काठमाडाैं- सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णयविरुद्ध सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। गिरिले जनता समाजवादी पार्टी र सरकारविरुद्ध रिट दायर गराएकी हुन्।
आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको दावी उनको निवेदनमा गरिएको छ। सांसदबाट निलम्बनमा परेकी गिरीले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी हुन्।
निवेदनमा उनले आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएको जिकीर गरेकी छन्। संसदीय दलको सिफारिसमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने भएकाले पदाधिकारी बैठकबाट लिइएको निर्णय अवैधानिक भएको दाबी उनले निवेदनमा गरेकी छन्। पार्टीको निर्देशन विपरित लिम्यिाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरित अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन्। समाजवादीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय छानबिन कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।