बर्दिवास– बर्दिवास-११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका ३ जना छात्रामध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विष सेवनबाट सिरहाको धनगढी नगरपालिका-१० की १७ वर्षीया छात्रा रिंकु शर्माको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।
बर्दिवासको इलाका प्रहरीले रिंकुलाई आज (मंगलबार) करिब पौने १२ बजे बर्दिवास-४ को जंगल क्षेत्रमा अचेत अवस्थामा फेला पारी बर्दिवास अस्पताल पुर्याएको थियो। अस्पतालका डा. रोशन अधिकारीले रिंकुको मृत्यु घोषणा गरेका हुन्।
रिंकुसँगै विष सेवन गरेका उषा पण्डित र सन्जु यादवको भने बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले दुवैजना छात्राको अवस्था सामान्य रहेको जनाएको छ।
शिक्षालयका प्रशासकीय अधिकृत दावा योन्जनले विष सेवन गरेका तीनैजना ज्योमेट्री (अमिन) विषयको पहिलो वर्षका विद्यार्थी रहेको बताए। एकजना छात्राले टेस्टमा अनुत्तीर्ण भएका कारण विष सेवन गरेको प्रारम्भिक सोधपुछमा जानकारी गराएकी प्रहरीले जनाएको छ।
अस्पतालमा उपचाररत रहेकी सन्जुले केही दिनअघि शिक्षालयले लिएको टेस्टमा मृतक रिंकुको फिजिक्सको परीक्षा बिग्रिएकाले विष सेवन गरेको बताएकी छिन्।
अस्पतालमा उपचाररत उषा र सन्जुका अनुसार हिजो (सोमबार) बिदा भएकाले तीनैजना छात्रा गाइड किन्न बर्दिवास बजार गएको र गाइड किनेपछि रिंकुले लुकेर विष पनि किनेकी थिइन्।
बर्दिवासबाट फर्कने क्रममा जंगलमा पुगेपछि रिंकुले आधा सिसी विष खाइन् र उषा तथा सन्जुलाई ‘अब म त मरिहाल्छु साथै नमरे तिमीहरूलाई प्रहरीले पक्राउ गरी जेल हाल्छ’ भनेपछि उनीहरूले पनि १/१ बिर्को विष खाएको र त्यसपछि के भयो थाहा नभएको उनीहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।