हाँसीहाँसी, जाँदाजाँदै गिर्ने भन्छन्
उनन्तीस दिन दु:खी मन लिएर,
तीसौं दिन तलब पाए
खुशी हुनुपर्छ जहाँ,
सायद त्यही जागिर होला।
फकाएर हुन्छ कि हप्कीदप्की गरेर
काम लिन माहिरहरू
सबैमा आफ्नो हक ठान्ने,
सबैभन्दा व्यस्त देखिने,
दिनभर 'मिटिङ'मा समय बिताउने,
सबै कामको स्याबासी लिने
सायद्, उहाँ नै ‘हाकिम’ होला।
फाइलमा डिग्रीका सर्टिफिकेट कोचाकोच पारेर,
जीवनको उद्देश्य खोज्न बजारमा भौँतारिने,
ठूलो लोभ, ठूला आदर्शका कुरा
ठूला आचारविचारका भाषाशैली
दिनभर हाकिमसँगै मिल्दाजुल्दा आचरणका
भद्दा प्रस्तुति दिएर बेलुका ऐनामा आफैँलाई नचिन्ने,
कर्मचारी होलान्।
विश्व चर्चित सफल मानिसहरू,
उद्यमशीलतातिर अग्रसर छन्,
जागिर खानेहरू गइरहन्छन्,
आफ्नो भाग्य भविष्य अर्कैले निर्धारण गरिरहन्छ
विवशतामा खुशी भएर
जीवनको अन्तिम दिन नजिकिइरहन्छ
फेरिन्छन् वस्त्ररूपी आयुका वर्षहरू
मक्किन्छन् शरीरका नटबल्टुहरू।
समृद्धि र प्रगतिका लागि योगदान गर्न बिर्सिएर
आफ्नो खुशीलाई कुनामा थन्क्याएर
'जागिर जागिर' भन्दाभन्दा
कतै 'डिरेल' त भइरहेको छैन
तिम्रो आफ्नै खुशी?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।