काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको छ। आइतबार दिउँसो निर्वाचन आयोगले उक्त दल दर्ता भएको प्रमाणपत्र जसपालाई प्रदान गरेको हो।
जसपाका नेता शिवजी यादव र केशव झाले दल दर्ता भएको प्रमाणपत्र बुझेका छन्। निर्वाचन आयोगको गत बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको थियो।
गत बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो। एकीकरणपछि घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो।

दुई पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका दलकाे संख्या १३१ भएकाे छ। जसपाको सहमतिअनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्। पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन्। तत्कालका लागि ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।