काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ।
गत बिहीबार बसेको स्थायी कमिटी बैठक शनिबारका लागि स्थगित गरिएको थियो। तर शनिबार बैठक नबसी सोमबार सम्मका लागि स्थगित भएको थियो।
आजको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि छलफल हुने तय भएको छ।
विवादको निरुपणको लागि आइतबार दिउँसो पनि अध्यक्षद्वयले आफू निकटका केही नेताहरुको साथमा छलफल गरेका थिए। तर, समाधानको सूत्र पहिल्याउन सकेका थिएनन्। बरु बैठकमा सहभागी दोस्रो तहका नेताहरुको अनौपचारिक कार्यदल बनाएर समाधानको उपाय पहिल्याउन भनिएको थियो।
गत असार १० गतेदेखि सुरु नेकपाको स्थायी कमिटी बैठकमा अन्य एजेन्डा ओझेलमा परेर प्रधानमन्त्रीको राजीनामाको विषय प्रधान बनेको छ। गत असार १४ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आफूलाई हटाउन भारतले प्रयास गरेको र नेपालका शक्तिले त्यसलाई सघाएको बताएपछि राजीनामाको विषय मुख्य बनेको हो।
विवादमा एकातर्फ ओली छन् भने अर्कोतिर प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतका नेताहरु छन्। विवाद चर्किँदै जाँदा उनीहरुले आफू पक्षीय गुटगत भेलालाई पनि तीव्र बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।