काठमाडौं जिल्ला अदालत। हतारोले खुट्टा फटाफट नै थिए। ढोकामा पुग्न दुई सिढी बाँकी थियो। कसैले पछाडिबाट आवाज दिएजस्तो लाग्यो। हो रहेछ। एउटा महिला आवाज थियो- ‘पत्रकार भाइ!’
फर्केर हेरेँ। मुखमा मास्क लगाएको भीडबाट एक अधबैंसे महिला मतिर हेरिरहेकी थिइन्। परै भए पनि अनुहार चिने झैँ लाग्यो। तर हो होइन यकिन भएन। चासो दिएर उनको आवाजलाई पछ्याएँ। उनी तलको सिढी कटेर आँगनमा थिइन्।
चिनेकै त रहेछ। मेरी छिमेकी सरिता खत्री थिइन् उनी। रामेछापकी। उनी म भएतिर आउनुअघि नै म उनी भए ठाउँ पुगेँ।
अनि अदालतमा किन त? प्रश्न मेरो थियो।
उनको उत्तर-सानो मुद्दा थियो, पालो आएन।
तपाईंको पनि मुद्दा छ र? यो उनको प्रश्न थियो।
मैले उत्तर दिनुअघि सोचमग्न भएँ। म १० वर्षदेखि अदालतमा यही सिढीहरुमा तलमाथि गर्दै बिताइरहेको छु। मैले यी आँगनमा उभिएर कतिलाई हाँस्दै बाहिरिएको देखेको छु। कतिलाई अँगालो मारेर भित्र छिरेको पनि। कोही अलग बाटो भएर निस्केका पनि देखेको छु।
प्रेम विवाहदेखि परिवारको सहमतिमा भएका विवाह पनि यही अदालतको फाँट हुदै न्यायाधीशको.इजलाशमा टुंगिएको देखेको छु। कति मुद्दा मेरै आँखाले साक्षी भएर सम्बन्ध समाप्त पारेको देखेको छु। कति सम्बन्धहरु कागजी साइनोका लागि जोडिएको पनि देखेको छु।
यसरी बिर्सजन भएका तमाम मुद्दाहरु फाँटबाट सुरु भइ तामेली हुँदै मुल्तवीबाट नबुझिने गरी सम्बन्धहरु समाप्त भएको पनि देखेको छु।
आफ्नै आमाबाबुको हत्यादेखि छोरीलाई बलात्कार गर्ने बाबुहरुलाई अदालत छिर्दै र बाहिर निस्कदै गरेको देखेको छु। फसाइएका निर्दोषहरु न्यायको बलिमा चढेका साक्षी पनि सयौँ पटक हुनुपरेकै छ।
लाटोकोसेरोदेखि भेनेजुयला सम्बन्धसम्मका मुद्दा खेपेमा भुँइमान्छेहरु न्यायका लागि अदालतको ढोकासम्म जबरजस्ती पुर्याइएका घटना पनि मैले देखेको छु।
न्यायका नौ सिङदेखि राडी र गाईका कथा, सार्थक र निरर्थक भएका घटनाहरुमा म दैनिक अदालतका फाँटहरु हेरिरहेको छु। आज उनको ‘तपाइँको पनि मुद्दा छ र?’ भन्ने प्रश्नको उत्तर मुद्दाका तमाम मामिलाहरुले मलाई घेरेजस्तो लाग्यो।
मैले उनलाई देखेको र चिनेको धेरै भएको छैन। यस्तै एक वर्ष भएको होला। मेरो टोलमा मलाई नामले भन्दा पेशाले धेरै चिन्छन्। छिमेकमा यो पत्रकार हो भन्ने धेरैले बुझेकै छन्।
पहिले-पहिले पनि उनीसँग यसरी कतै भेट हुँदा हाम्रो बोली सधैँ मुस्कानबाट सुरु भएर 'टाढै हिँडुनभएको?' मा समाप्त भएको मलाई याद छ। यस्तै हलुका सोधासोधको सम्बन्ध नै हो टोल वरपर मेरो। उति चासो र खोजी गरिरहन मन पनि लाग्दैन।
सरिता खत्रीसँग पनि मेरो यही स्तरको चिनजानी हो। एक्कासी जिल्ला अदालतको भेट र उनको प्रश्नले सुरुमा म अकमकिए। मैले आफूलाई सहज बनाउँदै अदालत आउनु मुद्दा नभइ नियमित भएको बताएँ। अदालत र कानुनको विषयमा समाचार लेख्ने भएकाले यो मेरो दैनिकी थियो।
अदालतमा यसैगरी सरिताहरु भेटिइरहन्छन् पनि। तर खै आज उनको प्रश्नले किन मुद्दाका तमाम अनुहारहरु याद आइरहेको छ।
अब प्रश्न मैले नै गरेँ- एक्लै आउनु भएको कि अरु साथी छन्?
उनले एक्लै आएको जवाफ दिइन्। मैले एक्लै या कोहीसँग भन्ने प्रश्नमा काममा हुने सहजताका लागि थियो। तर उनले असहज मान्दै सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको बताइन्।
अवस्था अहिले असाध्यै खराब छ। विश्वस्थितिमा असामान्य परिस्तिथिले भुँइसम्म मान्छेलाई गाँजेको छ। आर्थिकमात्र होइन मानिसहरु मानसिक रुपमा पनि उधुम समस्यामा छन्। कोरोना भाइरसका कारण आइपरेको लकडाउनमा महिला हिंसाका घटनाहरु बढिरहेका छन्। सरितालाई पनि भएको त्यस्तै रहेछ।
परिवारले आफूलाई मानसिक यातना दिएकाले सहन नसक्ने भएपछि अलग्गै बस्ने निर्णयमा पुगेकाे सरिताले बताइन्। इजलाश नम्बर ४ मा उनको मुद्दाको पेशी रहेछ। तर पालो नआउने भएपछि अर्के दिन आउन भनेर उनी फर्कंदै थिइन्।
छोटो त्यही कुराकानीपछि उनी गेटतिर निस्किइन्। म माथि पस्ने ढोकातिर बढेँ। तर उनीबाट छुट्टिएपछि पनि मलाई उनको कुराबाट छुट्टिन लामो समय लाग्यो। त्यो भेटले मलाई नमीठो स्वाद दिइरह्यो। मनभित्रै पारिवारिक विघटनको श्रृंखलाले झल्को दियो।
वैशाखसम्म नै पनि उनी कार्यालय जान सुट पाइन्टमा घर नजिक भेटिन्थिन्। परिचयको मुस्कानमा मुसुक्क हाँस्थिन्। म उसैगरी हाँसोले अभिवादन फर्काउँथेँ। उनी गन्तव्यतिर लाग्थिन्। म त्यतिबेला बिहानी हिँडाइ सकाएर फर्कंदै हुन्थेँ।
उनको परिवारमा श्रीमानबाहेक अरुलाई म चिन्थेँ। श्रीमान् क्याम्पसका प्राध्यापक हुन् भन्ने चाहिँ सुनेको थिएँ। रामेछापको मन्थलीमा क्याम्पस पढाउँछन् भन्ने सुनेको हुँ। उनका १३ र ९ वर्षका दुई छोरीहरु छन्। छिमेकमा उनको तीन तले ढलान घर पनि मेरो मस्तिष्कमै छ। घरमा सासु र ससुरा मात्र थिए।
ससुरा भूमिसुधारका पूर्वकर्मचारी थिए। आर्थिक रुपमा परिवारको अवस्था देख्दा सहज थियो। सरिता आफै पनि एउटा निजी कम्पनीको राम्रै जागिरमा थिइन्।
वरपरकाले उपलब्धीको डाहा नै गर्ने घरको विषय अदालतको इजलाशसम्म पुग्नु अनौठो बनिरहेको थियो। एउटै घरमा सासु ससुरासँग उनको भान्छा अलग भएको रे का हल्लाहरु छिमेकमा पहिले पनि थिए। एक्लो छोराबुहारीले बुढेसकालमा सासुससुरालाई साथ नदिएका कुरा काटिएका हुन्थे।
परिवारभित्रको कुरा भएकाले मेरो चासोमा हल्लाहरु परिरहेका थिएनन्। तर सरितासँगको आजको भेटले सबै कुरा सहज सोचिरहन मनले मानेन। कार्यालयको काम सकेर बेलुका घर फर्कंदा माहोल अझ फरक भइसकेको रहेछ। टोलमा प्रहरीको समूह छिमेकका छतबाट आँखाहरुले नियालिरहेका थिए।
अदालत पुगेको मुद्दामा टोलका हरेक टाउकाहरु न्यायाधीश बनेर फैसला सुनाइरहेका थिए। सबैजसो आँगनमा निसाफका कुरा थिए। विवाहेत्तर सम्बन्धका कारण मुद्दा अदालत पुगेका सूचनाहरु छिमेकमा फैलिएका थिए। हुन त छिमेकमा एक महिनादेखि नै चलिरहेका त्यस्ता कुराहरु मैले निकै ढिला सुनेको रहेछु।
मन्थलीमा रहँदै सरिता प्रेममा रहेको सम्बन्ध पछिसम्म चलिरहेको उनको श्रीमानले नै रहस्यजसरी थाहा पाएछन्। श्रीमतीको आफूसँगको सम्बन्ध प्रेमिल नभएरै उनी किनारातिर लागेका रहेछन्। हुन त सरिताको बिहे पनि प्रेमपछि विवाहमा परिणत भएकै सम्बन्ध हो। उनका श्रीमान पहिले उनका शिक्षक थिए। उनैले पढेको विद्यालयमा।
प्रेम विवाहपछि उनी सासु ससुरासँग बस्न नसक्ने भएपछि श्रीमानसँगै मन्थली झरिन्। १२ कक्षा पास गरेकी उनले पढाइलाई निरन्तरता दिने चाहना देखाएपछि श्रीमानले आफू पढाउने कलेजमा भर्ना गराएका थिए। त्यसरी मन्थलीमा रहँदा नै उनीहरु दुई सन्तानको अभिभावक भए।
श्रीमान गणितको शिक्षक भएकाले कार्यालयसमय बाहेक पनि निकै व्यस्त थिए। बिहान कलेज, दिउँसो विद्यालय र बेलुका अतिरिक्त कक्षाको दैनिकी थियो। श्रीमानले आफूलाई वेवास्ता गरेको महसुस सरितामा हुन थालेको थियो।
तोडिएको मनमा नयाँ सम्बन्धका लागि ठाउँ बनेका थिए। श्रीमानबाट समय नपाएकी उनी नयाँ साथीको खोजीमा हुँदाहुँदै नयाँ प्रेममा परेकी रहिछन्। झण्डै दुई वर्ष उनको विवाहेत्तर सम्बन्ध चलेछ। पहिले त श्रीमानसँग उनको सम्झाइ बुझाइकै स्तरमा कुराकानी चलेको थियो। तर सुधार हुन सकेन।
छोरीहरुको भविष्य, परिवार, नाता र समाजका अन्य विषय देखाएर श्रीमानले सरितालाई मनाएका पनि रहेछन्। मन्थलीमा नै राख्दा समस्या आउने अनुमानसहित पारिवारिक सहमतिमा उनले काठमाडौंमा घर बनाउने योजना बनाएर त्यसैअनुसार गरेका रहेछन्।
घरमा आमा पनि रोगी र बुबाको पनि भूमिसुधारबाट भर्खरै अवकाश भएकाले उनले काठमाडौं बसाइसराईको प्रस्ताव परिवारवाट अनुमोदन गराए। बाबुको पेन्सन, रामेछापको जग्गा र आफ्नो कमाइ गरि काठमाडौंमा ३ आना जग्गा किनेर घर बनाए।
आमा बाबु पनि छोरा बुहारीले अब हेरचाह गर्ने भए भनेर काठमाडौं आउन राजी भएका रहेछन्। तर काठमाडौं आएको एक वर्षमै सासु बुहारी मिल्न नसक्ने भएपछि एउटै घरमा दुई भान्सा चल्यो।
सरिता काठमाडौंको एक निजी कम्पनीमा काम गर्थिन् भने श्रीमान मन्थलीमा पढाइरहेकै थिए। कोरोना माहामारीले विद्यालय बन्द भएपछि उनी पनि काठमाडौं नै आए। पहिले छोटो बिदामा काठमाडौं आउँदा श्रीमतीबाट राम्रो व्यवहार पाइरहेका उनले अहिलेको लामो बसाईंमा उस्तै व्यवहार भेटेनन्।
समयमा खाना खान नपाइने, बोलाउँदा झर्कने, अलग बोठामा बस्न सुत्न खोज्ने, मोबाइलमा मात्र ब्यस्त भइरहने बानी श्रीमानका लागि सरितामा देखिएको समस्या थियो। शंकाले बढाउँदै लगेको गलत सम्बन्धमा उनले एक दिन सरिताको मोबाइल तलास गरे। सामाजिक सञ्जालका कुराकानी कोट्याए। तब त छाँगाबाट खसे झैँ भएछन्।
तीन वर्षअघि जुन सम्बन्धबाट छुटाएर उनले श्रीमती काठमाडौं राखेका थिए, त्यही सम्बन्ध नयाँ रुपमा फैलिरहेको रहेछ। अन्तरंग तस्बिर, कुराकानी र संवाद उनको मन सम्हालिन नसक्ने खालका थिए। आफैले टेकेको जमिन भासिएजस्तो उनलाई अनुभव भयो। सहन सक्ने क्षमताभन्दा बाहिर पुगे।
उनी श्रीमतीमाथि मानवीय व्यवहारसमेत नदेखाइ हिंसात्मक रुपमा उत्रिएछन्। ससुराली र घरका आफन्त भेला पारेर सबै बेलिविस्तार लगाए। विवाहपछि बनाएको पूर्वप्रेमीको सम्बन्धमा सरिताले बोल्न मिल्ने ठाउँ भेटिनन्। त्यसैले बलजफती सम्बन्ध बढाउनुभन्दा विच्छेद गर्नु उचित हुने निस्कर्षमा पुगिन्।
सरिता खत्रीको एउटा जीवनका दुई कहानीले म बिहान भेटेकी सरिता र अहिले अगाडि परेकी महिला चरित्रमा फरक छुट्टाउन नसक्ने गौंडामा पुगेँ। चारैतर्फ बन्द बाटो भएपछि अन्त्यहीन गन्तव्यमा पुगिने यात्रा सुरु भएको थियो। मैले जिल्ला अदालतको बाहिर-भित्र देखिएका सबै पात्रहरु जस्तै र उस्तै भिन्न पनि।
सरिताका बारे जति पनि कुराहरु आएका थिए ती समाजमा माइकबाट फुकिएका आवाजहरु थिए। उनी स्वयं कसरी नयाँ सम्बन्धसम्म पुगिन् र उनले के-कस्ता अवस्था भोग्नुपर्यो त्यसमा समाज मौन छ। छतका र आँगनका बहस र फैसलाहरुमा ती विषय अटाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।