एजेन्सी–अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी र्याली गर्न अनुमति दिएको छ । अदालतको स्वीकृतिबाट उत्साहित भएका उनले शनिबार ओक्लोहोमाको टल्सामा चुनावी र्याली गर्दै छन् ।
कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै र्याली रोक्न मागसहित मुद्दा दायर भएको थियो । त्यसमा सुनुवाइ गर्दै ओक्लोहोमाको सर्वोच्च अदालतले र्यालीका लागि हरियो झण्डा देखाएको हो।
कोरोना भाइरसको संक्रमण ओक्लोहोमामा बढ्दो क्रममा छ। तर आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पुनः निर्वाचित हुने चाहनामा रहेका ट्रम्पले मार्चयता पहिलोपटक र्याली गर्न लागेका हुन्।
संक्रमण बढ्दो क्रममा रहेको क्षेत्रमा ट्रम्पले चुनावी र्याली आयोजना गर्न लागेकामा ओक्लोहोमाका स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेका छन्।
ट्रम्पको चुनावी अभियानले र्यालीमा सहभागी हुनका लागि १० लाखभन्दा बढी मानिसले टिकटका लागि अनुरोध गरेको बताएको छ। ब्यांक अफ ओक्लोहोमा सेन्टरमा चुनावी सभा हुने छ । त्यहाँको क्षमता १९ हजार मानिस अट्ने रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।