काठमाडौं- सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने क्रममा समस्यामा परेका ऋणीहरुलाई अधिकतम २० करोड रुपैयाँसम्मको पुनरकर्जा उपलब्ध गराउने भएको छ। यसका लागि नेपाल राष्ट्र बैंकले 'नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७' को मस्यौदामा उच्च जोखिममा परेका ऋणको वर्गीकरण गरेको छ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कोरोनाबाट प्रभावित कर्जाका लागि ५ प्रतिशत व्याजदरमा पुनरकर्जा उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको पुनरकर्जा कोषको व्यवस्था गरिएको छ। सरकारले उक्त कोष नेपाल राष्ट्र बैंकबाट सञ्चालित हुने व्यवस्था गरेसँगै राष्ट्र बैंकले यसका लागि कार्यविधि तयार पारेको छ।
उक्त मस्यौदा अनुसार बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलब्ध गराउने साधारण पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ। यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ।
बैंकबाट आह्वान गरी इजाजतप्रत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा १० करोड रुपैयाँ हुनेछ। यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन। बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा हुने छैन।
निम्न प्रकारका ऋणीले पाउन सक्छन् पुनरकर्जाको सहुलियत
लघुवित्त वित्तीय संस्थाबाट कर्जा लगेका ऋणीको हकमा सञ्चालनमा रहेका उद्यम व्यवसायको लागि प्रदान भएको १५ लाख रुपैयाँसम्मका कर्जाहरु पुनरकर्जा लागि योग्य हुन्छन्। प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहे तापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणको भविष्यमा सम्भाव्यता रहेका १५ लाख रुपैयाँसम्मका कर्जाहरु पुनरकर्जाका लागि योग्य हुने मस्यौदामा उल्लेख छ।
प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु घरेलु तथा साना उद्यमीहरुलाई प्रवाह भएका थप कर्जाहरु। त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु पनि यस्तो सुविधाका लागि योग्य हुने छन्। कृषि उत्पादन तथा प्रशोधन पशुपंक्षी पालन मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरुले पुनरकर्जाको सुविधा पाउन सक्छन्।
विशेष पुनरकर्जाका लागि योग्यता
सञ्चालनमा रहेका निर्यातजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जाहरु। न्यून आय भएका महिला आदिवासी जनजाती मधेसी दलित फरक ढंगबाट सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरु। रुग्ण उद्योग तथा प्रकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु। वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु।
साधारण पुनरकर्जाका लागि योग्यता
जलविद्युत परियोजना कृषि क्षेत्र पुशपंक्षी तथा मत्स्यपालन व्यवसाय विदेशमा रोजगारी वा अध्ययन गरि फर्केका युवाहरुले सञ्चालन गरेका उद्योग व्यवसाय उत्पादनमूलक उद्योग पर्यटन उद्योग निर्माण उद्योग सार्वजनिक यातायात औषधि उद्योग डायग्नोष्टिक सेन्टर स्वास्थ्य शिक्षण संस्था अस्पताल फोहरमैला प्रशोधनसँ सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरु।
पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, गढीमाइ, जनकपुरधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरु।
पुनरकर्जाका लागि अयोग्य कर्जाहरु
कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामाग्री कर्जा, मार्जिक कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएको कर्जाहरु।
ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु। उद्योगको सञ्चालन अवस्था राम्रो रहेका वा विगत तीन वर्षको मुनाफा हेर्दा औसतमा प्रतिवर्ष पुँजीमा प्रतिफल २० प्रतिशत वा सोभन्दा बढि रहेका उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु।
चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जाहरु। बैंकले समय समयमा तोकेका अन्य कर्जाहरु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।