एजेन्सी–भारत सरकारको आयुष मन्त्रालयले बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले कोभिड–१९ को औषधि भन्दै बजारमा ल्याएको ‘कोरोनिल’ को विज्ञापनमा रोक लगाएको छ।
सञ्चार माध्यममा यसबारे समाचार आएपछि मन्त्रालयले यसबारेको वैज्ञानिक अध्ययन र सत्यताका बारेमा मन्त्रालयलाई कुनै जानकारी नभएको बताएको छ।
तर पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्णले मन्त्रालयको यो भनाइलाई ‘कम्युनिकेसन ग्याप’ भन्दै कम्पनीले मन्त्रालयलाई सबै जानकारी गराएको दाबी गरेका छ्। आचार्य ट्वीट गर्दै भनेका छन्, ‘आयुर्वेदलाई प्रोत्साहन गर्ने सरकार हो यो, क्लिनिकल ट्रायलका जति पनि विधि छन्, तिनलाई शतप्रतिशत पूरा गरिएको छ।’
पतञ्जली समूहले मंगलबार कोरोनिल ट्यावलेट र श्वासरी बटी नामका दुई औषधि घोषणा गरेको थियो। कम्पनीले यी औषधि कोरोनाका बिरामीका लागि आयुर्वेदिक उपचार भएको दाबी गरेको थियो। पतञ्जली विश्वविद्यालय एवं अनुसन्धान संस्थानका संयोजक स्वामी रामदेवले यो कोभिड–१९ को औषधि दुई स्तरमा परीक्षण भएको दावी गरे।
कोरोनाको औषधि भनी घोषणा गरिएको केही घन्टामै आयुष मन्त्रालयले पतञ्जली आयुर्वेद लिमिटेडसँग यसको प्रयोगबारे तत्काल बताउन भनेको थियो। मन्त्रालयले पतञ्जलीलाई नमुनाको आकार, स्थान, अस्पताल जहाँ अध्ययन गरिएको हो, र आचारसंहिता समितिको अनुमतिका बारेमा विस्तृत विवरण माग गरेको थियो। मन्त्रालयले यस बारेमा पतञ्जलीलाई सूचना दिएको र हाललाई यसको विज्ञापनमा रोक लगाएको जनाएको छ।
यस प्रकारका विज्ञापन ‘आपत्तिजनक विज्ञापन कानुन १९५४’ विपरीत हुने मन्त्रालयले जनाएको छ। कोरोना महामारीलाई लिएर केन्द्र सरकारले जारी गरेको सूचनाले पनि यस्ता औषधिको विज्ञापनमा रोक लगाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले २१ अप्रिल २०२०मा सूचना जारी गरेर आयुष मन्त्रालयको रेखदेखमा कोभिड–१९ को अनुसन्धान गरिने जनाएको थियो।
यो प्रकरणमा अनुसन्धान र परीक्षण नभएसम्म यो औषधिसँग जोडिएका सवै विज्ञापनमा रोक लाग्ने छ मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले उत्तराखण्ड सरकार लाइसेन्स प्राधिकरणसँग यो औषधिको लाइसेन्सको कपि माग गरेको छ । त्यस्तै उत्पादनको अनुमति दिएको विवरण पनि पठाउन मन्त्रालयले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।