एजेन्सी–लद्दाखको गलवान उपत्यकामा चिनियाँ सैनिकसँग हिंस्रक झडपपछि भारतले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा खटिएका आफ्ना सैनिकलाई हतियार प्रयोग गर्ने अनुमति दिएको छ।
फिल्ड कमाण्डरहरुलाई विशेष परिस्थितिमा सैनिकहरुलाई हतियार प्रयोग गर्ने अनुमति दिनसक्ने अधिकार दिएको हो।
नयाँ नियमअनुसार एलएसीमा तैनाथ कमाण्डर तथा सैनिकहरुलाई स्थिति नियन्त्रणमा लिने पूर्ण स्वतन्त्रता रहनेछ। यसअघि सन् १९९६ र २००५ मा भएको भारत–चीन सम्झौताअनुसार दुवै देशका सेनालाई सीमामा हतियार प्रयोग गर्ने अनुमति थिएन। गत १५ जुनमा गलवान उपत्यकामा भएको झडपमा पनि भारतीय सैनिकले सोहीकारण हतियार प्रयोग गरेका थिएनन्।
यसका साथै भारत सरकारले चीनसँग सीमामा बढेको तनावलाई मध्यनजर राख्दै हतियार खरिद गर्न सेनाका तीनै अंगलाई ५ सय करोड रुपैयाँसम्मका हतियार खरिद गर्नसक्ने अधिकार दिएको छ। एलएसीमा आफ्नो तयारीका लागि कम समयमै हतियार एवं सैन्य सामग्री खरिद गर्न सेनाका तीनै अंग स्थल, वायु तथा नौसेनालाई उक्त अधिकार दिइएको हो।
गलवान उपत्यकामा भएको उक्त झडपमा २० भारतीय सैनिक मारिएका थिए। यसपछि भारतले चीनसँग सीमा जोडिएका क्षेत्रमा लडाकू विमान र हजारौंको संख्यामा सैनिक तैनाथ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।