काठमाडौं- गुणस्तर र लेबलिङबारे एउटै मन्त्रालय मातहतका दुई फरक निकायबाट दुईथरी रिपोर्ट आएपछि व्यापारीको तीन ट्रक (७२ मेट्रिक टन) चिनी तीन महिनादेखि राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छ।
जलेश्वर भन्सार कार्यालयबाट नेपाल भित्रिने क्रममा रहेको उक्त परिमाणको चिनीबारे उजुरी परेपछि राजश्व अनुसन्धानले लकडाउन हुनुअघि समातेको थियो। राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले उक्त चिनीको भन्सार राजश्व तिरेको र तिरेको राजश्वअनुसार परिणाम पनि सही देखिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई बुझाएको बताए।
‘भन्सार बुझाएको छ। र गुणस्तरबारे पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानयोग्य भनेर पठाएको छ। तर अरु विषयमा हामीले बोल्ने कुरा भएन। जिल्ला प्रशासन कार्यालयले नै थप अनुसन्धान गर्छ,’ उनले भने।
चिनी भन्सार यार्डमा आइसकेपछि भन्सार कार्यालय जलेश्वरले गुणस्तर चेकजाँचका लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर पठाएको थियो। उक्त चिनीको गुणस्तर मापदण्डविपरीत रहेको रिपोर्ट प्रमाणीकरण कार्यालयले भन्सारलाई बुझाएपछि राजश्व अनुसन्धान विभागले उक्त चिनी समातेको थियो। तर राजश्व अनुसन्धानले त्यहि चिनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गुणस्तर चेकजाँचका लागि पठाउँदा विभागले भने उक्त चिनीको गुणस्तर ठिक रहेको रिपोर्ट निकालेको देखिन्छ।
राजश्व अनुसन्धानबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा चेकजाँचका लागि पठाएको चिनीको २ पटकसम्म नमुना परीक्षण गर्दा पनि गुणस्तर बिग्रेको नपाइएको प्रवक्ता मोहनकृष्ण श्रेष्ठले बताए।
तर एउटै मन्त्रालय मातहतका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले जाँच गरेको चिनीको गुणस्तरको रिपोर्ट फरक फरक आएपछि राजश्व अनुसन्धानले अझै त्यो चिनी छाडेको छैन। खाद्य प्रविधि विभागले खानयोग्य भनी दिएको रिपोर्ट राजश्व अनुसन्धानले जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र अब बाँकी अनुसन्धानलगायतका प्रकृया पनि जिल्ला प्रशासनबाटै हुने महानिर्देशक मैनालीले बताए।
खाद्य प्रविधि विभागका प्रवक्ता श्रेष्ठका अनुसार नमुनाको गुणस्तरमा नभई लेबलिङमा समस्या रहेको देखिएको छ। त्यस्तै भन्सार कार्यालयले गुणस्तर प्रमाणीकरण कार्यालयमा पठाएको नमुना र राजश्व अनुसन्धानले खाद्य प्रविधिलाई पठाएको नमुना फरक फरक पर्दा पनि गुणस्तरका विषयमा फरक फरक रिपोर्ट आएको हुनसक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।