। जसले विपक्षी टिमका खेलाडीलाई अत्याउन र आफ्नो टिमलाई हौसला दिन कुनै कसर छाडेनन्। त्यसमा सधैँ जोडियो- ‘यु विल नेभर वाक एलोन।’
संगीतमा उदासी भरिएको शब्द, स्वर र संगीत बढ्दै जाँदा एउटा यस्तो उचाइमा पुग्थ्यो जहाँ सबैले आफूलाई त्यसमा समाहित गर्न सक्छन्। गरिबी र दुर्भाग्यको बिम्बबाट बढेको संगितले फुटबल मैदान हल्ला मच्चाइरहेको थियो।
१९६० को दशकको सुरुवातमा लिभरपुल साँस्कृतिक रुपमा बलियो भइरहेको समयमा पनि बेरोजगारी भने उचाइमा थियो। त्यसैले लिभरपुल सहरमा भयानक डर बढिरहेको थियो। अर्थतन्त्र चलायमान बनाउन सक्ने औद्योगिक जागिरहरु रोकिएको जस्तो अवस्थामा थियो। कोइलासम्बन्धी असाध्यै कठिन श्रम र सरसफाइका केही काम मात्र पाइने समय थियो।
लिभरपुलमा मात्र होइन अमेरिकासम्म नै बेरोजगारी र ‘डिप्रेसन’को समस्याले ग्रस्त हुन समय बढिरहेको थियो। जसले दैनिक जीवन चलाउनकै लागि मानिसहरुलाई कानून तोड्न बाध्य पारिरहेको थियो। त्यस्तो समय हरेकको जीवनमा ‘यु विल नेभर वाक एलोन’ नजोडिने कुरै थिएन।
लिभरपुलमा गरिबीको बीच सहरको हालत असाध्यै खराब भएको थियो। सामाजिक सेवाको उपेक्षा भइरहेको थियो। अधिकांश व्यापार दक्षिणतिर सरिरहेका थिए। बन्दरगाह खाली भएर उपयोगविहीन भएका थिए। त्यसले लन्डनको सम्बृद्धिमा लिभरपुल भने परित्यक्त महसुस गरिरहेको थियो।
त्यही अभाव र बढ्दै गएको असन्तुष्टीले १९८१ मा दंगा नै भयो। जहाँ ४ सय ५० प्रहरी घाइते भए ५ सय मानिसहरु गिरफ्तार परे। दंगा र प्रदर्शन काला जातिले आफूहरुविरुद्ध प्रहरी दमनका रुपमा अघि बढाए। बढ्दै गएको प्रदर्शनमा स्थानीयहरुले प्रहरीमाथि आक्रमण गर्न थालिसकेका थिए। मार्गरेट थ्याचर सरकारले आफूहरुलाई वेवास्ता गरेको भन्दै रिस बढिरहेको थियो। जसले त्यस क्षेत्रका धेरै उद्योग र कारखानाहरु बन्द भए।
त्यस्तो दंगा कुनै पनि समाधानबिना नै टुंगियो। गरिबी र वेवास्ताको असन्तुष्टीले प्रदर्शन भएका सरकारी रिपोर्टहरु बने। तर त्यो प्रदर्शनपछिको भावनाको भने कदर र सम्बोधन भएन। त्यहीँ कठिन समयमा दुःख बिर्सने र अघि बढ्ने एउटै माध्यम थियो- फुटबल। र त्यही अझ गजव रुपमा बढ्यो- ‘यु विल नेभर वाक एलोन।’
यस्तो लाग्थ्यो गीत भविष्यवाणी गरेर लेखिएको र क्लबले आत्मसाथ गरेको हो। लिभरपुलका त्यस्ता धेरै खेलहरु छन् जहाँ त्यही गीत गाउदा खेलाडीहरुको मनोबल बढेको छ। कतिपटक त असम्भव लाग्ने खेलहरु पनि आफ्नो पक्षमा पारिएका छन्। धेरैजसो त अझ युरोपियन प्रतिस्पर्धामा।
लिरभपुलले १९७७ देखि १९८४ सम्ममा युरोपियन प्रतिस्पर्धामा चार पटक उपाधि जित्यो। जसमा १९८१ मा रियल मड्रिड र १९८४ मा रोमा जस्तो विपक्षीलाई पन्छाएको थियो। पछिल्लो समय च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्धको जित पनि धेरैले बिर्सन नसक्ने समय हो।
२०१५ मा बोरुसिया डोर्टमुन्डसँग ३-१ ले पछि परेको खेल ४-३ ले जित्दा होस् या २०१९ मा बार्सिलोनासँग पहिलो लेगमा ३-० ले पछि परेको खेलपछि एन्फिल्डमा ४-० ले जित्दा होस् त्यस्ता हरेक समय गुञ्जिएका छन्- ‘यु विल नेभर वाक एलोन।’
यो गीतले लिभरपुललाई आफ्नो ऐतिहासिक जितहरुमा मात्र होइन क्लबको छोपिएका काला समयमा पनि साथ दिइरहेको छ। १९८९ को हिल्सवर्ग विपतिबाट बाहिरिन भने यसले साथ दिएकै हो। लिभरपुल र नटिङहाम फरेस्टबीच एफए कप सेमिफाइनल खेल सुरु हुनै लाग्दा भएको दुर्घटनामा ९६ को ज्यान गएको थियो भने ७ सय ६६ जना घाइते भएका थिए।
त्यस्तो कठिन समयमा पनि एकअर्कासँग साथ रहन ‘यु विल नेभर वाक एलोन’ले जसरी साथ दिएको थियो त्यसमा त्यो गीतको शब्द मात्र होइन त्योभन्दा धेरै बढी भाव छ। हिल्सवर्ग पछि नै गीतले अझ वृहत अर्थ बोकेर अघि बढ्यो। त्यहाँ ज्यान गुमाएका समर्थकहरुको सम्झनामा अझ गाढा भयो।
यसपटक लामो पर्खाइपछिको लिग उपाधिमा पनि समर्थकहरु एन्फिल्डभित्र त्यही सम्झनामा त्यही गीतमा डुब्न पाएनन्। तर जहाँ छन् त्यहीँबाट साथ दिए। उनीहरुलाई खेलाडीले मैदानबाट साथ दिए।
‘यु विल नेभर वाक एलोन’ त्यसलाई पछ्याउनेहरुको बाँच्ने तरिका हो। एउटा नैतिक साथ हो, जसले अगाडि बढ्न हौसला दिन्छ। कठिन समयमा प्रेरणा र आशा हो। सहज समयमा कठिन परिश्रमपछिको जितको उत्साह हो। जसले विश्वभर लिभरपुल समर्थकहरुलाई वर्षौंदेखि जोडिरहेको छ।
(यो सामग्री गार्जियन, बिबिसी, फुटबल टाइम्स र गिभ मि स्पोर्टस्का लेखमा आधारित रहेर नेपाल लाइभका ऋग्वेद शर्माले तयार पारेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।