एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदार भिसामा रोक लगाएका छन्। उनले मंगलबार कार्यकारी आदेश जारी गर्दै डिसेम्बरसम्म विदेशी कामदार भिसामा रोक लगाएका हुन्। आदेशपछि आप्रवासी भिसाको दायरासमेत साँघुरो भएको छ।
कोरोना भाइरस संक्रमण फैलिएसँगै अमेरिकामा बेरोजगारीको दर बढेकाले अमेरिकी नागरिको रोजगारको संरक्षणका लागि भन्दै उनले नयाँ आदेश जारी गरेका हुन्। आदेशपछि एचवान बी, एच फोर र एल भिसाका साथमा जे र एचटुबी भिसामा प्रतिबन्ध लागेको छ। आदेशले प्रविधि र वन पैदावार उद्योगमा जाने कामदार रोकिएका छन्। यो आदेशले करिब २ लाख १९ हजार प्रभावित हुने सीएनएनले जनाएकाे छ।
कृषि र स्वास्थ्य कामदारमा भने यो आदेशले असर पार्दैन। अमेरिकाभित्र रहेकाहरु र उनका परिवारलाई यो आदेशले प्रभाव नपार्ने सीएनएनले जनाएको छ। तर स्थायी बसोबासको अनुमति पाएकाहरुले आफ्ना परिवारका सदस्यहरुलाई अमेरिका लैजान रोक लागेको छ।
आदेशसँगै सन् २०२० को डाइभर्सिटी भिसा (डिभी) काे बाँकी प्रकृया रद्ध भएको छ। डिभीको नियम अनुसार डिसेम्बर अन्तिमसम्म भिसा लागेको अवस्थामा मात्र अमेरिका जान सकिन्छ। डिसेम्बरसम्मै रोक लागेपछि प्रकृयामा रहेका सबै रद्ध हुने भएको छ। कोरोना भाइरसको संक्रमण फैलिएसँगै अप्रिलबाट डिभीको प्रक्रिया अवरुद्ध भएको थियो। सन् २०२० मा करिब ३ हजार ६ सय नेपाली डिभी प्रक्रियाबाट अमेरिका जानसक्ने थिए। आदेशले भिसा लागिसकेकाहरुलाई अमेरिका जान रोकेको छैन।
द डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले समेत निर्देशन जारी गरेर अवैध रुपमा अमेरिका प्रवेश गरेर शरणार्थी बन्न चाहनेहरुको प्रक्रियालाई जटिल बनाएको छ। नयाँ निर्देशिकापछि शरणार्थीको आवेदन नटुंगिएसम्म उनीहरुले काम गर्ने अनुमति पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।