काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्र हुने बहस र विवाद आन्तरिक भएको बताएका छन्। शुक्रबार साँझ गरेको आफ्नो सम्बोधनमा उनले नेकपा भित्रको विवादलाई संकेत गर्दै आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्ने बताए।
‘अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ’, प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा भने, ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ।‘
उनले महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा नभएको बताए। ‘जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्। त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो’, उनले प्रष्ट पारे।
राजनीतिक विवाद र बहसको बारेमा प्रधानमन्त्रीले के भने?
अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।
अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।
यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयाश महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।