काठमाडौं- सरकारको सुस्त कामप्रति प्रहार गर्दै र्यापर सुदिन पोखरेलले नयाँ गीत 'समृद्धि' सार्वजनिक गरेका छन्। उनले विश्व संगीत दिवसमा पारेर आइतबार आफ्नो आधिकारिक युट्युब च्यानलबाट नयाँ गीत सार्वजनिक गरेका हुन्। गीत सञ्चारकर्मी अनन्त कोइराला र उनी आफैंले लेखेका हुन्। स्वर र संगीत सुदिनको रहेको गीतमा उनी आफैं फिचर्ड छन्।
'यो गीत हाम्रो हो। बुझ्नेलाई मिठो नबुझ्नेलाई चाम्रो' भन्दै उनले छट्पटी छ मनमा समृद्धिको भोक भन्दै सबै राजनीतिक दलको कामप्रति असन्तुष्टि जनाएका छन्। म्युजिक भिडियो बनाउन सिद्धार्थ लामिछाने र दिपेश श्रेष्ठले निर्देशनमा सहयोग गरेका छन्।
'मलाई भोट देऊ', 'सि इज द बम', 'म यस्तो छु, म उस्तो छु' बोलका गीत गाएर नेपाली र्याप विधामा बलियो छवी बनाएका उनी अष्ट्रेलिया पुगेपछि गीत संगीतमा निष्कृय भएका थिए। गत पुसमा उनले 'जोश' बोलको गीत ल्याएर संगीत क्षेत्रमा पुनरागमन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।