काठमाडौं – साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत नेपालले सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपालका लागि उपाधि रक्षा गर्न बंगलादेशविरुद्धको खेल महत्वपूर्ण छ। बंगलादेशलाई पराजित गरे मात्र नेपालको उपाधि जित्ने सम्भावना बाँकी रहनेछ । त्यसका लागि नेपालले अन्तिम खेलमा भारतलाई हराउनुपर्नेछ।
नेपाल र बंगलादेशबीचको खेल थिम्पुको चाङ्लिमिथाङ रंगशालामका साँझ पौने ७ बजे हुनेछ। त्यसअघि माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ।
नेपालका प्रशिक्षक छिरिङ लोप्साङले माल्दिभ्सविरुद्ध खेलमा नेपालले गल्ती सुधार गरेकोले बंगलादेशसँग राम्रो खेल्ने बताउँछन्। ‘हामीले पाएका अवसरलाई पनि सदुपयोग गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘माल्दिभ्सविरुद्ध जितले टिममा प्रभाव परेको छ, बंगलादेशविरुद्ध पनि जितलाई निरन्तरता दिन्छौं।’
पाँच टिमबीच जारी च्याम्पियनसिपमा नेपाल, बंगलादेश र भारतले समान २–२ खेल खेलेका छन्। भुटान र माल्दिभ्सले ३–३ खेल खेलिसकेका छन्। अंक तालिकामा बंगलादेश ६ अंक बटुलेर शीर्ष स्थानमा छ। ६ अंक नै बटुलेको भुटान दोस्रो तथा ३ अंकसहित भारत तेस्रो स्थानमा छ। ३ अंक जोडेको नेपाल चौथो स्थानमा छ। माल्दिभ्सले भने खाता खोल्न सकेको छैन। राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिनमा बढी अंक जोड्ने टिम च्याम्पियन बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।