काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम पश्चिमको चौरजहारी घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन्।
आइतबार गृहमन्त्रालयमा रुकुम पश्चिमको घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघ संस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानुनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारबाही गर्न गृहमन्त्रालय प्रतिबद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरेका छन्।
मन्त्री थापाले घटनाको सम्बन्धमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमा पुगेर छानबिन सुरु गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्यलाई बाहिर ल्याउने विश्वास व्यक्त गरे। उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्ने गरी काम गर्न सचेत गराइएको समेत जानकारी दिए।
गृहमन्त्री थापाले घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको समेत खोजीकार्य जारी रहेको बताए।
घटनाका सम्बन्धमा हिजो बसेको क्याबिनेटमा समेत छलफल भएको जानकारी दिँदै जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्रीले स्पष्ट पारेका छन्। मन्त्री थापाले जातीय उत्पिडनको अन्त्यका लागि आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न प्रतिनिधिमण्डलका सदस्यहरुलाई समेत आग्रह गरेका थिए।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।
तल्लो जातको केटा भएको भन्दै केटीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराजसहित १९ जना युवा ती किशोरीलाई लिन जेठ १९ गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटी लखेटी कुटेको आरोप लागेको छ। कुटाइकै क्रममा नवराजको मृत्यु भएपछि नदीमा फालेको आरोप नवराजको परिवारको छ।
अहिलेसम्म चार जनाको शव भेटिइसकेको छ। नवराज विक, टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक गरी पाँच जनाको शव भेटिएको छ। भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।