काठमाडौं- बीमा समितिले लकडाउन खुकुलो भएसँगै असार १५ गतेसम्म बीमा शुल्क भुक्तानी गर्दा ब्याज नलाग्ने व्यवस्था गर्न बीमा कम्पनीलाई निर्देशन जारी गरेको छ। समितिले लकडाउन अवधिभर बीमा शुल्क भुक्तानी नगर्दा पनि बीमा पोलिसी जारी रहने र लकडाउन सकिएको १५ दिनभित्रमा बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको थियो। समितिले जेठ मसान्तसम्म बीमा शुल्क भुक्तानी नगर्दा लाग्ने ब्याज तथा हर्जना लिन नपाइने व्यवस्था गरेको थियो।
अत्यावश्यक बीमा सेवा निरन्तरताका लागि समितिले लकडाउनको अवधिभित्र संकलन गर्नुपर्ने जीवन बीमा प्रिमियम बापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म रहेकोमा अब उप्रान्त लकडाउन समाप्त भएको मितिले १५(पन्ध्र) दिनसम्म ब्याज नलाग्ने व्यवस्था गर्न बीमा कम्पनीलाई निर्देशन जारी गरेको छ।
२०७७ वैशाख १५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनामा सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले बिदा दिएको कर्मचारी वा श्रमिकको हकमा खाइपाई आएको तलब, भत्ता पाउनेगरी त्यसरी बिदा दिएको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले सार्वजनिक बिदा कायम गर्ने निर्णय बमोजिम सबै बीमा कम्पनीहरूले सोही बमोजिम बिदाको व्यवस्थापन पर्ने भएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को जेठ २८ गतेको बैठकबाट सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय बमोजिम सबै बीमा कम्पनीहरुले सोहीबमोजिम व्यवस्थापन गर्न समितिले पत्राचार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।