काठमाडौं– नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा संविधान संशोधनका पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ।
सरकारले जारी गरेको नेपालको पूर्ण नक्साको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशित गर्ने प्रस्ताव महामन्त्री पूर्ण बहादुर खड्काले बैठकमा पेश गरेका हुन्। कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नक्सा सार्वजनिक भएसँगै निशान छापका लागि संविधान संशोधन गर्नुपर्ने अवस्था छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा महामन्त्री खड्काको प्रस्ताव उद्धृत गर्दै भने, ‘सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ।’
जारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ। संविधान संशोधनको पक्षमा निर्णय गरी बैठक आइतबार नै सकिने केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।