एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-चीन सीमा विवादलाई लिएर सुरु भएको तनावमा मध्यस्थता गर्न तयार रहेको बताएका छन्।
ह्वाइटहाउसबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भारत र चीनबीच जारी तनावलाई आफूहरुले हेरिरहेको र सहयोगका लागि तयार रहेको बताएका हुन्।उनले यस विषयमा भारत र चीन दुवै पक्षसँग कुरा गरिरहेको समेत बताएका छन्।
‘यो मुस्किल समय हो। हामी भारतसँग कुरा गरिरहेका छौं। चीनसँग पनि कुराकानी भइरहेको छ,’ उनले भने, ‘यी दुवैबीच अहिले ठूलो समस्या छ। आगामी दिनमा के हुनसक्छ हामी हेरिरहेका छौ र सहयोगका लागि तयार छौं।’
गलवान उपत्यकामा भारत र चीनका सेनाबीच भएको झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए। चीनतर्फ पनि क्षति भएको अनुमान गरिए पनि विवरण भने सार्वजनिक भएको छैन। भारत र चीनबीच बढ्दो तनाव देखेर गत महिना नै ट्रम्पले दुवै देशबीचको समस्या समाधान गर्न आफू मध्यस्थताका लागि तयार रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।