काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएपछि मन्त्री र राज्यमन्त्रीहरू बालुवाटार पुगेका छन्। शनिबार साँझ ७ बजे सबै मन्त्री र राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले बोलाएपछि उनीहरू बालुवाटार पुगेका हुन्।
समसामयिक विषयमा छलफल गर्नका लागि सबै मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको थियो। आफूहरूलाई किन र के विषयमा छलफल गर्नका लागि बोलाइएको भन्नेबारे केही पनि नभनिएको बालुवाटार पुगेका एक मन्त्रीले नेपाललाइभसँग बताएका छन्।
केही बेरअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका थिए। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ।
बिहीबार राष्ट्रपतिसँग भेटेर आएलगत्तै राखिएको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। नेकपा स्थायी कमिटी बैठक चलिरहेका बेला बैठकमा कुनै जानकारी नै नदिई सरकारले हतारमा संसद् अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठकका लागि उपस्थित भएका नेताहरू त्रसित भएका थिए।
शुक्रबार पनि राष्ट्रपतिसँग भेटघाट लगत्तै सबै मन्त्री र राज्यमन्त्रीलाई बोलाइएपछि प्रधानमन्त्रीले कस्तो कदम चाल्ने हुन् भनी आशंका बढेको छ। बिहीबारै नेकपाका अर्का अध्यक्ष प्रचण्डले समेत राष्ट्रपति समक्ष भेटघाट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।