काठमाडौं- भरपर्दो सुरक्षा सामग्री नहुँदा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारमा निरन्तर खटिइरहेका चिकित्सकलाई काठमाडौँ महानगरपालिकाले १ हजार थान ज्याकेट सहयोग गरेको छ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण गरेका हुन्।
राष्ट्रिय सभागृहमा ज्याकेट हस्तान्तरण गर्दै प्रमुख शाक्यले कोभिड-१९ जस्तो अदृष्य सत्रुसँगको लडाईंमा ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकलाई महानगरपालिकाको तर्फबाट सानो सहयोग गर्न पाउँदा सुशी लागेको बताए। ‘दिन प्रतिदिन संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। यो क्रम कहिलेसम्म रहन्छ भन्ने कुनै निश्चित छैन। यस्तो बेलामा अग्रमोर्चामा खटिएका चिकित्सकलाई मनोबल उच्च बनाएर संक्रमितको उपचारमा खटिन सबै क्षेत्रबाट सहयोगको आवश्यकता छ,’ प्रमुख शाक्यले भने, ‘तपाईँहरुको ज्ञान–सिपको उच्चतम सदुपयोग गर्ने बेला हो यो। आगामी दिनमा थप सहकार्य र समन्वय गरेर अघि बढ्न काठमाडौँ महानगरपालिका तयार छ।’




शाक्यले अन्य ठाउँको तुलनामा काठमाडौँ अहिले शान्त रहेको भन्दै ४० लाख बढी जनसंख्या रहेको उपत्यकामा संक्रमण फैलियो भने भयावह अवस्था सिर्जना हुने भएकाले उपत्यकाबासीलाई थप सचेतना फैलाउनका लागि चिकित्सकको भूमिका महत्वपूर्ण हुने पनि बताए। ‘अहिले कोरोना संक्रमित भनेपछि नागरिकहरु आतंकित हुने अवस्था छ,’ शाक्यले भने, ‘विश्वमा भएका सकारात्मक अनुभवको समेत मूल्याङ्कन गरेर नेपाली जनतालाई सकारात्मक सन्देश दिनेगरी जनचेतना प्रवाह गर्ने कुरामा भूमिका खेल्नुहोला। हाम्रो तर्फबाट आवश्यक सहयोग गर्न तयार छौँ।’
शाक्यले अहिले भारतबाट नेपाली नागरिक नेपाल आउने क्रम बढिरहेको र केही समयपछि खाडी, मलेसिया लगायत तेस्रो मुलुकबाट पनि नागरिक नेपाल ल्याउने तयारी भएकाले चिकित्सकहरुको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिए।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले कोरोनालाई आतंकमाथिको आतंक हो भन्ने ढंगले बुझ्दा थप समस्या भएको भन्दै यस्तो सन्दर्भमा पनि जनचेतनाको आवश्यकता रहेको बताए।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले संयमता अपनाउने र बढी चिन्ता नलिने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिने बताए। ‘तपाईँ बाहिर जानु भएन भने कोरोना भित्र आउँदैन,’ कोइरालाले भने, ‘लापरबाही गरियो भने कोरोनासँगको युद्धमा पराजित भइन्छ।’
नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर कार्कीले काठमाडौँ महानगरपालिकाको सहयोगले आफूहरु उत्साहित भएको बताए। ‘अहिले पनि कार्यक्षेत्रमै चिकित्सकहरुले कुटाइ खानु परेको, मनोवल कमजोर पार्ने खालका गतिविधिको सामना गर्नु परेको अवस्था छ,’ उनले भने, ‘यो सहयोगले केही हदसम्म भए पनि कार्य क्षेत्रमा खटेका चिकित्सकहरुको मनोबल बढ्ने अपेक्षा गरेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।