काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्लेकार्ड अभियान सुरु गरेको छ।
महाशाखा र सो मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरी कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड देखाउने अभियान आइतबारदेखि सुरु गरेको हो।
कोरोना भाइरसबाट सडक प्रयोगकर्तामा हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य चोक एवं भीडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भीडभाड कम गराउनका लागि प्लेकार्ड सहितको ट्राफिक प्रहरी टोली खटाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
सधैं मास्क लगाएर यात्रा गरौं, जोर-बिजोर नियम पालना गरौं, सवारी साधनमा सामाजिक दूरी कायम गरौं, जथाभावी हिँडडुल नगरौं र ट्राफिक नियमको पालना गरौं जस्ता कुराहरू प्लेकार्डमा लेखिएका छन्।
महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूबाट काठमाडौं उपत्यकाको ८२ स्थानमा २ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरी यो विशेष अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख ढकालले बताए।
बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म प्लेकार्ड देखाउने विशेष टोली परिचालन गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।