काठमाडौं- सरकारले विदेशी मुद्रामा विदेशी बैंकबाट ऋण लिएर नेपालमा लगानी गर्न चाहने बैंकलाई थप सहज व्यवस्था गरेको छ। विदेशी बैंकबाट ऋण लिएका नेपाली बैंकले ब्याज भुक्तानी गर्दा गर्नुपर्ने करकट्टी रकम घटाइएको हो।
विदेशी बैंकबाट नेपाली बैंकले विदेशी मुद्रामा लिएको ऋणको ब्याज तिर्दा अब १० प्रतिशत करकट्टी गर्नुपर्ने भएको छ। नेपाली बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट तोकिएका क्षेत्रमा लगानी गर्न विदेशी बैंकबाट विदेशी मुद्रामा लिएको ऋणको ब्याज भुक्तानी गर्दा १० प्रतिशत मात्रै करकट्टी गर्नुपर्ने व्यवस्था गरिएको हो। यसअघि १५ प्रतिशत तिर्नुपर्ने व्यवस्था थियो।
आर्थिक ऐन २०७७ मार्फत आयकर ऐन २०५८ को दफा ८८ मा संशोधन गर्दै सरकारले दुईवटा खण्ड थपेको छ। ऐनको दफा ८८ को उपदफा १ को खण्ड ९ थप्दै 'बासिन्दा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेका क्षेत्रमा लगानी गर्न विदेशी बैंकबाट विदेशी मुद्रामा लिएको ऋण बापतको ब्याज भुक्तानी गर्दा १० प्रतिशतका दरले' करकट्टी गर्नुपर्ने व्यवस्था गरिएको छ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले यो व्यवस्थाले बैंकको खर्च घटाउने बताए। 'यसअघि १५ प्रतिशत करकट्टी गर्नुपर्ने व्यवस्था रहेकोमा अब त्यसलाई १० प्रतिशत झारिएको छ, यसले समग्रमा बैंकहरूको खर्च घटाउने छ,' केसीले भने, 'सरकारको यो व्यवस्थाले अब ऋण लिन प्रोत्साहित गर्नेछ, तर ऋण लिने नलिने भन्ने कुरा बजारले निर्धारण गर्छ।'
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले यस विषयमा आर्थिक ऐन नहेरी केही भन्न नसकिने बताए। 'हिजो बजेट भाषण सुनियो तर कानुनहरु कसरी संशोधन भएका छन् अध्ययन नगरी भन्न सकिँदैन,' उनले भने।
नेपाली बैंकहरूले यहाँ लगानीयोग्य रकम अभाव भएपछि सरकारले गत वर्षबाट विदेशी बैंकबाट विदेशी मुद्रामा नै ऋण लिन पाउने व्यवस्था गरिदिएको थियो। एनएमबी बैंकसहितका नेपाली बैंकले विदेशी बैंकबाट ऋण लिएर लगानी सुरु गरेका थिए। अब उनीहरुले ब्याज भुक्तानी गर्दा साउनपछि १० प्रतिशत करकट्टी गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।