काठमाडौं-कृषि तथा पशुपंछी विकासमन्त्री घनश्याम भुसालले अहिलेको कृषि व्यवस्थालाई रुपान्तरण गर्न र कृषि क्रान्तिका लागि आफूले तयार पारेको आधारको नतिजा देखिन कम्तीमा तीन वर्ष लाग्ने बताएका छन्। पछिल्लो तीन–चार दशकदेखि कृषि व्यवस्था अस्तव्यस्त हुन थालेको र संरचना खल्बलिएकाले यसलाई पुनर्संरचना गर्न समय लाग्ने बताएका छन्।
एसोसियसन अफ एग्रीकल्चरल जर्नलिस्ट (अनाज) ले आयोजना गरेको ‘कोभिड–१९ : कृषिका समस्या र चुनौतीहरु’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएका हुन्। ‘मलाई धेरैले कृषि पुनर्संरचना गर्न कति समय लाग्छ भनेर सोध्छन्। कृषि क्षेत्रलाई बिगार्न धेरै पात्रहरुले धेरै समय खर्च गरेका छन्। त्यसलाई तीनवर्ष भित्र सही ट्र्याकमा ल्याउन सकिएमात्रै पनि ठूलो उपलब्धी हुनेछ,’ उनले भने।
कोभिड–१९ महामारीले नीतिशास्त्रमा उल्लेख भएको ‘कृषि मुलस्य जीवनम्’ भन्ने कुरालाई सम्झाईदिएको पनि उनले बताए। औद्योगिक क्रान्तिपछि कृषि क्षेत्र प्राथमिकता बाहिर पर्दै गएकोमा कोभिड–१९ ले फेरि कृषिलाई अर्थतन्त्रको पुनरोत्थानको कडिका रुपमा देखाइदिएको उनले बताए। ‘अहिले कृषि नै जीवनको मूल हो भन्ने कुराको विमर्श सुरु भएको छ। यो अवसर हो। अवसरलाई हामीले मध्यनजर गरेनौं भने यो चुनौती बन्छ,’ उनले भने।
‘कृषिको नयाँ व्यवस्था बनाउँदैछौ। यो भनेको कृषि पेशामा लागेकाहरुलाई न्यूनतम आवश्यकता पूरा गर्नका लागि समस्या नहुने अवस्था सिर्जना गर्नु हो, त्यसका लागि हामी तल्लो तहमा कृषकसम्मै पुगेर कृषिका लागि रुपान्तरणका लागि पहल थालिएको छ,’ उनले भने। कृषि क्रान्ति र रुपान्तरणका लागि स्थानीय निकायलाई महत्वपूर्ण सेल (कोष) का रुपमा लिइएको उनको भनाइ छ।
यसवर्ष मल अभाव हुन नदिन मन्त्रालयले सबै खालका गृहकार्य गरेको भए पनि लकडाउनका कारण समयमै ढुवानी गर्न नसकिएको बताए। यद्यपि मलको हाहाकार नै हुने स्थिति भने नआउनेमा भने उनले आस्वस्त पारे।
कार्यक्रममा कृषि विज्ञ कृष्ण पौडेलले कोभिड-१९ का कारण कृषि क्षेत्रमा देखिएको मुख्य प्रभाव खाद्य संकटका रुपमा देखिन सकिने बताए। ‘स्वास्थ्य चुनौतीसँगै खाद्य संकटको चुनौती पनि छ। यही बेला कृषि क्षेत्रलाई पुनरोत्थानका लागि अवसर पनि सिर्जना भएको छ,’ पौडेलले भने। उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा के(के विषय समेटियो र के समेटिएनभन्दा पनि बजेटमा समेटिएका विषयलाई प्रभावकारी कार्यान्वयनका लागि पनि उत्तिकै ध्यान दिनुपर्ने बताए।
कृषक प्रतिनिधि कृष्णराज सुवालले कृषिबाली उत्पादनका चाहिने बीउ मलखाद अभावमात्र नभई उत्पादित वस्तु बजारसम्म नपुगेको बताए। ‘मैले यसवर्ष तरकारीबाट ७ लाख कमाउने लक्ष्य राखेको थिएँ। तर कोभिड–१९ का कारण ४ लाखमात्रै आम्दानी भयो। मैले उत्पादित वस्तु बजारमा पु¥याउन सकिनँ,’ उनले भने,‘उत्पादन भएको वस्तु भण्डारण गर्न आवस्यक पूर्वाधार छैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।