काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विषयमा विवाद साम्य हुने कुनै छाँट नदेखिएका बेला पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्रीले पार्टीको विवादलाई बेमौसमी बाजाको संज्ञा दिएका छन्।
शुक्रबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै नेता पोखरेलले बेमौसमी बाजाको कर्कश धुन कसैलाई पनि प्रिय नहुने दाबी गरेका हुन्।
नेकपाको आन्तरिक विवाद तत्काल साम्य हुने अवस्था नरहेका बेला मुख्यमन्त्री पोखरेल भने शुक्रबार नै कार्यक्षेत्र फर्किएको जानकारी समेत दिएका छन्। उनले निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन नसक्ने भन्दै पार्टी एकताको चुडिन लागेको डोरी अध्यक्षद्वयले जोड्ने विश्वाससमेत व्यक्त गरेका छन्।
उनको स्टाटस जस्ताको तस्तै
पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथसहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा(वुटवल) फर्किएको छु। पार्टी एकतालाई दुर्घटनामा पर्नवाट जोगाउदै सम्वादको प्रकृयालाई अघि वढाउन भूमिका खेल्नुहुने सबै धन्यवादको पात्र हुनुहुन्छ ।
पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षावाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ । पार्टी एकताको रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गरौ। निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन ।
नेपालभारत बीचको सिमाविवाद समाधानगर्ने उद्देश्यकासाथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको छ । सबै राजनीतिक दलको समर्थनमा संविधानको अनुसूचीमा त्यसलाई समावेश गरिएको छ । यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय संकल्प हो । छिमेकी भारत त्यसवाट आक्रोसित बनेका वेलामा त्यसको नेतृत्वगर्ने प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एकभएर साथ दिनेवेलामा पार्टीमै विवाद देखिनु राम्रो होइन । यसप्रति सबैको ध्यान अवश्य गएको हुनुपर्छ ।
यतिवेला जनता कोभिड १९ र वाढी पहिरोको त्रास र पीडामा छन् । उनीहरुको सेबागर्नु हामी सबैको कर्तव्य हो । अध्यक्षद्वयले परिस्थितिको गंभीरतालाई मननगरी चालु वैठकलाई एक साताका लागि स्थगन गर्नुभएको छ । यसलाई सदुपयोग गर्दै धर्ना,जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडमा रहेका जनताको सेवामा जुटौ ।
वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुँदैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।