काठमाडौं–कलाकार तथा सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले ‘जात’ बोलको गीत सार्वजनिक गरेका छन्। रुकुम घटनापछि मुलुकमा जातीय विभेदको विषय उत्कर्षमा पुग्दै गर्दा उनले गीतमार्फत् जातीयरुपमा गरिने विभेदलाई उजागर गरेका हुन्।
गीतमा सापकोटा, गायक प्रताप दास र प्रविन भट्टको आवाज छ। ललित पौडेलको शब्दमा रहेको उक्त गीतमा ओम सुनारको संगीत छ। गीतको भिडियोमा पत्रकार रविन्द्र सुवेदी, अवि सुनार र गीता ढुंगानाको अभिनय छ। गीत आहा टिभीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा उनले यसअघि ‘भाग कोरोना’ तथा भारतसँग सीमा विवादको विषय उठेका बेला ‘इतिहास’ बोलको गीत सार्वजनिक गरेका थिए। सापकोटाले गीतमा समाजमा अझै पनि जातका आधारमा भेदभाव गर्न हुँदैन भन्ने चेतना अभिवृद्धि नभइसकेका कारण आम मानिसमा विभेद गर्न नहुने विषयको जानकारी दिने उद्देश्यले गीत निर्माण गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।