काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा कीर्ते प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहेका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन अधिकृत रिहाई हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका छन्। कोरोना भाइरसको महामारीबीचमा अन्य कैदीझै आफूपनि धरौटीमा रिहाई हुनुपर्ने माग गर्दै उनका तर्फबाट सर्वोच्चमा निवेदन दिइएको हो।
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणका मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई चैत ३ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। उनी अदालत हाजिर हुने पहिलो व्यक्ति भएका थिए। पौडेलका तर्फबाट जेठ २३ गते सर्वोच्चमा निवेदन दिइएको थियो। उक्त निवेदनमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ। न्यायाधीश मिरा ढुङ्गानाको इजलासले थुनामा पठाउने विशेष अदालतको आदेश मगाउने निर्णय गरेको हो।
विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले पौडेललाई धरौटीसमेत नमागी थुनामा पठाउने आदेश गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते तीन पूर्वमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरी मुद्दा दायर गरेको थियो। पहिलो पटक अदालतमा हाजिर भएका प्रतिवादी पौडेललाई धरौटी नमागी थुनामा पठाउने आदेश गरेपछि अन्य प्रतिवादीहरु अदालत हाजिर भएका छैनन्। विशेषले प्रतिवादीमध्येहरु पूर्वमन्त्री विजयकुमार गच्छादारका नाममा फागुन २३ गते अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको थियो। गच्छादारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेषले उक्त प्रकरणमा संलग्न भएको आरोपमा मुद्दा लागेका भाटभटेनी डिपार्टमेन्ट स्टोरका संचालक मीनबहादुर गुरुङका परिवारको नाममा पनि सोही दिन १५ दिने म्याद जारी गरेको थियो। आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा व्यवसायी गुरुङसँगै उनका छोरा कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको भेटिएको थियो। गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र बुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।