काठमाडौ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले रुकुमको चौरजहारीस्थिति सोती घटनामा भएको अन्तरजातीय घटनाले आफूलाई लज्जित बनाएको बताएका छन्। रुकुम घटनाको छानबिनका लागि संघीय संसदले गठन गरेको सांसद देवेन्द्र पौडेलको नेतृत्वको समितिसँग शनिबार छलफलमा अध्यक्ष प्रचण्डले जनयुद्धमा आफूले आधार इलाका बनाएर बसेको क्षेत्रमा यस्तो घटना हुनु दुखदायी भएको बताए।
‘हिजो मैले आधार इलाका बनाएर त्यही ठाउँमा उत्पिडित जाति, क्षेत्र‚ लिंग समुदायको हक अधिकारका लागि लडाइँ गरेको केन्द्रबिन्दुमा यस्तो दुःखद र अमानवीय घटना घट्न जादा फरक खालको पिडा हुँदो रहेछ’ दाहालले भने, ‘मान्छेहरूले किन बोलेन प्रचण्ड भनेका छन्। वास्तवमा यस घटनाले मलाई जज्जाबोध जस्तो भयो।’ सोच्न नै नसकिने खालको अमानवीय घटना भएको प्रचण्डले बताए।
यस घटनाका पीडित र पीडक दुवै नेकपाकै शुभचिन्तक हुनु दुःखद भएको प्रचण्डको भनाइ छ। रुकुम घटनाको प्रहरीले सत्य तथ्य छानबिन गरी प्रक्रियामा अघि बढाइसकेको बताउँदै प्रचण्डले दोषिहरू उम्किन नसक्ने बताए। दोषी पत्ता लगाई हदैसम्मको कारबाही गरेर सन्देश दिनेगरी काम गर्न समितिलाई प्रचण्डले निर्देशन दिएका छन्।
रुकुम घटना छानविन गर्न समितिलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रचण्डले विश्वास दिलाएका थिए। गत जेठ २७ गते प्रतिनिधिसभाको बैठकले पश्चिम रुकुममा नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्न पौडेलेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन्। समितिलाई ३० दिनको समयावधी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।