काठमाडौं- मलेसिया र खाडीका विभिन्न ६ वटा मुलुकबाट मात्रै तत्काल उद्धार गर्नुपर्ने अवस्थाका ४० हजारभन्दा बढी नेपाली रहेका छन्।
तर सरकारले सोमबार सार्वजनिक गरेको तत्काल स्वदेश फर्काउनुपर्ने अवस्थाको सूचीमा मलेसिया र खाडीका २१ हजार १ सय ८६ मात्रै अटाएका छन्।
सबैभन्दा बढी नेपाली श्रमिक समस्यामा रहेको युएईबाट ४१०
सरकार तथा वैदेशिक रोजगार व्यवसायी संघले यसअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार सबैभन्दा बढी नेपाली श्रमिकहरु युएईमा समस्यामा रहेका छन्।
कोरोनाका कारण आर्थिक मन्दी तथा उद्योगहरु बन्द हुँदा बेतलबी बिदा, कामबाट निष्काशन तथा भिसा अवधि सकिँदा ठूलो संख्यामा नेपालीहरु समस्यामा छन्।
वैदेशिक रोजगार व्यवसायी संघको अध्ययनअनुसार युएईमा ३० प्रतिशत नेपाली श्रमिकहरुको रोजगारी तत्काल गुम्ने अवस्था छ।
दूतावासका अनुसार तत्काल स्वदेश फर्कन चाहाने १८ हजारभन्दा बढीको आवेदन परेको थियो। सो आवेदनबाट छाँटकाँट गर्दा पनि तत्काल स्वदेश फर्काउनुपर्ने अवस्थाका नेपालीको संख्या १० हजारभन्दा बढी छ। तर सरकारको तत्काल उद्धार गर्नुपर्ने सूचीमा ४१० जना मात्रै छ।
सरकारको यो सूचीले दूतावासमा समेत तनाब बढाएको छ।
‘स्वदेश फिर्तीमा ढिलाई गरिएको भन्दै छिटो स्वदेश फर्काउन दूतावासमा नेपालीहरुले दबाब दिइरहेका छन्। त्यसमाथि सरकारको सूचीले थप तनाब सिर्जना गरेको छ’ दूतावासका एक कर्मचारी भन्छन्।
यससम्बन्धमा परराष्ट्र मन्त्रालयमा कुरा राख्ने दूतावासले जनाएको छ।
सबैभन्दा बढी साउदीबाट ६ हजार ६ सय फर्काइने
सरकारले सोमबार कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्धार गर्नुपर्ने अवस्थाका नेपालीहरुको सूची कोरोना संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको छ।
सो सूचीमा सबैभन्दा बढी साउदीबाट ६ हजार ६ सय २४ तत्काल उद्धार गर्नुपर्ने छन्। युएईबाट ४१०, बहराईनबाट ४७२, कतारबाट ३ हजार ६ सय ८, मलेसियाबाट ६ हजार ४ सय २५, ओमानबाट ६५६, कुबेतबाट २ हजार ९ सय ९१ तत्काल फर्काउनुपर्ने छन्।
अमेरिकाबाट ६४६ र अस्ट्रेलियाबाट १३०० उद्धार गरिने
मलेसिया र खाडीसहित विभिन्न ३० देशबाट कुल २४ हजार १ सय ४८ नेपालीहरुमात्रै तत्काल स्वदेश फर्काइने भन्दै सरकारले सूची सार्वजनिक गरेको छ।
जसमा अमेरिकाबाट ६४६, अस्ट्रेलियाबाट १ हजार ३००, माल्दिभ्सबाट ७२४, साइप्रसबाट ४७१, डेनमार्क/नर्वे/फिनल्याण्ड/स्वीडेनबाट ७६, पाकिस्तानबाट १२५, श्रीलंकाबाट ३६, बंगलादेशबाट १८०, कोरियाबाट २८२, जापानबाट ९१६, लाओसबाट २, भियतनामबाट ४, कम्बोडियाबाट ४१, सिंगापुरबाट ६१, थाइल्याण्डबाट ३५७, मोरक्कोबाट ६३, सुडानबाट ३१, दक्षिण सुडानबाट १८, नाइजेरियाबाट ९७, युगाण्डाबाट १६१, इजरायलबाट ३९, क्यानडाबाट ७८, ब्रिटिस टेरिटोरीबाट ४९ जना स्वदेश फर्काउने सूचीमा उल्लेख छ।
सरकारले स्वदेश फर्काउन प्राथमिकताका आधारहरु तय गरेको छ। जसमा आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका र हाल स्वदेश आउने अनुमति प्राप्त भएका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यू भई काजकिरियाका लागि नेपाल आउनुपर्ने, करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कोभिड बाहेक अन्य बिरामी, सुत्केरी तथा गर्भवती, बालबालिका तथा जेष्ठ नागरिक, सरकारी सेवामा रहि अध्ययन तथा तालिममा गएका, अध्ययन समाप्त भएका तथा नेपाल आउनुपर्ने अवस्थाका विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि गएका व्यक्ति, कम्पनीबाट बिदा पाएका, अन्तर्राष्ट्रिय संघसस्थाथमा आबद्ध रहेका र भिजिट वा व्यापारिक भिसामा गएका व्यक्ति रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।