काठमाडौं- चीनले अतिक्रमणमा गरेको नेपाली भूभागको सत्यतथ्य जानकारी गराउन नेपाली कांग्रेसले संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ। वास्तविक अतिक्रमणमा परेको भूभाग र स्थानीय गाउँबारे जानकारी गराउन सरकारसँग माग गर्दै संकल्प प्रस्ताव पेस भएको छ।
परराष्ट्र मन्त्रालयमार्फत सदनलाई यथार्थ जानकारी गराउन माग गर्दै कांग्रेस सांसद देवेन्द्रराज कंडेल, सञ्जय गौतम र सत्यनारायण शर्मा खनालले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।
गोरखाको सीमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बुको नम्पा भञ्ज्याङमा पर्ने ६२ नम्बर सीमा स्तम्भ हराएको संकल्प प्रस्तावमा उल्लेख छ। गोरखाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपाल भित्र सारेकोे, उत्तरी गोरखाको रुइ गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घरधरी चीनको स्वसाशित क्षेत्र तिब्बतमा पर्न गएको जनाइएको छ।
त्यस्तै भारतले अतिक्रमण गरेको दार्चुलास्थित ‘जीउजीउ’ स्थानका १८ घरसमेत चिनियाँ अतिक्रमणमा परेको कांग्रेसले जनाएको छ। दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हेक्टर भन्दा बढी भूभाग चीनले अतिक्रमण गरेको कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।