काठमाडौं- नेपाली फुटबलमा पहिलो पुस्ताका खेलाडी राजबहादुर सिंहको गएको शुक्रबार निधन भयो। अवकाश जीवनको चुपचाप समयबाट बिदा भएका ८८ वर्षका राजबहादुरको नेपालमा देखिने ‘मरेपछिको चर्चा’ पनि छैन।
न त अहिलेको पुस्ताले नै राजबहादुर सिंहलाई चिन्यो न त चिनाउनु पर्छ भन्ने ज्ञान देखियो। नेपाली फुटबलका पुराना कथाहरु हराइरहेको विषय हो। न त यसलाई जोगाउनु पर्छ भन्ने फुटबलमा लागिपर्नुपर्नेलाई नै लागेको छ। फुटबलकै लागि काम गर्छौं भन्नेहरु विवादमा फस्नेबाहेक तारिफ पाउने काम देख्दैनन्। गर्दैनन्।
अहिलेको पुस्ताले राजबहादुर सिंहलाई किन पनि भुल्नु हुँदैन भने राजबहादुरहरुसँगै नेपाली फुटबलको विकास जोडिएको छ। जरा बिर्सिएर बढेको रुखमा फल पो कसरी लाग्ला र! यदि राजबहादुरको समयको फुटबल बिर्सने हो भने नेपाली फुटबलको जरा बिर्सिए जस्तो हुन्छ। फुटबलमा आरबि राजाका रुपमा चिनिने राजबहादुर सिंहलाई त्यसैले पनि भुल्नु हुँदैन।
सन् १९६३, तत्कालीन पूर्वी पाकिस्तानको ढाकामा आगा खाँ गोल्डकप खेल्न नेपालबाट टिम गएको थियो। जसको व्यवस्था नरशम्सेरले गरेका थिए। बुझ्नेहरु नरशम्सेरलाई नेपालमा फुटबल विकासको महत्वपूर्ण व्यक्ति मान्छन्। भारत कोलकातामा सिकेको फुटबल नेपालमा ल्याउने उनका काम उल्लेख्य पनि छन्। राणाको छोरा भएर जनतासँग मिसिएर फुटबलमा लाग्नु त्यो बेला नौलो नै थियो।
त्यही राणा दरबारबाट जनतामा मिसिएको फुटबलमा आरबि राजाहरु जोडिएका थिए। आगा खाँ गोल्डकप खेल्न पूर्वी पाकिस्तान जानुअघि नेपालबाट भारत कोलकातामा पनि फुटबल खेल्न टोली गएको थियो। तर त्यो आगा खाँ जस्तो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थिएन। आगा खाँमा इरान, इन्डोनेसिया, मलेसिया, सिंगापुर जस्ता टिमहरु खेल्ने भएकाले आधिकारिक नभए पनि त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थियो।
जसमा पहिलो नेपाली टिमका कप्तान भए उनै आरबि राजा। २०११ सालमा विद्या व्यायामबाट ए डिभिजन लिग नै खेलेका खेलाडी आरबि राजाको खेल शैली बुझ्नेहरु उनको तारिफ गरिरहेकै हुन्छन्। सेन्टर फरवार्ड होस् वा राइट विंग आरबि राजा अब्बल थिए।
आगा खाँ गोल्डकप खेल्न आरबि राजाको कप्तानीमा उनीसँगै गएका खेलाडी अफ्ताबुद्दिन अहिले पनि उनको सौम्य र मिलनसार व्यवहार भुल्दैनन्। आरबि राजाको सम्झनामा कुरा गर्दा उनको निधनबारे नै बेखबर रहेका अफ्ताबुद्दिन केही बेर त बोल्नै सकेनन्।
‘आरबि बितिसकेछन् मलाई किन कसैले खबर गरेन?’, आफैले प्रश्न गरेजसरी अफ्ताबुद्दिन धेरैबेर मौन रहे, ‘उ त मेरो कप्तान हो, मेरो साथी हो मलाई त कसैले खबर गर्नुपर्ने नि।’
‘आरबि साह्रै राम्रा मान्छे थिए, असाध्यै मिलनसार। खुब पढेका मान्छे। उसँग दशौं वर्ष मैले सँगै फुटबल खेलेको छु, विद्याव्यायामदेखि विदेशमा खेल्न जाँदासम्म। उसँग जतिले खेले कसैले नराम्रो भन्दैन। सबैसँग उसको राम्रो रह्यो। राइट विंगमा उसको विशेष शैली थियो’ अफ्ताबउद्दिनले सम्झिए।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्यसचिव भएर समेत काम गरेका आरबि राजाको निधनको शोकमा सोमबार राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द छन्। राखेप सदस्यसचिव रमेश सिलवालले आरबि राजाको सम्झना गर्दै प्रशासक र खेलाडीका रुपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरे। एन्फाले पनि श्रद्धाञ्जली व्यक्त गर्यो।
तर सम्झने पर्ने समय उनी कसैको सम्झनामा आएजस्तो देखिएन। जीवनका अन्तिम वर्षहरुमा आरबि भन्थे - ‘मैले खेल छाडेपछि धेरैले मलाई माया पनि मारे। मलाई सम्झने कमै भए। त्यसले पनि कहिलेकाहीँ मन बिझाउँछ।’
फुटबलमा पुराना पुस्ताबारे कुरा गर्न अहिले पनि मानिसहरु असाध्यै कम छन्। यसैले दुई वर्षअघि उनै आरबि राजासँग कुराकानी गर्दा उनी भन्थे- ‘धेरै कुरा खेलाडीसँगै हराएर जाला र इतिहास बिलाउला भन्ने डर पो लाग्छ।’
फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिका निकाल्ने समय उनै आरबि राजाको खेल जीवन बुझ्ने मौका मिलेको थियो। नेपाली फुटबलको सम्झना गर्न यो स्मारिका केही नभएको ठाउँमा ठूलो फड्को थियो। त्यसको सम्पादनमा काम गरेका पुराना पत्रकार चेतन पाण्डेसँगै खेलाडीहरुको अन्तर्वार्तामा दिन पाएको समयले अहिले खुसी मिल्छ। यसअर्थमा कि ‘विगत फर्किएर आगत स्वागत गरेजस्तो।’
दुई वर्षअघि फुटबलरको समर्पण फुटबलरलाई स्मारिकामा उनै आरबि राजाले आफ्नो खेल जीवन यसरी सुनाएका थिए-
जन्म त मेरो भारतको जयनगरमा भयो, १९८९ सालमा। हाम्रो पुर्खौली घर असनमै हो। तर, राणा शासनमा हामीमाथि सरकार लाग्यो। हाम्रो सर्वस्वहरण भयो। मेरा बुबा समशेरबहादुर सिंहसहित सारा परिवार भारत निर्वासित हुनु पर्यो, राजनीतिक कारणले।
मैले फुटबलको गुण जयनगरमा नै सिकें, १-२ कक्षादेखि नै। त्यहाँ विद्यालयमा धेरै खेल खेलिन्थ्यो तर, सबैभन्दा मन भने फुटबलमै पर्ने। यहाँभन्दा त्यहाँ खेल्ने माहौल थियो। तर, परिवार भने मैले खेल्दा कहिल्यै खुशी भएनन्। अनि, १४-१५ वर्षकै उमेरमा म नेपाल फर्किएँ। राणा शासनको समाप्तिसँगै सबै परिवार काठमाडौं फर्किए। हामीले सरकारीकरण भएको घर-जग्गा त फिर्ता पायौं नै साथै क्षतिपूर्ति वापत १० हजार रुपैयाँ पनि पाइएको थियो।
मैले २०११ सालमा पहिलो पटक विद्या व्यायाम मन्दिरका लागि ‘ए’ डिभिजन लिग खेलेँ। त्यही वर्ष श्याम शाह (युद्दविक्रम शाह) ले नेतृत्व गर्नु भएको टोलीमा समावेश भएर कोलकातामा गएर पनि खेलेँ। भारतीय फुटबल संघ (आइएफए) शील्ड खेल्न गएका थियौं।
त्यो खेलमा म उपकप्तान थिएँ। त्यसपछि सन् १९६३ मा पहिलो पटक मेरो कप्तानीमा पाकिस्तानमा गएर खेलियो। सन् १९६३ पूर्वी पाकिस्तानको ढाकामा आयोजित आगा खाँ गोल्ड कपमा पनि कप्तानी गरेँ। त्यसबेला हामीले खेलेका तीन खेलमध्ये एक खेल जितेका थियौं। वान्डरस् क्लब र पश्चिमी पाकिस्तानले हामीलाई हामीलाई हराए। तर, पाकिस्तान पुलिसलाई भने हामीले हरायौं। प्रकाशविक्रम शाहले हानेको गोलले हाम्रो जित सुनिश्चित भएको थियो। नेपालले विदेशीभूमिमा जितेको पहिलो खेल त्यही थियो।
मलाई सधैं खेलकुदको भने जस्तो विकासमा हुन नसकेकोमा चिन्ता भने लागि रहन्छ। खेल छाडेपछि धेरैले मलाई माया पनि मारे। मलाई सम्झने कमै भए। त्यसले पनि कहिले काहीँ मन बिझाउँछ। जे भए पनि यो जीवनमा मलाई खेलकुदको मोहले छाड्न सक्दैन।
उमेरले ८६ वर्षभन्दा बढी भइसकियो। शरीर अनि स्मरणशक्ति कमजोर बनिसक्यो। कतिपय कुराहरु बिर्सि पनि सकेँ। त्यसका लागि त मैले क्षमा माग्नै पर्छ। इतिहास खोतल्ने यो अभियानमा मेरो शारीरिक क्षमताका कारण कतिपय इतिहास मसँगै हराउला कि भन्ने भय पो जाग्यो।
फुटबल अत्यन्त झगडालु खेल हुन्थ्यो, त्यसबेला। प्रायजसो खेल झगडामै टुंगिन्थ्यो। २०२० सालमा फुटबलबाट सन्यास लिएपछि मैले रेफ्रीका रुपमा पनि काम गरेँ। २०२३-२४ सालतिर आयोजित त्रिभुवन च्यालेञ्ज शील्डमा देहरादुन तथा कोलकाताको बर्ड क्लबबीचको खेलमा झगडा नै पर्यो।
कोलकाताको क्लबका खेलाडीले हानेको लात्ती लागेर हिरा गुरुङ नराम्रोसँग घाइते बनेँ। त्यो प्रहारका कारण उनको एउटा किड्नी नै ड्यामेज भएको थियो। सो खेलमा झगडा हुनसक्छ भन्ने अनुमानकै आधारमा अरु रेफ्रीले त्यो खेल खेलाउनै मानेनन्। अनि म मैदानमा छिरेँ। मेरो स्वभाव अलि कडा नै थियो। त्यसैले आँट पनि गरेँ। कतिपय खेल खेलाउँदा त मैले समेत झन्डै पिटाइ खाएको घटनाहरु पनि छन्। तर, यकिन गरेर भन्न सक्ने अवस्था छैन।
मैले खेल्नका लागि १० वर्ष त पढाइ नै छाडें। तर, पछि नपढि हुँदैन भन्ने चेतका कारण इतिहासमा स्नातकोत्तर गरेर त्रिभुवन विश्वविद्यालयमा समेत पढाएँ। राजनीति गरेकै कारण सहाना प्रधानसहित मलाई पनि जागिरबाट निकालियो। उहाँ कम्युनिस्ट, म कांग्रेसी विचारधारा राख्ने।
मेरो जीवनको पछिल्लो केही समय खेल व्यवस्थापनमा पनि बित्यो। तत्कालिन अधिराजकुमार बसुन्धरा राष्ट्रिय खेलकुद परिषद् (राखेपको) संरक्षक हुँदा लामो समय सदस्यका रुपमा कार्य गरेँ। सन् १९९३ मा त सदस्य सचिव नै भएँ। मेरो त्यो कार्यकालमा बंगलादेशमा आयोजित दक्षिण एसियाली खेलकुदमा नेपालले भाग लियो। कुनै खेलले स्वर्ण पदक जित्न नसक्दा दुःख लागिरहेको अवस्थामा अन्त्यमा फुटबलले नै एकमात्र स्वर्ण पदक दिलायो। सबै दुःख भुलेर म त्यो सफलतामा अति रमाएँ। त्यसपछि मलाई खेलकुद परिषद्बाट हटाइयो। अनि खेलकुदबाट टाढै बसेँ। तर, अहिले पनि खेलकुदको साह्रै मोह लाग्छ। टेलिभिजनमा समेत खेलकुद बाहेक केही हेर्दिनँ।
म खेल व्यवस्थापनमा रहेँ। तर, कहिल्यै आफू अनुरुप काम गर्ने मौका पाइएन। मलाई सधैं खेलकुदको भने जस्तो विकासमा हुन नसकेकोमा चिन्ता भने लागि रहन्छ। खेल छाडेपछि धेरैले मलाई माया पनि मारे। मलाई सम्झने कमै भए। त्यसले पनि कहिले काहीँ मन बिझाउँछ। जे भए पनि यो जीवनमा मलाई खेलकुदको मोहले छाड्न सक्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।