सन् १९६४ देखि १९८० सम्म क्रिकेट खेलेका अस्ट्रेलियन पूर्वकप्तान इआन माइकल च्यापलले आफूले खेल्ने समयमा क्रिकेटमा देखिएको रंगभेदका विषय सम्झना गरेका छन्-
जसरी अहिले रंगभेदले वर्तमान समयलाई अशान्त पारिरहेको छ उसैगरी मैले क्रिकेट खेल्ने समयमा पनि क्रिकेटभित्रका विभेदका श्रृंखलाहरु रंगभेदसँग जोडिएका थिए।
मेरो परिवारमा म हुर्कंदै गर्दा वरपर कतै पनि विभेदहरु देख्नु परेको थिएन। त्यो समय गोरा अस्ट्रेलियनको आधिपत्य रहे पनि म विभेद देख्नबाट पर नै थिएँ। त्यसैले मलाई रंगभेदका धेरै विषयहरु पछिसम्म राम्ररी थाहा थिएनन्। मेरो भाग्य नै भनौँ, सेफिल्ड युनाइटेडमा रहँदा वेस्ट इन्डिजका अलराउण्डर ग्यारी सोबर्ससँग एउटै टिममा थिएँ। जहाँ मैले क्रिकेट र जीवन अझ राम्ररी बुझ्ने अवसर पाएँ।
खेलका लागि म पहिलोपटक विदेश गएको सन् १९६६-६७ मा दक्षिण अफ्रिकामा हो। जहाँ रंगभेद उत्कर्षमा थियो। केपटाउनमा दोस्रो टेस्ट जित्दा हामीले पनि रंगभेदको त्यो घिनलाग्दो व्यवहार नजिकबाट देख्यौँ। त्यतिबेला ग्राहम थोमस आफ्नो कालो वर्णकै कारण टिममा नपर्नेसम्मको अवस्था आएको थियो। कालो र सेतो वर्णका बारेमा हामी बसेको होटलमा नै केही अबुझहरुले नराम्ररी टिप्पणी गरिरहेका हुन्थे।
सन् १९७२-७३ मा म अस्टे«लियन टिमको कप्तान रहँदा पाकिस्तानसँगको घरेलु सिरिजका बेला मैले सबै खेलाडीहरुलाई रंगभेद हुने कुनै किसिमको टिप्पणी नगर्न भनेको थिएँ। अस्ट्रेलियन खेलाडीलाई त्यतिबेला मैले विभेद नगर्न गरेको चेतावनीले अलिकति सजग भएका पनि थिए। ‘यदि कसैलाई गोरे अति राम्रो खेल्यो भनेर पनि टिप्पणी गरिँदैन भने कालो वर्णकाले जे गरे पनि उनीहरुको स्वरुपसँग किन जोड्ने’ भनेर सम्झाएको थिएँ। त्यसपछि मैले अस्ट्रेलियन टिमका खेलाडीहरुबाट विभेदका शब्द सुनिनँ।
सन् १९७५-७६ मा वेस्ट इन्डिजविरुद्ध सिरिजमा जर्जले अस्ट्रेलियन टिमको कप्तानी गरेका थिए। सिरिजपछिको एउटा किताबमा भिभ रिचाड्सले रंगभेदसम्बन्धी नराम्रो टिप्पणीहरु भएको उल्लेख गरेका थिए। मैले त्यही विषयमा जर्जलाई पनि सोधेको थिएँ। तर उनले त्यस्तो केही नसुनेको बताए। पछि मैले नै भिभसँग पनि कुराकानी गरेँ। उनले एक खेलाडीमाथि नराम्रो व्यवहार भएको र त्यसको झमेला सकिएको बताएका थिए।
सन् १९७२ मा म जिम्बावेमा खेलिरहेको थिएँ। खेल सकिएपछिको आरामको समयमा एक दिन खेलाडीहरु भिक्टोरिया फल्स होटलको बारमा पिएर बसिरहेका थिए। एकछिनमा होटलका मालिकले इंग्ल्याण्डका खेलाडी बसिल डि ओलिभिएरालाई संकेत गरेर उनलाई होटलबाट निस्कन भने। दक्षिण अफ्रिकामा जन्मिएका बसिललाई कालो भएको आधारमा विभेद भएको थियो। मैले होटलका मालिकलाई उनी किन बाहिर निस्कने भनेर प्रश्न गरेँ।
ती होटल सञ्चालकले भने- ‘यहाँ मेरो श्रीमतीसमेत भएको ठाउँमा उसले फोहोर शब्दहरु बोलिरहेको छ।’ तीनको जवाफ अलि फरक थियो। तर पनि मैले भनेँ- ‘फोहोर शब्द त यहाँ सबैले बोलिरहेका छन् तर पनि निकाल्ने बसिललाई मात्र किन?’
तीनले अझै पनि बसिललाई निकाल्ने प्रयास गरिरहे। त्यसैले हामी सबैले खाइरहेको बियर छाडेर होटलबाट निस्कियौँ। यस्ता खाले घटनाहरु अरु पनि भइरहेका हुन्थे। रंगभेदका यस्ता उदाहरण अरु पनि निकै छन्।
सन् १९७५-७६ मा दक्षिण अफ्रिकामा खेल्न जाँदा प्रशिक्षक रिची बेनड र कप्तान जर्ज सहित काला गोरा मिश्रित खेलाडीहरु गएका थियौँ। त्यतिबेला पोर्ट एलिजाबेथभन्दा केही परको मैदानमा एउटा खेल हेर्न जाँदा केही खेलाडीहरु कालो वर्णको भएकै कारण सहभागी हुन नपाएको समेत देख्यौँ।
त्यहाँ नै वेस्ट इन्डिजका जोन सेफहर्डमाथि समेत निकै नराम्रो व्यवहार भयो। उनी जस्तो यो पृथ्वीकै सबैभन्दा सभ्य र शान्त मानिसमाथिको त्यस्तो व्यवहार स्वीकार्य थिएन। भिडबाट कसैले भनिरहेको थियो- ‘सेफहर्ड तिमी पनि अनुहारमा सेतो रंग लगाउ त्यसपछि बाँकी जस्तै देखिन्छौ।’
त्यस्तो सुनेपछि सेफहर्ड निकै झोक्किएका थिए। उनी रिसाएर भिडतर्फ हेर्दै त्यस्तो भन्नेतिर बढ्नै लागेका थिए। मैले उनलाई समातेर रोकिहालेँ। भने- ‘छाडिदेउ त्यस्तोलाई केही प्रतिक्रिया दिनु आवश्यक छैन, छाडिदेउ।’
मैले सेफहर्डको हात समात्दा कुनै मोटो फलाम समातेजस्तो दह्रो भइरहेको थियो। उनी रिस केही शान्त गरेर भने- ‘तिमी जाँदै गर, म एक मिनेटमा आइपुग्छु।’ र मलाई थप विश्वस्त पार्दै उनले भने- ‘त्यस्तो नराम्रो केही हुँदैन।’
यस्तै अर्को अनुभव सन् १९९१ मा जमाइकामा पनि भएको थियो। टेलिभिजनको एउटा कार्यक्रममा सञ्चालकले आइसिसीका विषयमा कुराकानी गरिरहेका थिए। मलाई सोधिएको एक प्रश्नमा मैले ‘आइसिसीको फैसलाविरुद्ध अस्टे«लिया र इंग्ल्याण्डले जुन भिटो प्रयोग गरेर विरोध गरेका छन् त्यसमा अपमान थियो र निकै अघि त्यसलाई बन्द गर्नुपर्ने थियो’ भनेको थिएँ।
त्यहाँ दर्शकमा रहेका धेरैलाई थाहा थियो कि त्यो भिटो प्रयोग गर्न पाउने शक्ति उनीहरुमा थियो। तर पनि दर्शकले निकै बेसरी थपडी बजाए। तर त्यसले अस्ट्रेलियन क्रिकेट ब्यवस्थापकहरुमाथि नराम्रो प्रश्न उठाए जस्तो हुन गयो। त्यसैले भनियो- ‘भेटोको पावरको प्रयोग कहिल्यै गरिएकै छैन भने त्यसले कसलाई किन निराश बनाइरहेको छ?’
यस्ता रंगभेदका विषयहरु निकै छन् जसले निकै गहिरो गरी असर गरिरहेको हुन्छ।
(इआन माइकल च्यापलको लेख इएसपिएन क्रिकइन्फोबाट अनुवाद गरिएको हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।