काठमाडौं- संविधान संशोधन प्रस्ताव आइतबारको सम्भावित कार्यसूचीमा समावेश भएको छ। संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा संविधान सशोधन राखिएको छ।
नेपालको संविधानको अनुसूची ३ को निशान छापमा रहेको नक्सा संशोधनका लागि सरकारले पेश गरेको संविधान संशोधन प्रस्ताव अन्तिम समयमा हटाइएको थियो। नेपाली कांग्रेसले पनि थप छलफल गरिरहेको र सरकारले सर्वदलीय सहमति बनाउन खोजेकाले हटाइदिन सचिवालयलाई आग्रह गरेपछि अन्तिम समयमा सचिवालयले झिकेको थियो।
आइतबार कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले संविधान संशोधनको दोस्रो प्रस्तावलाई प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्ताव पेश गर्ने छिन्। उक्त प्रस्ताव स्वीकृत भएपछि संविधान संशोधन प्रस्ताव औपचारिक रुपमा संसदमा प्रवेश हुनेछ। त्यसपछि मात्र संसदमा यसबारे छलफल र बहश हुनेछ। हाल प्रतिनिधि सचिवालयमा मात्र दर्ता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।