नयाँ दिल्ली- जुलाई महिनामा भारतमा विकसित गरिएको कोरोना भाइरसको भ्याक्सिनको केही स्वयं सेवकमा परीक्षण गरी ट्रायल सुरू गरिने भएको छ।
‘कोवाक्सिन’ नाम गरेको यो भ्याक्सिन हैदरावादको एक फर्मा कम्पनी भारत बायोटेकले तयार गरेको हो। कम्पनीले यो भ्याक्सिन छिटै मानिसमा परिक्षण गरिने दावी गरेको छ। तर कम्पनीले यो भ्याक्सिन कति स्वयमसेवकमा प्रयोग गरिने भने खुलाएको छैन।
कम्पनीका अनुसार जनावरमाथि गरिएको परीक्षण उत्साहवर्धक आएको छ। यो सुरक्षित पनि पाइएको छ। विश्वका अधिकांश देशले अहिले कोरोनाको भ्याक्सिन ट्रायल गरिरहेका छन्। हाल १२० भन्दा धेरै भ्याक्सिन परीक्षण चलिरहेको छ। करिब आधा दर्जन भारतीय फर्मा कम्पनी कोरोनाको भ्याक्सिन तयारीमा लागेका छन्।
भारतमा औषधीको नियामक संस्था भारत बायोटेकले यसलाई मानिसमा पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायल सुरु गर्न अनुमति दिएको छ। भारतीय बायोटेकद्वारा जारी विज्ञप्तिमा कम्पनीले प्रि-क्लिनिकल अध्ययन र भ्याक्सिन सुरक्षित हुने दस्तावेज जम्मा गरिसकेपछि क्लिनिकल ट्रायलको अनुमति दिएको हो। कम्पनीका अनुसार अब मानिसमा दोस्रो चरणको परीक्षण गरिनेछ।
पहिलो परीक्षणमा भ्याक्सिन सुरक्षित छ/छैन परीक्षण हुनेछ। दोस्रो चरणमा भ्याक्सिन संक्रमण रोक्न सफल हुन्छ कि हुदैन हेरिनेछ। कम्पनीका प्रवक्ताले बिबिसीसँगको कुराकानीमा भारतमा रहेका संक्रमित भइसकेका मानिससँग जुन नमुना लिइएको थियो‚ त्यसबाट भ्याक्सिन विकसित गर्न धेरै मद्दत मिलेको बताए। कम्पनीका प्रमुख डा कृष्णा इल्लाका अनुसार यो भ्याक्सिन भारतको इन्डियाज नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको सहयोगमा तयार गरिएको हो। भारत विश्वमा सबैभन्दा ठुलो जेनेरिक औषधी र भ्याक्सिन निर्माता देशमध्येको एक हो। यहाँ केही महत्वपुर्ण भ्याक्सिन विकास र निर्माण भएका छन्।
पोलियो, मेनिन्जाइटिस, निमोनिया, रोटाभाइरस, बिसिजी, खसरा र रुबेलाजस्ता औषधी र भ्याक्सिन भारतले उत्पादन गर्दै आएको छ। सामान्य रुपमा एक भ्याक्सिन विकासित हुन केही वर्ष लाग्ने गर्छ। तर कोरोना भाइरस संक्रमणविरुद्ध विशेषज्ञहरुले २०२१को मध्यसम्म भ्याक्सिन विकास हुने बताएका छन्। अर्थात् महामारी फैलने १२ देखि १८ महिनामा भ्याक्सिन तयार हुने उनीहरुको दाबी छ।
भारतीय प्रधानमन्त्री मोदीद्वारा भ्याक्सिनलाई व्यापक बनाउन निर्देशनसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।