काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा गएको पहिरोमा परेर मृत्यु भएका ६ जनाको शव फेला परेको छ। तीन जना अझै बेपत्ता भएका छन्।
शनिबार साँझ दुई घण्टासम्म परेको भीषण वर्षासँगै पहिरो गएको थियो। घटना बेलुका ९ बजेतिरको भएको पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए। तुलबहादुर थापाको घरमा ६ जना र कमला विकको घरको तीन जना पहिरोमा परेका थिए। बेपत्ताको खोजी जारी रहेको उनले बताए।
५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीया मीनकुमारी थापा, ८ वर्षीया बिबिसा थापा, ३० वर्षीया दीपा थापा, ३५ वर्षीया कमला विक र ७ वर्षीय प्रनिश विकको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
पहिरोमा परी अन्य तीन जना बेपत्ता छन् । बेपत्ता हुनेमा १४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा र १३ वर्षीय जेनिश बिक छन्।
पहिरो गए लगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल २५ नम्बर चण्डिका गणबाट सशस्त्र प्रहरी निरीक्षक सुशान्त थापाको टोली घटनास्थल पुगेको थियो। पहिरोमा परी तुलबहादुर थापा र कमला बिकको घर पुरिएको हो।







फोटोहरुः सशस्त्र प्रहरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।