काठमाडौं-लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सिधै बिक्रीमा पठाउने निर्णय गरेको छ।
गत अप्रिल महिनामा नेपालयले एक प्रेस विज्ञप्तिमार्फत् महामारीका कारण आफ्ना प्रकाशित पुस्तकहरू सार्वजनिक गर्ने कार्यक्रमहरू प्रभावित भएको जनाएको थियो। लकडाउनको गाम्भीर्यता सहजतातिर उन्मुख भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’लाई सिधै बजारमा उपलब्ध गराएर आफ्नो कामको थालनी गर्ने भएको छ।
‘बजार केही खुकुलो भएसँगै, केही चहलपहल हुनु स्वाभाविक हो, त्यसैले हाम्रा प्रकाशित पुस्तकका बारेमा प्रसस्त जिज्ञासाहरू आइरहेका छन्। अहिले व्याप्त एक्लो बसाइले पाठकमा पढ्ने भोक पनि अवस्यै बढेको हुनुपर्छ,’ नेपालयकी सैजन मास्केले भनिन्, ‘त्यसैले लकडाउनपछिको पहिलो चरणमा हामीले पुस्तकलाई भौतिक रुपमै बजारमा वितरण गर्ने निर्णय गरेका छौं । यो किताब गतवर्ष नै प्रकाशित भएको हो तर महामारीका कारणले सार्वजनिक हुन पाएको थिएन।’


सन् १९७० ताका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो। उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणाअघि’ शीर्षकका कथा सँग्रहहरू प्रकाशित छन्।
‘केही समय विलम्ब भए पनि अब पुस्तक पाठकका हातमा जाने कुराले औधी खुसी भएकी छु,’ लेखक ढुंगानाले भनिन्, ‘जब तपाईं कुनै कृतिलाई सृजना गर्नुहुन्छ, त्यो कृति पाठकको हातमा पुगेपछि मात्र जीवन्त बन्छ भन्ने अनुभूति लेखकलाई भएको हुन्छ त्यसैले पुस्तक निर्माणको सम्पूर्ण प्रक्रियामा संलग्न लेखकलाई पुस्तकको पूर्ण रुप पाठकको हातमा पुगेको देख्दा उच्चतम आनन्द प्राप्त हुन्छ।’
नेपालयले केही दिन पहिले ‘ई(बुक’मार्फत् आफ्नो पहिलो प्रकाशन सार्वजनिक गर्ने घोषणा गरेको थियो। यसै सिलसिलालाई आकर्षक रुपमा अगाडि बढाउनका निम्ति सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ पुस्तकका दुईवटा अध्याय सार्वजनिक भइसकेका छन् ।
‘एकल अध्याय अथवा ‘सिङ्गल च्याप्टर’ सार्वजनिक गर्ने यो नयाँ प्रयोगलाई प्राप्त भएका सकारात्मक प्रतिक्रियाले हामीलाई निकै खुसी बनाएको छ,’ नेपालयकी मास्केले भनिन्।
कथाकार ढुंगानाको परित्यक्ता नेपाली बजारका निम्ति रु। २७५ मा उपलब्ध छ। पुस्तक देशका सबै पुस्तक पसलहरूमा उपलब्ध गराइएको छ र ‘थुप्रै’मार्फत् ‘ई-बुक’को रुपमा पनि प्राप्त गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।