दिल्ली- भनिन्छ ‘यत्र नार्यस्तु पुज्यन्ते‚ रमन्ते तत्र देवता’ अर्थात् जहाँ जहाँ नारीहरूको सम्मान गरिन्छ त्यहीँ त्यहीँ देवता पनि रम्ने गर्छन्। तर शास्त्रले भनेजस्तो छैन हाम्रो समाज। केही न केहीका माध्यमबाट नारी हिंसाका घटनाहरू हरेक दिन सुनिन्छन्। यस्तै समाजका घटनालाई पर्दामा उतारेर फिल्महरू बनाउने होड पनि अहिले अभूतपूर्व तवरले चलिरहेको छ।
जब नेटफ्लिक्स र अमेजन प्राइमजस्ता ओटिटी (ओभर द टप) प्लेटफर्महरूले केही वर्षअघि भारतीय स्क्रिप्टमा काम गर्न सुरू गरे‚ फिल्म पारखीमा खुसीको सीमा रहेन। बलिउड र टेलिभिजनमा दैनिक देखिरहनेभन्दा फरक धारका विभिन्न घटनाहरूलाई यस्ता प्लेटफर्मका माध्यमबाट देखाइने गरिन्छ।
यी प्लेटफर्मले स्टोरी राइटरका कथालाई उनीहरूले चाहेबमोजिम कुनै पनि दृश्य प्रतिबन्धित नहुनेगरी पर्दामा प्रस्तुत गर्ने बलिउडभन्दा भिन्न किसिमको अधिकार दिन्छन्। यस्ता शोहरू निर्माण हुन थालेपछि भारतमा यसले ठूलो बजार लियो। गाली‚ बेइजती बलात्कारलगायतका नकारात्मक विषयहरूले यस्ता प्लेटफर्ममा बलियोसँग आफ्नो प्रभुत्व जमाए। जब कुनै निर्देशक अथवा निर्मातालाई दृश्य निरस लाग्न थाल्छ अनि कतै न कतै जोडेर बलात्कारको दृश्य देखापर्ने गर्छ।
अमेजन प्राइमको भरखरै रिलिज भएको चर्चित सिरिज ‘पाताल लोक’ भारतमा चारैतिरबाट चर्चा बटुल्न सफल भयो। उक्त शोको तेस्रो भागलाई ‘द हिस्ट्री अफ भायलेन्स’ अर्थात् हिंसाको इतिहाँस शीर्षक दिइएको छ‚ जसमा एक महिलाले स्थानीयस्तरमा महिलामाथि हुँदै आएका फरक फरक किसिमका हिंसाका बारेमा भन्न सुरू गर्छिन्। यसमा अर्कालाई जिस्क्याउनुलाई सानो कामसँग तुलना गरिएको छ भने बलात्कार गर्नुलाई ठूलो काम। त्यसैगरी बलात्कार गरेर कसैको हत्या गर्नुलाई पूर्णकामको संज्ञा दिइएको छ। तीन दिदीबहिनीलाई बलात्कार गर्नका लागि कतिसम्म छुट मिलाउन सकिन्छ भन्दै दुईजना पुरूष एकआपसमा बार्गेनिङ गरिरहेका हुन्छन्। अन्ततः ती महिला तिनै पुरूषबाट बलात्कृत हुन्छन् र यससँग सम्बन्धित घटनाका पृष्ठभूमीलाई शोमा विस्तृत रूपमा देखाइन्छ।
योभन्दा पहिला एउटा दृश्य देखाइएको छ- एक दर्जनजति कथित उच्च जातीका बन्दुकधारी केही गुण्डा पन्जाबको कथित तल्लो जातिको एक घरमा हिंस्रक शैलीमा प्रवेश गर्छन्। त्यो ग्याङको मुख्य लिडरले धम्कीपूर्ण स्वरमा छोरोले गरेको अपराधको बदला लिन आएको भन्दै आमालाई थर्काउन थाल्छ। यहीक्रममा त्यहाँ अचानक ती आमाको बलात्कार भएको दृश्य देखाइन्छ। यो दृश्य देखाइनुअघि उनको चिच्याहट र खाटको एकनाशको कर्कस आवाज सुनिन्छ। उनका आफन्तहरू एउटा कुनामा बसेर रोइरहेका हुन्छन्।
त्यसको दुई एपिसोडपछि अर्को दृश्य देखाइएको छ‚ जहाँ एक युवालाई उसका आफन्तले रेलको डिब्बामा छोड्दिएका हुन्छन्। उक्त व्यक्ति कुनै आवारा समूहको संगतमा हुर्किन थाल्छ। रेलवेमा कहिले अर्काको पैसा चोर्ने त कहिले भीख मागेर पेट पालिरहेको त्यो केटोलाई अचानक कुनै रिक्सावाला र एक पेडोफाइल व्यक्तिले आएर पनि बलात्कार गरिदिन्छन्। यसबाट पनि शो निर्माण गर्ने व्यक्तिलाई जुन दृश्य अलिक पट्यारलाग्दो लाग्यो‚ त्यसमा जबरजस्ती बलात्कारको दृश्य घुसाइएको जस्तो भान हुन्छ।
शो जतिसुकै शान्दार भएपनि‚ कुनै एक बिन्दुमा पुगेर तपाईंलाई यौनजन्य दृश्यले दिक्कलाग्दो लाग्न थाल्छ।
अब सिरिजमा देखाइने नरसंहार र रक्तपातको विषयमा कुरा गरौं। सिरिजभरि नै यो विषयले जहाँसुकै ठाउँ पाएको छ। निर्माण सहयोगी अनुपमा चोपडा र पाताल लोकका निर्माता सुदिप शर्मा भन्छन्‚ ‘यो सिरिज कुनै हिंसालाई प्रोत्साहन गर्ने किसिमले बनाइएको होइन। न त हिंसाबाट मानिसलाई मनोरञ्जन दिलाउन नै हो। वास्तवमा यसबाट विमूख गराउनका लागि र समाजमा कस्तो किसिमको हिंसा चाहिन्छ र कस्ता किसिमका हिंसा हुँदै आएका छन् भन्ने देखाउनका लागि यो कन्सेप्ट ल्याइएको हो।’
अहिले चलेको पाताल लोकमात्र होइन अन्य धेरै शोहरू छन्‚ जसले यौनजन्य हिंसालाई खुला रूपमा देखाइरहेका छन्। कहीँ बलात्कारका प्रयास भएका छन्‚ कतै बारम्बार कसैमाथि बलात्कार गरिएका दृश्यहरू आएका छन्‚ कतै जबरजस्ती गरिएका बलात्कारका घटनाहरू देखाइएका छन्। ‘जमतारा’मा त्यहाँको स्थानीय राजनीतिज्ञले एउटी युवतीलाई बलात्कार गर्ने धम्की दिन्छ‚ त्यो पनि उसको मनमा ती युवतीले आफूमाथि केही नराम्रो गरेको आशंका उठेको भरमा। यसैगरी ‘मेड इन हेभन’मा पनि एक रोयल पोलिटिसियनले एक मेहेन्दीवाली महिलामाथि यौन दुर्व्यवहार गरेको दृश्य देखाइन्छ। ‘द सेक्रेड गेम्स’मा पनि कुनै ग्याङस्टरले एउटी नायिकाले आफूलाई धोका दिएको जस्तो लाग्नासाथ उनलाई बलात्कार गर्छ। यी उदाहरणहरू केही अंशमात्र हुन्‚ सिरिजमा अझ धेरै यस्ता यौनजन्य कुराहरू भेटिन्छन्।
नेशनल क्राइम रेकर्ड ब्युरो (एनसिआरबी) को सन् २०१८ को तथ्यांकअनुसार सो वर्ष भारतमा ३३ हजार ३ सय ५६ जनाले बलात्कारको केस दर्ता गराएका छन्। यसरी हिसाब गर्दा हाम्रो समाजमा प्रतिदिन ८९ बलात्कार हुने देखिन आउँछ। यसमा हरेक चारजनामा एक जना बालिकाको बलात्कार हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
ह्युमन राइट्स वाचको एक रिपोर्टका अनुसार अनुमानित ४ दलित महिलाको हरेक दिन बलात्कार हुने गरेको छ। भारतमा लैङ्गिक हिंसाको समस्याले पहिलेदेखि नै जरो गाडेको छ। भारतीय पित्तृसत्तात्मक सोचले महिलालाई अझै पनि दोस्रो दर्जाकै रूपमा चित्रित गरिरहन्छ। यो र यस्तै शोका लेखक र शो-रनरहरू भने हाम्रो समाजमा घट्ने वास्तविक घटनालाई स्कृनको माध्यमबाट बाहिर ल्याएको दाबी गर्छन्। उनीहरू भन्छन्‚ ‘दिल्ली र मुम्बईजस्ता शहरमा जीवन बिताइरहेका मानिसलाई मुजफ्फरपुर र अलवरको वास्तविक जीवन कति कष्टकर र दुःखदायी छ भन्ने कुराको बारेमा केही पनि ज्ञान हुँदैन।’
नेट्फ्लिक्समा सेक्रेड गेम्सलाई एडप्ट गर्ने व्यक्ति वरूण ग्रोभरका अनुसार वास्तविकता र कलात्मकताको मिश्रण लेखक र शो रनरको हातमा हुन्छ।
सेक्रेड गेम्सका साथै मिर्जापुर‚ भारतीय ओटिटी हिट सिरिजमध्येमा पर्छ। सन् २०१८ मा यी दुवै शोमा प्रयोग गरिएका गालीजन्य शब्दका बारेमा सामाजिक सञ्जालमा थरिथरीका प्रतिक्रियाहरू समेत आएका थिए। अहिले पनि विभिन्न सिरिजहरूमा यस्तै किसिमका अपमानजनक शब्दहरू लैङ्गिक आधारमा नै निर्धारण गरिएको पाइन्छ। यदि हामी किताब पढ्ने हो भने यसको आधाजति पनि त्यस्ता शब्द प्रयोग गरिएका पाउँदैनौं। ‘मानिसहरू भन्छन्- सेक्रेड गेम्सको सर्तराज (एक पुलिस पात्र‚ जो अरूभन्दा शान्त स्वभावको छ) विरलै अरूलाई गाली गर्छ। तर अरू प्रहरीहरू उजस्ता गाली नगर्ने किसिमका हुँदैनन्‚ तर यी सबै विषय हामीले फिल्म बनाउँदा कस्तो किसिमको बनाउने भन्ने कुराले निर्धारित हुन्छन्’ ग्रोभर भन्छन्।
मिर्जापुरमा एउटा दृश्य छ‚ जसमा ह्विल चियरमा जकडिएको एक बुढो व्यक्ति आफ्नै बुहारीसँग यौन सम्बन्ध राख्न खोज्छ। यस्ता किसिमका सिरिजहरूमा प्रायः महिलाहरूलाई पुरूष पात्रको उपाङ्गको रूपमा चित्रित भएको देखाइन्छन्। महिलालाई दमन गरिएको र नराम्रो रूपमा चित्रित गरिएको लगायतका दृश्यहरू पर्दामा बढीजस्तो देखाउने गरिन्छ। सो विषयलाई पर्दामा कसरी प्रस्तुत गर्ने भन्ने कुरा लेखक र शो निर्माण गर्ने व्यक्तिको हातमा निर्भर हुन्छ।
निर्देशक अलंकृता श्रीवास्तव‚ जसले जोया अख्तर र रीमा काग्तीको साथमा रहेर ‘मेड इन हेभन’ लेखेकी थिइन्‚ उनी डिस्टोपियन ड्रामा ‘द ह्यान्डमेड’को उदाहरण दिँदै हाम्रो समाजमा लगातार गरिँदै आएका विभिन्न यौन हिंसाका विषयमा भन्छिन्‚ ‘दृश्यमा वास्तविकतालाई स्कृनका माध्यमबाट प्रस्तुत गरिन्छ तर यस्ता हिंसात्मक विषयलाई प्रोत्साहन गर्ने हिसाबले फिल्महरू बनाइँदैनन्।’
हामीले हेर्ने यी दृश्यहरू पूरै निषेधित गर्नुपर्ने खालका नभएता पनि दर्शकका लागि यस्ता दृश्यहरू विचलित गराउन पर्याप्त छन्। ‘चिनी (मिर्जापुरकी एक पात्र)को बलात्कारको दृश्यले एकपटक त मेरो शरीर काँपेको थियो। यसअघि यस्ता किसिमका दृश्यहरू भारतीय सिनेमा जगतमा देखाइएको छ जस्तो मलाई लाग्दैन। तर‚ यो विषयमा कुनै ट्वीट‚ प्रतिक्रियाहरू नै आएनन्’ मिर्जापुर हेर्ने एक दर्शकले भने। यसबाट पनि थाहा हुन्छ कि यस्ता शोका लेखक तथा निर्माताहरूले यसलाई बढावा दिँदै जाँदा झन् पट्ट्यारलाग्दा दृश्यहरू दिइरहेका छन्‚ जुन हाम्रोजस्तो समाजका लागि पच्य छैन।
फस्ट पोस्टको यो सामग्री प्रदीप खद्योतले भावानुवाद गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।