अहिले अनेकौं मन्त्रालयका समस्याबारेमा संक्षेपमा बोल्नुपर्दा संक्षेपमा बोल्न सक्ने केही कुरामात्र संकेत गर्न सकिन्छ। तथ्यांक र मिथ्यांकको थुप्रोका बारेमा म टिप्पणी गर्न चाहन्नँ। नेपालमा नयाँ व्यवस्था बनाउने, नयाँ युगको परिवर्तन गर्ने भन्ने कुरा २०४७ सालको संविधानमा बहुदलीय व्यवस्था स्थापना भएदेखि नै चलिरहेको हो।
तपाईं-हामी सारा आज कम्युनिस्टको नामले जानिएका, कांग्रेसको नामले जानिएका, राजपा, फोरमका नामले जानिएका पार्टीहरु समेत एक भएर ०४७ सालमा पनि लडेको हो। दोस्रो महान् आन्दोलन ०६२/०६३ मा पनि लडेको हो र गणतन्त्र पनि आएको हो। तर, संसदीय लोकतन्त्रले पनि नल्याएको अनुभूति, गणतन्त्रले पनि नल्याएको अनुभव र ज्ञान अथवा भनौँ- अविज्ञान कोरोनाले ल्याउँछ कि भन्ने सानो दुराशा, क्षीण आशा कोरोनाको विपत्तिका बाबजुद पनि विपत्तिका माझ ठूलो संकट हो। तर, प्रत्येक संकट एउटा नवअवसर पनि हुन्छ भनेर मजस्ता आशावादीले प्रतीक्षा गरेका थिए। जो आशा थियो, त्यो त मूल बजेटले नै ध्वस्त गरिसकेको थियो। प्रस्तुतकर्ता अर्थमन्त्री अथवा अर्थमन्त्रीका प्रस्तावलाई स्वीकार गर्ने क्याबिनेट, मन्त्रीमण्डल, प्रधानमन्त्रीलाई गणतन्त्रपछि आएको नयाँ अवसर र गणतन्त्रका लागि सँगै लडेका हामी सबैको साझा प्रयासले यस संकटलाई अवसरमा बदल्न सकिन्छ भन्ने उहाँहरुमा कुनै पनि अनुभूति बजेटले दिएको थिएन।
अब त्यस बजेटभित्र रहेका कृषि, शिक्षा, स्वास्थ्य, सञ्चारका पाटाहरु हेर्दा र त्यहाँ राखिएको खर्च हेर्दा अब एक मन्त्री, कृषिमन्त्रीले त खर्चको कागजमात्र नदेखाइकन सानो भूमिका पनि लेख्न पाउनु भएको, भ्याउनु भएको छ। त्यो भूमिकासमेत पढ्दा आदरणीय कमरेड घनश्याम भुसाल जो निर्विवाद रूपले अत्यन्त प्रतिभाशाली र प्रतिबद्ध कमरेड हुनुहुन्छ, उहाँको भूमिका पनि कृषि र पशुपन्छी मन्त्रालय अन्तर्गत पढेँ मैले।
र त्यो बाहेक उहाँका अभिव्यक्ति पनि आएका छन्। ए, मन्त्री भएर के के नै गरौँला भन्ने ठानेको त केही पनि गर्न सकिँदो रहनेछ। आदरणीय कमरेड! तपाईं अभिमन्यु चक्रव्यूहमा प्रवेश गरेझैँ एउटा तन्त्रमा प्रवेश गर्नु भएको छ। मेरो सम्पूर्ण शुभकामना तपाईंलाई छ। तपाईंको आत्मानुभूतिका लागि धन्यवाद छ कस्तो अप्ठ्यारोमा परेछु भनेर। पुरै अप्ठ्यारोमा पर्नु भएको छ। त्यो अप्ठ्यारोको निमित्त तपाईंका अध्यक्ष, तपाईंका प्रधानमन्त्री मात्र जिम्मेवार छैनन्।
यो व्यवस्था र हाम्राबीचको वैमनश्यता (हाम्रा भन्नाले कांग्रेस-कम्युनिस्ट होइनन्) सिंगो संसद्को आफ्नो आफ्नो राग, आफ्नो आफ्नो दलगत, व्यक्तिगतस्तरमा न हामीसँग विश्व दृष्टिकोण छ, न हामीसँग समाजवादी दृष्टिकोण छ। त्यो भन्न चाहन्छु।
कल्पना गर्नुहोस्, सानो खुशी किसान, त्यसलाई कसरी अनुदान दिनुहुन्छ? त्यसको घाटाको व्यापारलाई कसरी दुर गर्नुहुन्छ? जसले उखु बेच्दा पनि ठगिन्छ, चिनी किन्दा पनि ठगिन्छ।
तपाईंको अभिमन्युसँग तुलना गरिसकेपछि यहाँभन्दा बढ्ता मैले केही भन्नु परेन। अभिमन्यु अत्यन्त नै गौरवशाली पात्र थिए, यशस्वी थिए, अहिलेसम्म यशस्वी छन्। तपाईंजस्तै एकजना पूर्वमन्त्री शैलजा आचार्यले यस्तै दुस्साहस संसद्को फोरमबाट गर्नुभएको थियो। र कडा मूल्य तिर्नु भएको थियो।
बजेटमा के छ? सबैलाई थाहा छ, कोरोनाले ल्याएको बेरोजगारी, आप्रवासनबाट फर्किने समस्याले गर्दा कृषिलाई अत्यन्त ठूलो महत्व दिनु परेको थियो। कृषि भनेको के हो? सिँचाईलाई अत्यन्त ठूलो महत्व दिनु परेको थियो। र कनिका छरेजस्तो अनेकौँ शीर्षकमा पैसा छर्ने कुरा थिएन। खतरनाक किसिमबाट पैसा छरिएको छ।
म तपाईंलाई केही समयअघि फेब्रुवरीमा अनुदान/सब्सिडीका विषयमा लेखिएको लामो लेखः नयाँ क्रान्तिको जन्मभूमि ठहरिएको रोल्पामा बाँढिएको अनुदानको विवरण हेर्नका लागि दुई फेब्रुअरीको काठमाडौं पोस्ट हेर्न अनुरोध गर्दछु। म त्यहाँ भएको घटनाको विवरणका बारेमा कुरा गरेर आफू लज्जित हुन चाहन्नँ। किनकि, त्यसबाट कामरेड मन्त्रीहरु नै लज्जित हुनुहुनेछ र म पनि लज्जित हुनेछु। तर, संक्षेपमा समय थोरै छ, एउटा कुरा भन्न चाहन्छु, कि स्वास्थ्यमन्त्री, शिक्षामन्त्रीलाई एकै शब्दमा स्वास्थ्य भन्ने शब्द स्वःमा स्थित हुने अभ्यास हो। कुनै एलोपेथिक र आर्युवेदिक दबाइले ठिक गर्दैन।
शिक्षा भनेको, आइए र बिएको डिग्री लिएर जागिर खोज्दै हिँड्ने निवेदनपत्र होइन। अन्य केही नगर्नुहोस्, पैसाको सवाल छैन। मन्त्री भएको बहानाले मन्त्री भएको विशेषाधिकार प्रयोग गरेर स्वास्थ्यको राम्रो अर्थ बताइदिनुहोस्, तपाईंका कर्मचारीलाई र कर्मचारीका माध्यमबाट जनतालाई र कार्यकर्तालाई।
कृषिमन्त्रीले एउटा कुरा सम्झना राख्नु होला। बजेटको हेरफेरको कुरा मात्र होइन, त्यो हो बजेटबिना केही गर्न सकिन्न। कृषि मुख्यतया एउटा जीवनशैली हो। मधेशमा, वर्तमान कृषिमन्त्रीको चुनाव क्षेत्र पनि मधेश नै छ। एउटा कथन छः उत्तम खेती, मध्यम वान, अधम चाकरी र निचे दान।
खेतीलाई आम्दानीको स्रोत मानीकन प्रचारप्रसार गर्न थाल्नु भयो भने सफल हुनुहुन्न। वृद्धिदरवादी अर्थशास्त्रीले तपाईंलाई पराजित गर्छन्। तर, शास्त्रमा भनिएको थियो- यदि पैसा कमाउनु छ भने व्यापार गर। 'व्यापारे वसते लक्ष्मी'। होइन, शान्तिपूर्वक जीवन बिताउनु छ भने कृषि गर।
कल्पना गर्नुहोस्, सानो खुशी किसान, त्यसलाई कसरी अनुदान दिनुहुन्छ? त्यसको घाटाको व्यापारलाई कसरी दुर गर्नुहुन्छ? जसले उखु बेच्दा पनि ठगिन्छ, चिनी किन्दा पनि ठगिन्छ। मैले ठगिन्छ भन्ने शब्दको प्रयोग गरेँ, ट्याक्स तिर्छ भन्ने शब्दको प्रयोग गरिनँ। सत्य के हो भने, उखु बेच्दा पनि उसले ट्याक्स तिनु परेको हुन्छ। सिँचाईका रूपमा, पानीका रूपमा, खाद्यान्नका रूपमा मात्र होइन, मलमा पनि कर लगाइएको छ। अर्को रुपमा चिनी किन्दा कति ट्याक्स र अन्तशुल्क लगाउनु पर्छ? तपाईंलाई थाहा छँदैछ।
त्यसैले कृषिप्रति आज अत्यधिक ज्यादा सहानुभूतिको आवश्यकता छ। कोरोनाले त्यो सहानुभूतिलाई अत्यावश्यक बनाइदिएको थियो। प्रधानमन्त्रीले त यस देशमा वायुयान, विशिष्ट वायुयान र विशिष्ट जलयान चलाउनमा व्यस्त हुनुहुन्छ। अर्थमन्त्री प्रत्येक शहरलाई कहर बनाउन व्यस्त हुनुहुन्छ। जुन पोहोर साल यही सदनमा भनिसकेको छु। तपाईं क्रान्तिकारी कृषिमन्त्री, प्रतिबद्ध शिक्षामन्त्री तपाईंहरुले यस परिस्थितिलाई प्रतिरोध गरेर पहिलोपटक शिक्षा र कृषिको महत्व बताएको अनुभूति मात्र बजेटमा दिनुहोला भन्ने थियो। तपाईंहरु दुवैलाई शुभकामना दिएर सुरक्षित यो चक्रव्यूहबाट फर्किनु होला। शुभकामना।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।